मोहनविक्रम सिंह
शिवध्जव बस्नेतकी पत्नीले आफ्नो पतिको अध्ययन कक्षमा लगेर सुनन्दा र विद्यालाई बसालिन् र भनिन्, ‘बस्नुहोस्, म आउँछु’ भनेर भित्रतिर लागिन् । सुनन्दाले कोठामा हेरिन् । त्यहाँ आलमारीमा केही पुस्तकहरू थिए, अनि एउटा आलमारीमा विभिन्न पत्रिकाहरूका फाइलहरू राखिएका थिए ।
शिवध्वजकी पत्नी ट्रेमा चिया र बिस्कुट लिएर आइन् ।
‘मैले यहाँका पत्रिकाहरूका फाइलहरू पढ्न सक्दछु ?’
‘त्यो कुरा पनि सोध्नुपर्दछ ? पुस्तक, पत्रपत्रिका जे पढ्न मन लाग्छ, पढ्नुहोस् । पछि पनि जहिले पनि आएर बसेर पढ्नुभए हुन्छ । मैले ता घरको काम, केटाकेटी– पढ्न नै भ्याउन्न तर पहिले चिया खानुहोस् ।’
शिवध्वजकी पत्नीले पहिले सुनन्दा र विद्याको परिचय सोधिन् र आफ्नो परिचय दिइन् । उनको नाम शोभा थियो । उनी २४ वर्षकी थिइन् । उनका २ वटा छोरी र एउटा छोरा थिए । उनका पति पहिले कम्युनिस्ट पार्टीका सक्रिय कार्यकर्ता थिए । तर ०१४ सालमा राजाले संसदीय प्रणालीलाई समाप्त गरेर सत्ता आफ्नो हातमा लिएपछि उनलाई गिरफ्तार गरिएको थियो र ४ वर्ष जेलमा परेका थिए । जेलबाट नै उनले आईए र बीएको जाँच दिएका थिए ।
पछि उनी पत्रकार भएका थिए । पत्रकार भएपनि उनको सहानुभूति कम्युनिस्ट पार्टीप्रति नै थियो ।
शोभा गाउँकी साधारण केटी थिइन् । उनका बाउ पनि कम्युनिस्ट थिए उनीहरू दुवैजना सेन्ट्रल जेलमा २ वर्षसम्मसँगै बसेका थिए । दुवैजनासँगै जेलबाट छुटेका थिए ।
आफ्ना बाउलाई भेट्न जाँदा शोभाले शिवध्वजलाई पनि देख्ने गर्दथिन् । उनका बाउ र शिवध्वज जेलबाट छुटेको एकवर्षपछि दुवैजनाको विवाह भएको थियो । विवाह गर्ने बेलामा उनले म्याट्रिक पास गरेकी थिइन् । पछि आईए पास गरेकी थिइन् । अहिले बीएको परीक्षाको तयारी गर्दै थिइन् ।
आलमारीमा मार्क्सको ‘पुँजी’ ‘लेनिनका सङ्कलित रचनाहरू’, राहुलको ‘दर्शन दिग्दर्शन’, गोर्कीको ‘आमा’ र अन्य पुस्तकहरू राखिएका थिए । तर, उनले पुस्तकहरू छाडेर पत्रिकाहरूका फाइलहरू उठाएर हेर्न थालिन् । त्यहाँ कैयौं साप्ताहिक र केही दैनिक पत्रिकाहरूका फाइलहरू राखिएका थिए । कतिपय पत्रिकाहरूमा कलमले चिह्न लगाइएको थियो ।
त्यहाँ २०३८ साल वैशाखदेखिका पत्रिकाहरूका फाइलहरू थिए । पत्रपत्रिकाहरूमा मुख्य समाचारहरू निर्वाचनसित सम्बन्धित थिए ।
सरकारले वैशाखमा राष्ट्रिय निर्वाचनको चुनाव गराउने घोषणा गरेको थियो । सरकारले तेस्रो संशोधन गरेर राष्ट्रिय पञ्चायतको चुनाव बालिग मताधिकारका आधारमा गराउने घोषणा गरेको थियो । तर, कम्युनिस्ट र काङ्ग्रेस पक्षले सम्पूर्ण निर्दलीय व्यवस्थाको अन्तको माग गर्दै त्यो चुनावको बहिष्कार गर्ने घोषणा गरेका थिए । त्यस सिलसिलामा देशभरिमा सभा, जुलुस, मसाल जुलुसका कार्यक्रमहरू भइरहेका थिए ।
