• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, साउन ०९, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

उच्च अदालतले सम्बन्धविच्छेदमा ६४ करोड डलर तिर्न आदेश

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

‘कामरेड जलजला’ उपन्यास : दार्शनिक दृष्टिबाट कम्युनिस्ट आदर्शको प्रस्तुतीकरण


  •   बुधबार, फागुन ०७, २०८१ मा प्रकाशित
  • प्रकाश थापामगर ##

    Advertisement

    लेखकको साहित्यिक परिचय

    ८९ वर्षीय मोहनविक्रम सिंहको राजनीतिक परिचयसँगै सशक्त साहित्यिक परिचय पनि छ । उनको साहित्यकर्म राजनीतिक जीवनयात्रासँगै अघि बढ्छ । उनी स्कुलले जीवन २००८/०९ सालदेखि नै कविता लेख्न थाल्दछन् । उनको पहिलो साहित्यिक रचना “मेरो टुकी” कविता थियो (सिंह, युगदर्शन साप्ताहिक, २०८१ मङ्सिर २६ गते) । त्यो क्रम अघि बढ्दै जाँदा कथा, उपन्यास, निबन्ध, समालोचना, गीत, कथा, नाटकलगायतका साहित्यका विभिन्न विधामा उनको कलम चल्दछ । उनले लेखन, सम्पादन र अनुवादको काम पनि सँगै अगाडि बढाएका हुन्छन् ।

    पुस्तक आकारमा उनका साहित्यिक कृति यस प्रकार रहेका छन् : रातो लालटिन (अनुवाद), युगनृत्य (कवितासङ्ग्रह), ओशो धार्मिक सम्प्रदाय र समाजमा त्यसको भूमिका (कार्यपत्र), दुई नाटक दुई एकाङ्की, पेमालामा प्रश्नोत्तरमाला, धरतीको पूर्व इतिहास, झिमरुक नदी र चिबेचराको कथा, साहित्य समालोचना र सौन्दर्य, धर्तीका नयाँ फूल, कामरेड जलजला (प्र.पा.म., २०८१, पृ. ९–१४) । यसबाहेक पनि उनका विभिन्न साहित्यिक रचना विभिन्न पुस्तक तथा पत्रपत्रिकामा छरिएरका छन् ।

    कृति परिचय

    पुस्तक आकारमा ‘कामरेड जलजला’ लेखकको पछिल्लो साहित्यिक कृति हो । यो उपन्यास २ खण्ड, ८ भाग, ७२ परिच्छेद र २७२ अङ्कमा बाँडिएको छ । रोयल साइजमा प्रकाशित उक्त पुस्तकभित्र करिब ५ लाख शब्द र ५ सय पात्र छन् । जनशिक्षा गृह काठमाडौँले प्रकाशन गरेको यो उपन्यासको फुटकर मूल्य ३ हजार रुपियाँ छ । २०८१ सालमा प्रकाशन भएको यो उपन्यासको कालावधि २०४१ सालसम्म सीमित रहेको छ (सिंह, २०४१, पृ. ३ र कभरको भित्री भाग) । उपन्यासको आवरण रतनकुमार राईले बनाउनुभएको छ ।

    उपन्यासका पात्र

    करिब पाँच सय पात्र रहेको यो उपन्यासमा बढी भूमिका भएका पात्रहरू हुन्– कामरेड जलजला, सुनन्दा, अजित, विद्या थापा, का. चन्द्रसिंह गढवाली, डा. जगदीश, जयन्त, निर्मल लामा, चित्रबहादुर केसी, रश्मिराज नेपाली, खगुलाल गुरुङ, शिव पौडेल, दुर्गा पौडेल, सरस्वती, अनुप सिंह, बद्रे आलम, हर्के, उजेली आदि ।

    यी पात्रमध्ये मुख्य पात्र को हुन् : कामरेड जलजला या सुनन्दा ? यसबारेमा पात्रको भूमिका र वैचारिक पक्षबाट विचार गर्नुपर्ने हुन्छ ।

    भूमिकामाथि विचार गर्दा सुनन्दालाई नै उपन्यासको मुख्य पात्र मान्नुपर्ने हुन्छ । त्यसो हो भने उपन्यासको नाम ‘कामरेड जलजला’ नराखेर ‘सुनन्दा’ राख्नुपर्ने हुन्छ । लेखकले दाबी गरेझैँ यदि उपन्यासको मुख्य विषय दर्शन हो भने कामरेड जलजलालाई मुख्य पात्र मान्नुपर्ने हुन्छ । सायद यही भएर हुन सक्दछ : लेखकले उपन्यासको नाम ‘कामरेड जलजला’ राख्दै उपन्यासको मुख्य पात्र पनि कामरेड जलजलालाई नै बनाएका छन् (सिंह, युगदर्शन साप्ताहिक, २०८१ पुस १० गते) । लेखकको यो दाबीमा सत्यता पनि छ ।

