काठमाडौँ । राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष तथा प्रवक्ता दुर्गा पौडेलले महिलाले अझै पनि सम्पत्तिमा समान अधिकार पाइसकेको अवस्था नरहेको दाबी गर्नुभएको छ ।
एक सय पन्ध्रौँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको सन्दर्भ जोड्दै उहाँले यस्तो धारणा व्यक्त गर्नुभएको हो ।
पौडेल राजमो निकट विभिन्न सम्पर्क समितिले संयुक्त रूपमा २०८१ फागुन २४ गते शनिबार काठमाडौँको टोखा नगरपालिकास्थित भुतखेल पार्कमा आयोजित वनभोज कार्यक्रममा सङ्क्षिप्त मन्तव्य राख्दै हुनुहुन्थ्यो ।
अमेरिकालगायत विभिन्न देशमा चलेको महिला आन्दोलनको जगमा क्लारा जेट्किनको नेतृत्वमा महिला समाजवादीले ८ मार्चसम्बन्धी निर्णय गरेको इतिहास स्मरण गर्नुभयो ।
‘जर्मनीको कोपेनहेगनमा सम्पन्न सम्मेलनले ८ मार्चबारे निर्णय गऱ्यो । पछि संयुक्त राष्ट्र सङ्घले यसलाई नारी दिवसको रूपमा मान्यता प्रदान गऱ्यो’ नेतृ पौडेलले भन्नुभयो– ॅतर हामीले नेपालको महिला आन्दोलनलाई कोपनहेगन सम्मेलनको स्प्रिटमा अगाडि बढाउनुपर्दछ ।’
आन्दोलनले महिलाका विभिन्न मागलाई २०७२ सालको संविधानमा समेटेको भए पनि त्यो पूर्ण नभएको बताउँदै उहाँले भन्नुभयो– ‘अहिलेसम्म पनि सम्पत्तिमा समान अधिकार कार्यान्वयन भएको अवस्था छैन ।’
उहाँले महिला आन्दोलनलाई निरन्तर अगाडि बढाउनुपर्ने आवश्यकतामा जोड दिनुभयो ।
सम्बोधनको क्रममा उहाँले देशमा पुनरुत्थानवादी खतरा बढ्दै गएको धारणासमेत राख्नुभयो ।
‘जनताको बलिदानीबाट गणतन्त्र आएको हो’ उहाँको भनाइ थियो– ‘अब देश फेरि पछाडि जान सक्दैन । यो गणतन्त्रलाई संस्थागत गर्दै यसभन्दा अझ उच्चस्तरको परिवर्तनको लागि सङ्घर्ष अगाडि बढाउनुपर्दछ ।’
उहाँले पुनरुत्थानवादी खतराका विरुद्ध राजनीतिक दल र नेपाली जनता एकजुट हुनुपर्ने आवश्यकतामा जोड दिनुभयो ।
सङ्घीयताको सन्दर्भमा मन्तव्य राख्दै उहाँले सङ्घीय प्रादेशिक संरचना अनावश्यक रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो– ‘नीतिनिर्माण गर्नका लागि केन्द्रमा व्यवस्थापिका छँदैछ । त्यसलाई कार्यान्वयन गर्न स्थानीय तह छँदैछन् । किन चाहियो सङ्घीयता र ?’
उहाँले प्रदेश सरकारको खर्चले गर्दा विकास बजेट कटौती हुन जाँदा एकातिर देशको विकास पछि परेको तथा अर्कोतर्फ जनतामाथि आर्थिक भार बढ्दै गएको बताउनुभयो ।
उहाँले सङ्घीयता खारेज गर्न राजमोले आयोजना गरेको काठमाडौँकेन्द्रित आन्दोलनलाई सहयोग गर्न अनुरोध गर्नुभयो ।
कार्यक्रममा राजमो अध्यक्ष तथा प्रतिनिधिसभाका सांसद चित्रबहादुर केसी र राजमो केन्द्रीय सल्लाहकार तथा वामपन्थी नेता आनन्द शर्माले पनि सम्बोधन गर्नुभएको थियो ।
कार्यक्रमको आयोजना प्युठान–काठमाडौँ सम्पर्क समिति, बागलुङ–काठमाडौँ सम्पर्क समिति, अर्घाखाँची–काठमाडौँ सम्पर्क समिति, गुल्मी–काठमाडौँ सम्पर्क समिति, कर्णाली–काठमाडौँ सम्पर्क समिति, सुदूरपश्चिम–काठमाडौँ सम्पर्क समिति, दाङ–काठमाडौँ सम्पर्क समिति, रामेछाप–काठमाडौँ सम्पर्क समितिलगायतले गरेका थिए ।
