प्रदीप प्रधान ##
युद्धमा दनादन खाल्डो खन्न लगाइयो । मेरो कामै यस्तो थियो ।
बाक्लो जङ्गल थियो । पहिला घरको खाँबो गाड्न खन्नुपर्थ्यो । अहिले युद्धमा मरेका मेरा साथीहरू गाड्न खन्दै थिएँ । छिटो खन्नुपर्थ्यो किनकि युद्धमा गोली पड्किरहेको थियो । रातो तातो आगो जस्तो गोली आइरहन्थ्यो । खन्दा बल पर्दा मुखबाट हैँ, हैँ गरेर आवाज निस्किन्थ्यो ।
साथीहरू दुस्मनले आवाज सुन्छ भन्दै गाली गर्थे । दुई जना साथीहरू गोली आएको ठाउँतिर हेरिरहेका थिए ।
कपडासँगै लस्करै पाँच जना साथीहरू राखेर पुरिदिएँ । सबै कपडा गोलीले च्यातिएका थिए । एउटा सेन्ट्रीले भन्यो– ‘यो त मेरो भाइ ।’
मैले जमिनदारकै घरमा पाले काम गरेको थिएँ । सामन्तकै घर धेरै वर्ष गुजारेको थिएँ तर पेन्सन पनि नहुने, तलब पनि नबढ्ने भएर वाक्क थिएँ ।
नयाँ नेपालपछि तलब बढ्ला, मिठो मिठो खिरभात खान पाइएला भनेर सोचे । धेरै वर्षपछि मेरो सेतै डाढी भइसकेको छ । छातीमा पनि रौँ सेतै भइसकेको छ । टोपी पुरानो भएर च्यात्तिएको छ । पाइन्ट पूरै खुइलिएको छ ।
अचम्म लागिरहेको छ । फेरि त्यही सामन्त मन्त्री भए । पछि मलाई ढोका बन्द गर्ने र खोल्ने ड्युटीमा राखिदिएको छ । पहिले ’हरि’ भन्थे, अहिले सबैले ’पाले हरि बा’ भन्दछन् ।