काठमाडौँ । सङ्घीयता खारेजीका लागि राष्ट्रिय जनमोर्चाले चैत २४ देखि ३० सम्म आयोजना गरेको काठमाडौँकेन्द्रित आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै रक्तिम सांस्कृतिक अभियानले सञ्चालन गरेको सडक सांस्कृतिक अभियान समापन भएको छ ।
२०८१ चैत १६ गते शनिबारदेखि सुरु भएको सो अभियान आज चैत २२ गते शुक्रबार बागबजारमा समापन भएको हो ।
अब रक्तिमको सो टोलीले चैत २४ देखि ३० गतेसम्मको कार्यक्रममा प्रस्तुति दिने आयोजकले जानकारी दिएको छ ।

चैत १६ गते कलङ्कीबाट सुरु भएको सो अभियान चैत १७ गते बुढानीलकण्ठ, चक्रपथ, बसुन्धरा र सामाखुसीमा, चैत १८ गते ललितपुरको जावलाखेल, लगनखेल र पाटन दरबारमा, चैत १९ गते सुन्धारा, न्युरोड, पिपलबोट, असन र भोटाहिटीमा, चैत २० गते बल्खुचोक, पाँगा र कालिमाटीमा, चैत २१ गते गौशाला, चावहिल र सुकेधारामा, अन्तिम दिनको कार्यक्रम ललितपुरको सातदोबाटो, काठमाडौँको कोटेश्वर र बागबजारमा सम्पन्न भएको थियो ।
अभियानको क्रममा हेमराज आश्रमको रचना, सङ्गीत र सङ्गीत संयोजनमा थुमराज ढुङ्गाना र रिता पुनको स्वर रहेको ‘हामी एक बनौँ लौ’ शीर्षकको स्वागत गीत गाउने गरिएको थियो ।

भर्खरै रक्तिम केन्द्रीय समितिले तयार पारेको गीत ‘किन चाहियो सङ्घीयता’ अभियानमा प्रस्तुत गरिएको थियो । केन्द्रीय अध्यक्ष गिरीप्रसाद बुढाको रचना तथा सङ्गीत तथा हेमराज आश्रम र रिता पुनको स्वर रहेको गीतमा उषा तारामीमगर, रमेश पुन, युजिन श्रेष्ठ र हरिबहादुर सर्तुङीले नृत्य प्रस्तुत गर्नुभएको थियो ।
अभियानमा दानबहादुर थापाको रचना र सङ्गीत तथा सबिन अर्गेजा र निलिमा पुनको स्वर रहेको ‘बढ्दै जाऊ’ शीर्षकको अर्को गीत पनि प्रस्तुत गरिएको थियो । सो गीतमा झविन्द्र नेपाली, प्रेनिला ज्ञामी र भूमा श्रीसले नृत्य गर्नुभएको थियो ।
धनवीर पुनको शब्द तथा हेमराज आश्रमको सङ्गीतमा तयार पारिएको ‘शिशिर चिर्ने बसन्त’ गीत अभियानमा प्रस्तुत गरिएको थियो । यो गीतमा हेमराज आश्रम, नवीन बस्याल, बबिता बस्नेत र शर्मिला श्रेष्ठको स्वर रहेको छ भने सो गीतमा युजिन श्रेष्ठ र प्रेनिला ज्ञामीले नृत्य प्रस्तुत गर्नुभएको थियो ।
जीवन शर्माको रचनामा जीवन शर्मा, निलिमा पुन, लक्ष्मी गुरुङ र साथीहरूको स्वर रहेको ‘उस्तै छ हामीलाई पिरलो’ गीत अभियानमा प्रस्तुत गरिरहँदा सो गीतमा समष्टि बुढा र हरि सर्तुङीले नृत्य प्रस्तुत गर्नुभएको थियो ।

अभियानमा रचना, सङ्गीत तथा सङ्गीत संयोजन हेमराज आश्रमको रहेको ‘आँधीको बेग बनी’ गीत प्रस्तुत गरिएको थियो । सो गीतमा रमेश पुन र प्रनिलाले नृत्य प्रस्तुत गर्नुभएको थियो ।
जीवन शर्मा र साथीहरूको स्वर रहेको ‘देश जान थाल्यो’ शीर्षकको गीत पनि अभियानको आकर्षण बनेको थियो । सो गीतमा उषा तारामीमगर, समष्टि बुढा, रमेश पुन, प्रेनिला ज्ञामी, भूमा श्रीस र झविन्द्र नेपालीको नृत्य रहेको थियो ।
अभियानमा रक्तिमका अध्यक्ष गिरीप्रसाद बुढाको अभिनय रहेको व्यङ्ग्यात्मक प्रस्तुति ‘मलाई डर छैन’ र रक्तिमकै अर्को चर्चित गीत ॅसानो सानो बुकुरो’ गीतमा मानबहादुर नेपालीले अभिनय गर्नुभएको थियो ।

सडक अभियानको क्रममा अखिल नेपाल जनजाति सम्मेलनका अध्यक्ष निमबहादुर बुढाथोकी, अखिल (छैठौं) का अध्यक्ष सुवाश जिसी र महासचिव पुरन पोखरेल, अखिल नेपाल महिला सङ्घकी कोषाध्यक्ष ऋतु केसी, नेकपा (मसाल) काठमाडौँका प्रवक्ता जगतप्रसाद रेग्मी, राजमो काठमाडौँका सचिव छवि खनाललगायतका नेताहरूले सम्बोधन गर्नुभएको थियो ।
कार्यक्रममा रक्तिममा महासचिव हेमराज आश्रमले कार्यक्रमको संयोजन गर्नुभएको थियो ।
रक्तिमका केन्द्रीय सदस्य मेष्मा पुन, क्षितिजा राहाडीलगायत थुप्रै स्वयम्सेवकको सहभागिता रहेको उक्त कार्यक्रममा स्वयम्सेवकले सङ्घीयता विरोधी काठमाडौँकेन्द्रित अभियानका लागि आर्थिक अभियान पनि सँगै सञ्चालन गरेका थिए ।


