काठमाडौँ । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तको आह्वानमा वार्ता गर्न २५ सदस्यीय टोली सिंहदरबार गएको छ । नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदीको नेतृत्वमा सबै शिक्षक संघ संगठनका प्रतिनिधि वार्तामा सहभागी छन्।
वार्तामा अखिल नेपाल शिक्षक संघका तर्फबाट अध्यक्ष सानोभाइ कार्की सहभागी हुनुहुन्छ ।
मन्त्रालयले शिक्षकहरूलाई तीन बजे वार्ताका लागि बोलाएको र सबै प्रतिनिधिहरू सिंहदरबार पुगिसेको वार्ता टोलीका सदस्य कार्कीले जानकारी दिनुभयो ।
वार्तामा सरकारका तर्फबाट शिक्षामन्त्री रघुजी पन्त आफैँ सहभागी हुँदैछन् ।
सर्वोच्च अदालतले बुधबार तीन दिनभित्र विद्यालयमा फर्किने वातावरण बनाउन निर्देशन दिएको थियो।
शिक्षामन्त्री पन्तले संवाद तथा छलफल गरी सामूहिक रुपमा समाधानका उपाय खोज्न यथाशीघ्र वार्ताका लागि शिक्षक महासंघलाई वार्तामा आउन आह्वान गरेका थिए।
निरन्तर संवाद तथा छलफलपछि सामूहिक रुपमा समाधानको उपाय खोज्न पनि वार्ता गर्नुपर्ने उनको भनाइ छ।
शुक्रबारको प्रतिनिधिसभा बैठकअघि शिक्षामन्त्री पन्तले देशको बजेट र सीमाभित्र रहेर समाधान खोज्न आफू तयार रहेको बताएका थिए।
संविधानको सीमाभित्र, ऐन कानुन र देशको बजेटले भ्याउने सीमाभित्र रहेर समाधान खोज्न तयार रहेको जनाएका थिए।
