प्रकाश थापामगर/गोविन्दकुमार शर्मा, काठमाडौँ ।
अखिल नेपाल शिक्षक सङ्घका महासचिव चक्रपाणि पौडेलले सरकारले चाहेमा वैशाख २० गतेभित्र विद्यालय शिक्षा ऐन आउन सक्ने दाबी गर्नुभएको छ ।
२०८२ वैशाख १५ गते सोमबार आन्दोलनरत स्थाल नयाँबानेश्वरमा युगदर्शनका प्रतिनिधिहरूसँग कुराकानी गर्दै उहाँले सो दाबी गर्नुभएको हो ।
शिक्षा ऐन नलिईकन विद्यालय नफर्कने अडान प्रस्तुत गर्दै उहाँले समस्याको समाधान सरकारसित भएको बताउनुभयो ।
उहाँले भन्नुभयो– ‘सरकारले चाह्यो भने संसद् चलिरहेकै छ । वैशाख १८/२० गतेसम्म शिक्षा ऐन दिन सक्छ ।
त्यस्तै, उहाँले विधायकीय, कार्यपालिकीय र न्यायपालिकीय अधिकारजस्ता सबै अधिकार दिँदा स्थानीय तह निरङ्कुश बन्ने धारणा राख्नुभयो ।
उहाँले भन्नुभयो–’विधायकीय, कार्यपालिकीय र न्यायपालिकीय सबै अधिकार दिने हो भने स्थानीय तह निरङ्कुश बन्नेछ ।’
संविधान निर्माणको समयमा आफूहरूले कार्यक्रम नै गरेर शिक्षालाई सङ्घीय सरकारको मातहतमा राखेको स्मरण गर्दै महासचिव पौडेलले भन्नुभयो–’स्थानीय तहलाई व्यवस्थापन, अनुगमनजस्ता अधिकार दिन सकिन्छ तर वृत्तिविकास, नियुक्ति, सरुवाबढुवाजस्ता अधिकार केन्द्र सरकारकै मातहत हुनुपर्दछ ।’
उहाँले स्थानीय तहले यतिखेर आग्रहपूर्वाग्रह राखेर सरुवाबढुवा गर्ने, शिक्षकलाई हटाउनेजस्ता कार्य गरिरहेको भनाइ उहाँको थियो ।
वर्तमान आवश्यकताअनुसार विद्यालय शिक्षा ऐन बनोस् भन्ने चाहनाका साथ नेपाल शिक्षक महासङ्घको ब्यानरमा यो आन्दोलन भइरहेको उहाँको भनाइ थियो ।
कुराकानीका क्रममा उहाँले २०७५ सालमा केपी ओली, २०७८ सालमा शेरबहादुर देउवा र २०८० सालमा पुष्पकमल दाहाल प्रधानमन्त्री भएका बेला शिक्षक महासङ्घसित तीनपटक सम्झौता भएको उल्लेख गर्दै त्यही सम्झौता लागु नभएकाले अहिले आन्दोलन गर्न आफूहरू बाध्य भएको बताउनुभयो ।
संविधान बनेको तीन वर्षभित्र ऐनकानुन बन्नुपर्नेमा अहिले दश वर्षसम्म ऐनकानुन नबन्नु दुःखको कुरा भएको उहाँको भनाइ थियो ।
महासचिव पौडेलले यतिखेर सरकारसितको वार्ता रोकिएको बताउनुभयो ।
‘वार्ताका लागि नयाँ शिक्षामन्त्री रघुजी पन्तले खबर गर्छौं भन्नुभएको थियो’ उहाँले भन्नुभयो–’तर हिँजोसम्म पनि खबर नआएपछि आज हामीले सहमतिका लागि नौ बुँदा सरकारलाई इमेल गरेका छौँ । त्यसपछि पनि हामीलाई केही जानकारी आएको छैन ।’
वैशाख १४ गतेको झड्पको सन्दर्भमा उहाँले सरकारले सादा पोसाकका भिजिलान्तेलाई पठाएर ढुङ्गा हान्न लगाएको आरोप लगाउनुभयो ।
‘सरकारले सादा पोसाकका भिजिलान्ते पठाएर ढुङ्गा हान्न लगायो’ उहाँले भन्नुभयो–’प्रहरीले शिक्षक साथीहरूलाई निर्मम प्रकारले दमन गरेको छ । हामी त्यसको भर्त्सना गर्दछौँ ।’
(महासचिव पौडेलसँगको कुराकानीका लागि युगदर्शन मिडियाको युट्युब च्यानल वाच गर्न अनुरोध गरिन्छ)