काठमाडौँ । प्रगतिशील लेखक सङ्घको आयोजनामा ‘मार्क्सवादी दृष्टिमा भगवद्गीता’ विषयक अठहत्तरौँ परिसंवाद कार्यक्रम सम्पन्न भएको छ ।
प्रलेसका केन्द्रीय सल्लाहकारसमेत रहनुभएका प्राज्ञ डा. कृष्णराज अधिकारीद्वारा विषयवस्तु प्रस्तुत गर्दै २०८१ फागुन ९ गते शुक्रबार केन्द्रीय कार्यालय बागबजारमा सो कार्यक्रम सम्पन्न भएको हो ।
प्राज्ञ अधिकारीले भौतिकवादी दृष्टिबाट रामायण, महाभारतलगायत सबै प्राचीन ग्रन्थको विश्लेषण आवश्यकतामा जोड दिँदै उहाँले भन्नुभयो– ‘भगवद्गीता आफै दर्शन नभएर त्यति बेलाका विभिन्न दर्शनको सार हो ।’
आद्य इतिहास अर्थात् प्रारम्भिक कृषियुगको अवधिमा गीताको रचना गरिएको तथा बहुदेवबाट अगाडि बढ्दै एकदेववादको रूपमा कृष्ण भगवान्लाई स्थापित गर्न भगवद्गीता रचना गरिएको उहाँको तर्क थियो ।
‘वर्णव्यवस्थाले वैश्य, शूद्र तथा नारीमाथि भइरहेको उत्पीडनको फलस्वरूप विद्रोहको स्थिति सिर्जना, त्यसका साथै लोकायत, बौद्ध तथा जैन दर्शनप्रति आकर्षण बढ्दै जाँदा भक्तिमार्ग, कर्ममार्ग तथा ज्ञानमार्गको खण्डका साथै गीताको रचना गरिएको थियो । गण तथा जनजातीय राज्यमा भइरहेको विद्रोहलाई दबाउन गीतामा धार्मिक तथा दार्शनिक सिर्जनाबाट आएको छ’ उहाँले भन्नुभयो ।
भगवद्गीतामा भक्तिमार्गमा शूद्र, वैश्य र नारीले जति पाप गरे पनि भगवान् कृष्णको अनुसरण गरे पापबाट मोक्ष पाइने उल्लेख गरिएको बताउँदै उहाँले कर्ममार्गमा काम मात्र गर, फलको आशा नगर भनेर चर्चा गरिएको तथा वर्णाश्रम व्यवस्थालाई मात्र अनुसरण गर्ने तथा त्यो भन्दा दायाँबायाँ नजाने उल्लेख गरिएको बताउनुभयो ।
सो ग्रन्थ सुन्दर र काव्यात्मक शैली भए पनि त्यसको आन्तर्य शोषणमूलक समाजलाई दमन गर्ने रहेको उहाँको विश्लेषण थियो ।
ज्ञानमार्गमा वैश्य, शूद्रलाई ज्ञानमार्गको अवसर प्रदान नगरिएको बताउँदै प्राज्ञ अधिकारीको तर्क थियो– ‘सामन्तवाद उत्कर्ष पुगेको बेला त्यसको संरक्षण गर्नु नै भगवद्गीताको मूल उद्देश्य थियो ।’
प्रलेसका अध्यक्ष डा. मधुसूदन गिरीको अध्यक्षतामा सम्पन्न सो कार्यक्रमको सञ्चालन सङ्घका उपाध्यक्ष तथा कार्यक्रम संयोजक समीर सिंहले गर्नुभएको थियो ।
कार्यक्रममा पूरक टिप्पणी गर्नेहरूमा गोपीरमण उपाध्याय, डा. गोविन्दशरण उपाध्याय, विष्णु प्रभात, गिरिप्रसाद बुढा, सीता शर्मा, पार्वती राउत, शालिकराम तिमिल्सेना, जगत् वाशिष्ठ, धनबहादुर मगर, प्रकाश तिवारी, सुयोग पौडेल, कुशु कार्कीलगायत हुनुहुन्थ्यो