काठमाडौँ । भारतको कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा प्रकृति लम्सालको मृत्युपछि तनाव सिर्जना भएपछि १६८ विद्यार्थी स्वदेश फर्किएका छन् ।
आइतबार सो विश्वविद्यालयको होस्टेलमा प्रकृतिको मृत्यु भएको थियो।
त्यसपछि भएको विवादले उग्ररुप लिएपछि नेपाली विद्यार्थीलाई कुटपिट गर्दै जबर्जस्ती निकालिएको थियो। उनीहरू विभिन्न नाका हुँदै स्वदेश फर्किरहेका छन्।
पर्साको वीरगञ्जस्थित रक्सौल नाका हुँदै गएरातिदेखि आज दिउँसोसम्म ९३ जना विद्यार्थी नेपाल प्रवेश गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक सुवास भट्टले जानकारी दिए।
९३ जना विद्यार्थी बारा, पर्सा, रौतहटका रहेको भट्टको भनाइ छ। यसअघि विराटनरतर्फको नाकाबाट पनि केही विद्यार्थी फर्किएका थिए।
पर्साका प्रहरी प्रमुख एसपी गौतम मिश्रका अनुसार बुधबार साँझ दुईवटा बसमा ५८ जना एकसाथ फर्किएका थिए। यसरी फर्किएका त्यही क्षेत्रका विद्यार्थीहरूलाई विभिन्न विद्यालयको बस व्यवस्था गरेर घरसम्म पुर्याइएको एसपी गौतमले बताए।
अहिलेसम्म फर्किनेमा ७५ जना पुरुष र १८ जना महिला रहेका छन्। यो नाका हुँदै बारा, पर्सा, रौतहटका विद्यार्थी फर्किरहेका छन्।
जोगवनी नाकाबाट ७५ विद्यार्थी फर्किए
यस्तै, आजै ७५ जना विद्यार्थी जोगवनी नाका हुँदै नेपाल नेपाल फर्किएका छन्।
बुधबार दिउँसो ३ बजेसम्म ७५ जना नेपाली विद्यार्थी नेपाल प्रवेश गरेको मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए।
उनका अनुसार, नेपाल फर्किनेमा मोरङका ३६, सप्तरीका १६, सुनसरीका ११, काठमाडौँका ३, सिराहाका ३, सर्लाहीका २, जनकपुरका २, ललितपुरका १ र उदयपुरका १ छन्।
नेपाल विद्यार्थीलाई भारतीय सीमा सुरक्षा बल एसएसबी, नेपाल प्रहरी र सशस्त्र प्रहरीले संयुक्त सहजीकरण गरेका छन्।
नेपाल फर्किएका विद्यार्थीले साथीको मृत्यु पश्चात् त्रासका कारण आफूहरू नेपाल फर्किनु परेको बताएका छन्। शङ्कास्पद अवस्थामा मृत फेला परेपछि कलेजमा अध्ययनरत विद्यार्थीको प्रदर्शनपछि कलेजले उनीहरूलाई निकालेको थियो।
उक्त घटनामा क्याम्पस प्रशासनले माफी मागेर नेपाली विद्यार्थीलाई कक्षामा फर्किन आह्वान गरिसकेको छ। तर, विद्यार्थीहरू भने फर्किएका छैनन्।