एउटा पत्रिकामा वैशाख १९ गतेदेखि संयुक्त बहिष्कार सप्ताह मनाउने घोषणा गरेको समाचार दिइएको थियो । देशका कतिपय भागहरूमा प्रहरीहरूद्वारा गोली चलाएर मानिसहरू मारिएका समाचारहरू पनि पत्रपत्रिकाहरूमा प्रकाशित भएका थिए । ठाउँठाउँमा गिरफ्तारी भएका, गिरफ्तार गरेकाहरूलाई यातना दिएका समाचारहरूले पत्रपत्रिकाहरू भरिएका थिए । सरकारको दमनको विरोधमा नेपाल बन्दको कार्यक्रमको पनि आयोजना गरिएको थियो । त्यही प्रकारको परिस्थितिमा अन्तमा चुनाव सम्पन्न भयो ।
चुनावका दिन बहिष्कार आन्दोलनलाई दबाउन कैयौं ठाउँहरूमा गोली चल्यो । कैयौं बुथहरू पूरै खालि भएका थिए । रोल्पाको थवाङमा पूरै बहिष्कार भएको समाचार प्रकाशित भएको थियो । थवाङको त्यो समाचारले सुनन्दालाई बढी आकर्षित गर्यो र उनले विद्यालाई त्यो समाचार पढेर सुनाउन चाहिन् । तर, उनले शोभासित बसेर कुरा गरिरहेकी थिइन् । त्यसकारण उनीहरूको त्यस वार्तामा बाधा हाल्नु उनले उचित ठानिनन् ।
कतिपय पत्रपत्रिकाहरूले प्राध्यापक, शिक्षकहरूका हडतालका समाचार प्रकाशित गरेका थिए । जेठ १२ गते काठमाडौँमा शिक्षकहरूको एउटा विशाल जुलुस निस्केको थियो । त्यसको मुख्य नारा थियो–कालो शिक्षक ऐन खारेज गर ।
उनले सरसरी पत्रपत्रिकाहरूका शीर्षकहरू पढ्न थालिन् राजधानी र झापामा जुलुसमाथि लाठीचार्ज, छात्राहरू घाइते । राष्ट्रिय वाणिज्य बैङ्क हडतालतिर । वीपीको खस्कदो स्वास्थ्य । का। पुष्पलालप्रति भावपूर्ण श्रद्धाञ्जली । २० वटा बम फेला परे । रत्नपार्कमा लास, चौतारा र अर्घाखाँचीमा गोली चल्यो, ३ खुत्रुक्कै भए । अब कति बहिष्कार गर्ने—रोहित, पञ्चायत ढल्छ ? यातायात मजदुर चुप लागेर नबस्ने । नयाँ मन्त्रिमण्डल, सूर्यबहादुर थापा प्रधानमन्त्री । नेपाल विदेशी जासुसहरूको अखडा । राजधानीमा एकै दिन ३ तिर छड्के जुलुस । प्रहरीद्वारा रिक्सा चालक पिटियो । साझा संस्थानमा घोटाला । सिद्धार्थनगरमा बलात्कार । मानव सखाप पार्न न्युट्रन बम । प्रधानमन्त्री पदका लागि दौडधूप । चुनावमा जातीयता । पैसा र असुरक्षाको मुख्य भूमिका । महिला मजदुरहरूप्रति दुर्व्यवहारपछि गोली प्रहार । रूपन्देहीमा आगजनी र सशस्त्र प्रहरीद्वारा हत्या । गुण्डागर्दी आदिका लागि सरकार जिम्मेवार ।
उनको आँखा एउटा साप्ताहिकमा गयो । उनले जेलमा छँदा नै पोखराको नमिता–सुमिता काण्डबारे सुनेकी थिइन् । त्यो कुरा अहिलेसम्म सेलाएको थिएन र अहिले पनि त्यसबारे समाचार टिप्पणी वा प्रतिक्रियाहरू प्रकाशित भइरहेका थिए। एउटा साप्ताहिक जनमार्गले त्यससम्बन्धी विवरण केही विस्तृत रूपले प्रकाशित गरेको थियो ।
उनले त्यसलाई पढ्न थालिन् ।
नमिता र सुनिता श्री ५ महाराजाधिराजका सहसचिव राजभण्डारीका छोरीहरू थिए । उनीहरू एसएलसीको परीक्षामा प्रथम श्रेणीमा उत्तीर्ण भएका थिए र अमृत साइन्स क्याम्पसमा पढ्थे । उनीहरू आफ्नी एउटी साथी नीरा पराजुलीका साथ पोखरा घुम्न गएका थिए । जेठ १८ गते उनीहरूको अपहरण भएको थियो । उनीहरूलाई बलात्कार गरी हत्या गरेर सेती नदीमा फालिएको थियो । नमिता र सुनिताका लास सेतीमा फेलापरेका थिए ।
तर पराजुलीबारे केही पत्ता लागेको थिएन ।
कति वीभत्स काण्ड थियो त्यो ?
