काठमाडौँ । नेपाल शिक्षक महासंघले नौ बुँदे माग सम्बोधन गर्न सरकार तयार भए आन्दोलनको स्वरुप परिवर्तन गर्ने जनाएको छ ।
मंगलबार बसेको महासंघको बैठकले यस्तो निर्णय गरेको हो ।
सरकारले मन्त्रिपरिषदबाट पूरा गर्न सक्ने आफ्ना नौ बुँदे माग सम्बोधन गरे आन्दोलनको स्वरुप परिवर्तन गर्ने निर्णय गरेको महासंघको भनाई छ ।
महासंघको बैठकले आन्दोलन सँगसँगै सरकारसँग पूर्वसहमति कार्यान्वयनबारे स्पष्ट मार्गचित्रसहित निर्णायक वार्ता गर्ने पनि सर्वसम्मत निर्णय गरेको छ ।
महासंघको बैठकपछि मंगलबार साँझ सरकारसँग वार्ता सुरु भएको छ ।
शिक्षा मन्त्रालयले दिउँसो ३ बजे वार्तामा बोलाएको थियो। शिक्षकहरूको बैठक लम्बिँदा वार्ता ५ घण्टा ढिलो सुरू भएको हो।
यसअघि सोमबार दुई चरणमा शिक्षक र सरकारका प्रतिनिधिबीच वार्ता भएको थियो। वार्ता सकारात्मक रहेको सरकारी पक्षको भनाइ थियो।
नेपाल शिक्षक महासंघको आह्वानमा गत चैत २० गतेदेखि काठमाडौँ केन्द्रित आन्दोलन जारी छ ।
विद्यालय शिक्षा ऐन माग गर्दै जारी शिक्षक आन्दोलनका कारण विद्यार्थी भर्ना प्रभावकारी हुन सकेको छैन भने कक्षा १२ को परीक्षा पनि राकिएको छ ।