    कामरेड जलजलालाई उपन्यासको मुख्य पात्र मान्नुपर्ने केही आधार यी हुन सक्छन् : १. सुनन्दाको आदर्श नै कामरेड जलजला रहेकी छिन् । २. कामरेड जलजला पार्टीको पेसेवर कार्यकर्ता हुन् । उनमा विश्व सर्वहारा वर्गको प्रतिनिधि कम्युनिस्ट पार्टीको निर्देशनमा काम गर्ने पेसेवर चरित्र निर्माण भइसकेको छ । सम्भवतः उनी पार्टीसदस्य बनिसकेकी छिन् । ३. उपन्यास कामरेड जलजलाको वास्तविक नाम विद्यासँग नाम जुध्ने गरी विद्या थापा पात्र सिर्जना गरिएको छ । कामरेड जलजलाको तुलनामा विद्या थापा कमजोर पात्र हुन् । त्यसबाहेक अर्को कारण यो पनि हो : सुनन्दा कामरेड जलजलामा समाहित हुन्छन्, सुनन्दामा कामरेड जलजला होइन ।

    यी केही आधारमाथि विचार गर्दा भूमिकाको दृष्टिकोणबाट होइन, वैचारिक दृष्टिकोणबाट कामरेड जलजला नै उपन्यासकी मुख्य पात्र हुन् ।
    यो सत्य हो– कामरेड जलजलाको उपन्यासको मध्यभागमै मृत्यु भएको देखाइएको छ । यदि पुनर्जन्मको अवधारणामाथि विश्वास गर्ने हो भने कामरेड जलजलाको पुनर्जन्म सुनन्दाको रूपमा हुन्छ । यसरी सुनन्दा भनेको नै अन्ततः जलजला हुन पुग्छिन् ।

    कामरेड जलजलापछि सुनन्दा, अजित, डा. जगदीश, विद्या थापा, सरस्वती, अनुप सिंह, चित्रबहादुर केसी, खगुलाल गुरुङ, शिव पौडेल आदिको भूमिका बढी छ ।

    उपन्यासमा खलपात्रको रूपमा हरि सिंह र दिव्या छन् । डा. जगदीश र विद्या थापा ढुलमूल पात्र हुन् ।

    उपन्यासको विषयवस्तु, परिवेश र कालावधि
    उपन्यासको विषयवस्तु मुख्यतः नेपालको कम्युनिस्ट आन्दोलन हो भने परिवेश नेपाल, भारत र विश्व । निरङ्कुश पञ्चायती व्यवस्थाको समयमा नेपाली कम्युनिस्ट आन्दोलनका धेरै गतिविधि भारतमा हुने गरेकाले भारतीय भूमिसँगै विश्वका विभिन्न देशहरू परिवेश बनेका हुन् । उपन्यासले भारतको कम्युनिस्ट आन्दोलनमा देखा परेको वैचारिक विचलनतर्फ पनि सङ्केत गर्दछ ।

    कुमाउँकी शौका जातिकी सुनन्दा प्रारम्भमा पर्वतारोही पेसा अपनाउन चाहन्छिन् । पछि विद्या थापाले उपलब्ध गराएको अजितको लेखमार्फत् सुनन्दा कामरेड जलजलातर्फ आकर्षित हुन्छिन् । रोल्पाको जलजला धुरी र कुमाउँको नन्दादेवी हिमालको समान अवस्थितिले सुनन्दालाई आकर्षित गर्दछ । दिल्लीको जवाहरलाल नेहरू विश्वविद्यालयबाट कुमाउँ र पश्चिम नेपालको अवस्थाबारे विद्यावारिधि गर्ने उद्देश्यसँगै कामरेड जलजलाप्रतिको आकर्षणको सेरोफेरोमा उपन्यासको कथावस्तु बुनिन्छ । त्यही क्रममा सुनन्दाको पर्वतारोही पेसा समाजसेवातर्फ मोडिन्छ । कामरेड जलजलाप्रतिको आकर्षणले त्यो रुचि समाजसेवाबाट फरक क्षेत्र राजनीतिमा पुग्दछ ।

    कामरेड जलजलाको खोजीमा नेपाल आउँदा भैरहवा जेलमा पर्नु र त्यहाँबाट कम्युनिस्ट आन्दोलनसित सम्बन्धित पुस्तकको अध्ययनपछि गान्धीवादी सुनन्दाको कम्युनिस्ट बन्ने यात्रा सुरु हुन्छ । अन्ततः कामरेड जलजलासित भेट हुँदासम्म सुनन्दाले कम्युनिस्ट पार्टीको पार्टीसदस्यता पाउन निवेदन दिन्छिन् । यही बेला कामरेड जलजलाको मृत्यु हुन्छ । त्यसपछि कामरेड जलजलाको पनि आदर्श अजितप्रति सुनन्दाको आकर्षण बढ्न थाल्छ । अजितसँग भेटसँगै एकातिर सुनन्दालाई नेपाल कम्युनिस्ट पार्टीको पार्टीसदस्यता प्राप्त हुन्छ भने अर्कोतर्फ, अजितसँगैको प्रेमले विवाह रूप लिन पुग्दछ ।