उनले त्यस घटनाबारे प्रकाशित सबै समाचारहरू पढ्न थालिन् ।
श्रावण २० गते प्रकाशित ‘मातृभूमि साप्ताहिकमा वरिष्ठ कम्युनिस्ट नेता मनमोहन अधिकारीको लामो वक्तव्य प्रकाशित भएको थियो । त्यसमा भनिएको थियो ‘पोखरा मात्र किन, आज सम्पूर्ण देशभरि हत्या, बलात्कार, गुन्डागर्दी, यस व्यवस्थाको चरित्र भइरहेको छ ।’
‘मातृभूमिको त्यही अङ्कमा प्रजा परिषद्का नेता र भूतपूर्व प्रधानमन्त्री टङ्कप्रसाद आचार्यको पनि वक्तव्य थियो । त्यसमा भनिएको थियो– ‘पोखरा हत्याबारे भनौं, यतिन्जेल पुलिसले हत्यारा को हुन्, पत्ता लगाएका छैनन् । अपराधी दण्डित भएन भने अपराध बढ्दै जान्छ र शान्ति सुरक्षाको स्थिति भयावह भएर जाने छ ।’
‘मातृभूमि’को त्यही अङ्कमा पोखराको स्थितिमाथि ‘गृहमन्त्रीद्वारा ढाकछोप’ शीर्षकले प्रकाशित समाचार टिप्पणीमा गृहमन्त्रीले हालै पोखरा गएर होटल व्यवसायी, व्यापारी, वर्गीय सङ्गठनहरूका मानिसहरू समेत जम्मा गरी ‘पोखराको नाम बदनाम हुन आँट्यो, पर्यटन व्यवसाय खतम हुन्छ, तसर्थ पोखरामा शान्ति र जनजीवन पूर्णतया सामान्य छ’ भन्ने प्रस्ताव पारित गराउन खोजेको, तर उपस्थित अधिकांशले त्यसको विरोध गरेकाले त्यो प्रस्ताव पारित हुन नसकेको कुरा उल्लेख गरिएको थियो ।
अन्य कतिपय साप्ताहिकमा देशभरि त्यस अपराधको छानबिन गर्न माग गरिएको, तर अपराधीहरू पत्ता लाग्न नसकेका समाचारहरू प्रकाशित भएका थिए । त्यस सिलसिलामा ५०/६० जना मानिसहरूलाई गिरफ्तार गरेर यातना पनि दिइएको थियो । तर मानिसहरूको भनाइ थियो, ती सबै निर्दोष जनता थिए । अञ्चलाधीशसहित सबै मुख्य अधिकारीहरूलाई काठमाडौँ झिकाइएको थियो । तर त्यो घटनाको वास्तविकता पत्ता लाग्न सकेको थिएन ।
श्रावण ८ गते प्रकाशित ‘राष्ट्र पुकार’ले त्यसबारे टिप्पणी गर्दै लेखेको थियो । ‘नमिता सुनिता हत्याकाण्डका नाइकेहरूसँग केही ठूला घरानाका नाइकेहरूको साँठगाँठ छ रे, र उनीहरूलाई पक्राउ गर्न सकिन्न रे, हत्या र बलात्कार उनीहरूको पेसा हो रे, यो एक प्रकारको भावी विरोधी राजनीतिक शक्तिलाई दबाउन गरिएको नियमित पूर्वाभ्यास हो रे ।’ इत्यादि चर्चा परिचर्चा हिजो आज हरेक गल्ली र गाउँघरमा व्याप्त छ ।
सुनन्दाले मनमनै प्रश्न गरिन् ‘त्यस प्रकारका बलात्कार र हत्यामा संलग्न भएका ठूला घराना को हुन् ? यो समाचारले उनलाई स्तब्ध बनायो यो एक प्रकारले भावी विरोधी राजनीतिक शक्तिलाई दबाउन गरिएको पूर्वाभ्यास हो रे । उनले सोचिन्, के त्यस्तो पनि हुन सक्छ ? के त्यस प्रकारको बलात्कार र हत्याका पछाडि राजनीतिक उद्देश्यले पनि काम गरेको हुन सक्दछ ?’
