काठमाडौँ । नेपाल शिक्षक महासंघ र सरकारबीच हालै भएको सहमतिले आफ्ना माग नसमेटेको भन्दै नेपाल विद्यालय कर्मचारी परिषद्ले आन्दोलनको घोषणा गरेको छ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र नेपाल शिक्षक महासंघबीच भएको ९ बुँदे सहमतिप्रति असन्तुष्ट कर्मचारी परिषदले आन्दोलनलाई निरन्तरता दिने निर्णय गरेको हो ।
महासंघको नेतृत्वले विद्यालय कर्मचारीलाई सडकमै छाडिदिएको भन्दै परिषदले आपत्ति जनाएको छ ।
परिषद्ले शुक्रबार ७ बुँदे माग राख्दै आन्दोलनको घोषणा गरेको हो। जसमा शिक्षक र कर्मचारीबीचको विभेद अन्त्य हुनुपर्ने, हालसम्मका सहमति कार्यान्वयन हुनुपर्ने, विद्यालय कर्मचारीको विरामी विदा संचित गराउनुपर्ने, तलवमान कायम गर्नुपर्ने, विद्यालय कर्मचारीलाई पनि दुर्गम भक्ता दिनुपर्ने लगायत छन्।
शिक्षक महासंघको अगुवाइमा भएको शिक्षकको आन्दोलन २९ दिनपछि शिक्षा मन्त्रालय र महासंघका पदाधिकारीबीच वैशाख १७ गते ९ बुँदेसहित भएपछि स्थगित भएको थियो।
यस्ता छन् आन्दोलनका कार्यक्रम
परिषद्ले आन्दोलनको लागि बब्बन मिश्राको संयोजकत्वमा १५ सदस्यीय आन्दोलन परिचालन समिति गठन गरेको छ ।
यस्तै वैशाख २१ गतेदेखि जेठ तीन गतेसम्म कालोपट्टी बाँधेर कार्यक्षेत्रमा काम गर्ने, जेठ ४ गते ७ सय ५३ वटै स्थानीय तहमा ध्यानाकर्षण पत्र बुझाएर आन्दोलनको बारेमा जानकारी गराउने, जेठ ५ गते जिल्लागत आन्दोलन परिचालन समिति गठन गर्ने उने आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको छ ।
त्यस्तै, जेठ ६ गते ७७ वटै शिक्षा विकास तथा समन्वय इकाईमा आन्दोलनको जानकारीसहित ध्यानाकर्षण पत्र बुझाउने निर्णय गरेको छ ।
त्यस्तै जेठ ७ गते ७ वटै प्रदेशमा आन्दोलनको जानकारी गराउने र ध्यानाकर्षण सहित सामाजिक विकास मन्त्रालयमा पत्र बुझाउने र जेठ १० गतेदेखि काठमाडौंस्थित माईतीघर मण्डलामा सडक आन्दोलन शुरु गर्ने विद्यालय कर्मचारी परिषद्ले जनाएको छ ।