अन्य कैयाँ पत्रपत्रिकाहरू पनि बलात्कार, वा हत्याका समाचारहरूले भरिएका थिए । सूर्यविनायकको जङ्गलमा मुख थुनेर युवतीलाई बलात्कार गर्ने प्रयास गरिएको थियो । फर्पिङको जङ्गलमा स्कुलबाट फर्किएकी छात्रालाई बलात्कार गर्ने प्रयत्न गरिएको थियो । भैरहवामा सामूहिक बलात्कारका घटना घट्दछन् । काठमाडौं झोछेमा एउटा घरानियाँ युवकले ११ वर्षकी आफ्नी नोकर्नीलाई बलात्कार गर्दछन् ।
जनकपुर अस्पतालमा आषाढ १६ गते तीन दिनकी सुत्केरीलाई बलात्कार गर्ने प्रयत्न हुन्छ, तर डाक्टर आएपछि अपराधी भाग्छ ।
एउटा साप्ताहिकले लेखेको थियो– सिद्धार्थनगरको अञ्चलापुरमा नेसनल ट्रेडिङका ड्राइभरको घरमा बास बसेकी ३१ वर्षीय शिक्षित महिलालाई आषाढ २४ गते राति ९ बजे ५–७ जना मण्डलेहरूले छुरी कट्टा देखाइ ढोका बन्द गरी लछारपछार गर्दै उत्तरपट्टिको
खेतमा लगी सामूहिक बलात्कार गरेका थिए ।
उनका आँखा भैरहवाबाट प्रकाशित हुने ‘दैनिक निर्णय’को एउटा फाइलमा पयो । ती पत्रिकाहरूमा बलात्कार सम्बन्धी कैयौँ समाचारहरू प्रकाशित भएका थिए । साउनको दैनिक निर्णय मा ‘हवलदार लगायत ३ जना प्रहरीद्वारा सामूहिक बलात्कार’ शीर्षकले मुख्य समाचार प्रकाशित भएको थियो । त्यसमा साउन २३ गते वार्ड नं ५ मालरोडमा डेरा गरेर बसेका दम्पति माथि हवलदारसहित ३ जना प्रहरीहरूले पतिपत्नी सुतेका बेलामा आक्रमण गरी पतिलाई पिटेर महिलालाई बजारमण्डीको एक झुपडीमा लगेर २ जनाले समात्ने र एकजनाले बलात्कार गर्ने गरी पालैपालोसित सामूहिक बलात्कार गरेको समाचार छापिएको थियो ।
त्यही अङ्कमा नेपालगञ्जमा ३ जना मजदुर महिलामाथि सामूहिक बलात्कार गरेको समाचार पनि उल्लेख गरिएको थियो । भाद्र १७ गतेको ‘दैनिक निर्णय’मा पर्वतमा लोग्नेकै सामु स्वास्नीको बलात्कार शीर्षकले अर्को समाचार प्रकाशित गरिएको थियो । त्यसमा लेखिएअनुसार, केही समय अघि २ जना पतिपत्नी पर्वतको आफ्नो गाउँ फुर्गा सिरकाउबाट बागलुङ् आफ्नो नातेदारका घरमा जाँदै थिए । त्यही वेला एउटा गुन्डाले पुल बिग्रेको छ, अहिले नजानुस् भनी बास बस्न लगायो । राति लोग्नेलाई मार्ने धम्की दिई लोग्नेकै अगाडि पत्नीमाथि बलात्कार गयो ।
त्योभन्दा केही समयअघि पर्वतको होर्स्याङ्गदी गाउँ पञ्चायतको अर्घाउँदी गाउँमा ८ जना गुन्डाहरूले मलायाको लाहुरेलाई लाठीले पिटी हातखुट्टा बाँधेर लोग्नेको अगाडि नै उसकी पत्नीलाई बलात्कार गरेका थिए । त्यसको रू २५ हजारको धनमाल पनि लुटेर लगेका थिए ।
सुनन्दाको आँखाका अगाडि कैयाँ बेरसम्म नमिता–सुनितादेखि ती सबै घटनाका दृश्यहरू घुमिरहे । पहिले उनले नेपाललाई विश्वको एक मात्र हिन्दू राज्य, बुद्धको भूमि र शान्ति क्षेत्र मान्दथिन् । उनलाई के लाग्थ्यो भने भारतमाभन्दा नेपालमा शान्ति, सुव्यवस्था र न्याय छ । ती पत्रिकाहरू पढेर उनका ती सबै धारणा एकपछि अर्को गर्दै टुट्दै गए ।
उनले बलात्कार र हत्याका ती समाचार, स्वयम् पतिका अगाडि
बलात्कारका घटना– उनको दिमाग घुम्न थाल्यो ।
विरोधी पार्टीहरूले भन्ने गरेका थिए, नेपालमा राजतन्त्र छ । देशमा भइरहेका गुण्डागर्दी, हत्या बलात्कार निरङकुश तानाशाही व्यवस्थाका ती अभिन्न अङ्गहरू थिए ।
पहिले उनले के सोच्थिन् भने सायद ती उनीहरूका राजनीतिक प्रोपोगान्डा थिए । तर अब उनलाई लाग्न थाल्यो, ती आरोप राजनीतिक प्रोपोगान्डा मात्र थिएन।
तिनीहरूमा सत्य र तथ्य थियो ।
घडीमा भर्खर ३ बजेको थियो । शिवध्वज बस्नेत आउन अझै १ घन्टा थियो । सुनन्दाले पुनः समाचारपत्रका फाइलहरू पढ्न थालिन् । एउटा साप्ताहिकले नेपाली काङ्ग्रेसका पूर्व महामन्त्री परशुनारायण चौधरीले नेकालाई छाडेर पञ्चायती व्यवस्थान सामेल भएको समाचार छापेको थियो । पत्रपत्रिकाहरूमा त्यसबारे निकै टिकाटिप्पणी भइरहेको थियो ।
उनले अन्य समाचारहरू सरसरी पढ्न थालिन् । झापामा सामन्तहरूले सुकुम्बासीका जग्गामाथि कब्जा गरेर उनीहरूलाई (सुकुम्बासीहरूलाई) त्यहाँबाट निकालेका थिए। नेपाली काङ्ग्रेसको राष्ट्रिय मेलमिलापबारे पनि पत्रपत्रिकाहरूमा निकै चर्चापरिचर्चा भइरहेको थियो ।
असोज ८ गते सबै क्याम्पसहरूमा विद्यार्थी युनियनको चुनाव हुने समाचारहरु छापिएका थिए र त्यसबारे निकै सरगर्मी थियो ।
रूपन्देहीका बिस्कुट फैक्ट्रिमा हडताल भएको थियो । पत्रपत्रिकाहरूमा कैयौं भ्रष्टाचार काण्डहरूसम्बन्धी समाचारहरू पनि प्रकाशित भएका थिए–डाल्डा काण्ड, गलैँचा काण्ड, चरेस काण्ड आदि ।
रूसी दूतावासले गोप्य रूपले ८४ वटा बाकस भित्राएकोबारे पनि कैयौं पत्रिकाहरूले टिप्पणी गरेका थिए । ती बाकसमा के थियो ? यो सबैतिर उत्सुकता र चर्चाको विषय बनेको थियो ।
शाही नेपाल वायु सेवा निगमको बोइङ्ग काण्डबारे पनि कैयौँ समाचारहरू प्रकाशित भएका थिए । त्यससम्बन्धी भ्रष्टाचारको छानबिन गर्न सरकारले कमिसनको पनि गठन गरेको थियो तर कसैमाथि कुनै कारबाही गरिएन ।
खाद्य संस्थानले खाने तेलमा खेसिल आयल मिलाएर बेच्यो । अख्तियार दुरूपयोग नियन्त्रण आयोगले त्यसबारे मुद्दा चलायो तर त्यसको केही परिणाम भएन ।
राष्ट्रिय व्यापार निगमले फलामे छडीमा केही व्यापारीसँग मिलेर लाखौं रूपैयाँ भ्रष्टाचार गरेको थियो तर त्यसबारे पनि कतैबाट कुनै कारवाही गरिएन । वनस्पति घ्यू र वियर आयात गर्न र चामल तिब्बत पठाउन स्वीकृति दिँदा प्रधानमन्त्रीले करोडौं रुपैयाँ चन्दा लिएको कुरा उठ्यो । तर, त्यो कुरा पनि हावामा हरायो ।
सिमेन्ट आयात गर्न प्रति टन ९० अमेरिकी डलर बढी लिएर इजाजत दिएको भन्ने कुरा पनि उठ्यो । तर त्यसबारे पनि कुनै छानबिन वा कारबाही गरिएन ।
(नेकपा मसालका महामन्त्री मोहनविवक्रम सिंहको उपन्यास ‘कामरेड जलजला’बाट ‘पञ्चायती राज’ शिर्षकको यो परिच्छेदलाई समसामयिक हुने ठानेर हामीले यहाँ प्रस्तुत गरेका हौँ ।)