    कामरेड जलजला विद्यावारिधि अनुसन्धाता भएकीले स्वभावैले उनले आफूले भेटेसम्मका र सम्भव भएसम्मको विषय वा क्षेत्रबारे अध्ययन–अनुसन्धान गर्छिन् ।

    अर्कोतर्फ, उनको गान्धीवादी छँदै डा. जगदीशसित सम्बन्ध रहेको हुन्छ । कामरेड जलजलाको निधनपछिको शोकको अवस्थामा सुनन्दा डा. जगदीशसित विवाह गर्ने भन्दै रुस पुग्छिन् तर जगदीशको विचारप्रति असहमतीका कारण विवाह गर्दिनन् ।

    मुख्यतः अनुसन्धान गर्ने स्वभावका कारणले सुनन्दाले नेपाल, भारत र विश्वको विभिन्न विषयका सूचना सङ्कलन गर्छिन् । सोही क्रममा सुनन्दामार्फत नेपाल, भारत र विश्वका कम्युनिस्ट आन्दोलन, राजनीति, समाज, इतिहास, दर्शन, कला, साहित्य, संस्कृतिलगायतका धेरै क्षेत्रमा विचरण गरिएको छ । यस क्रममा उपन्यासले कहिलेकाहीँ यात्रा संस्मरणको रूपधारण पनि गरेको देखिन्छ ।

    खासगरी निरङ्कुश पञ्चायतकालीन नेपाली कम्युनिस्ट आन्दोलन उपन्यासको कालावधि हो । लेखकले जानकारी गराएझैँ २०४१ सालसम्मको काल नै उपन्यासको कालावधि हो ।

    संरचनागत उपन्यासको सामान्य प्रस्थापना

    मूल विषयवस्तुमा प्रवेश गर्नुअघि उपन्यासको सामान्य संरचनागत प्रस्थापनाबारे सङ्क्षिप्तमा चर्चा गरौँ ।

    आधुनिक उपन्यासको अवधारणा पश्चिमबाट आएको मानिन्छ । ‘नोबेल’ बाट नयाँ घट्ना वा विधाको रूपमा उपन्यास हुँदै यो विधा हाम्रो भूगोलमा प्रवेश गरेको मानिन्छ ।

    उपन्यास भन्दाबित्तिकै सामान्य पाठकको मनमा घटना र पात्रको कलात्मक संयोजन आउनेछ । अर्कोतिर, प्रगतिवादी वा कम्युनिस्ट साहित्यमा उपन्यास भन्नाले द्वन्द्वविधान कथावस्तुयुक्त धारणा आउँछ । प्रगतिवादीहरूले उपन्यासमा शोषक–शोषितमाझ द्वन्द्व देखाएर अन्ततः वर्गविहीन समाजतर्फको यात्रालाई देखाउँछन् । अन्य प्रकारका उपन्यासकारले भने उपन्यासमा कथावस्तु र पात्रको कलात्मक संयोजनामाथि अत्यधिक ध्यान दिन्छन् । यस श्रेणीका उपन्यासकारले आफूलाई राजनीतिबाट पृथक् राखेको वा तटस्थ राखेको दाबी गरेका हुन्छन् ।

    नेपालमा पनि यतिखेर उपन्यास प्रचलित साहित्यिक विधा हो । उपन्यासको संरचनागत प्रस्थापना वा सिद्धान्तबारे नेपालका विद्वान्हरूले प्रशस्त कलम चलाएका छन् ।

    एउटा परिभाषामा भनिएको छ– “उपन्यास गद्यमा लेखिएको त्यस्तो आख्यानात्मक रूप हो, जसमा मानवजीवनको विराट् रूप र आफ्नो युगीन परिवेशको प्रस्तुति हुन्छ (थापा, २०६६, पृ. १२१) । यसमा औपन्यासिक तत्त्वको रूपमा छओटा आधार हुनुपर्ने औल्याइएको छ । ती हुन् : १. कथावस्तु, २. पात्र, ३. संवाद, ४. भाषाशैली, ५. वातावरण, ६. उद्देश्य (उही) । सामान्यतः सबै प्रकारको उपन्यासमा यिनै आधारभूत तत्त्वको अनिवार्यता रहन्छ ।

    नेपाली उपन्यास वा कथाको प्रारम्भ शक्तिवल्लभ अर्यालको ‘महाभारत विराट्पर्व’ (१८२७) बाट भएको मानिन्छ । त्यसपछि १९४६ सम्म ‘वीरसिक्का’ को प्रकाशनकाललाई प्राथमिक, १९४६ देखि १९९१ सम्म रुद्रराज पाण्डेको ‘रूपमति’ उपन्यासको प्रकाशनकाललाई माध्यमिक र १९९१ देखि यताको अवधिलाई आधुनिककाल मानिएको छ ।

    उपन्यासको आधारभूत तत्त्वको सवालमा नेपालमा खासै विवाद छैन । यस सन्दर्भमा डा. देवी नेपाल लेख्छन्– “एउटा विशाल परिवेश बोक्न सक्ने घटनाको छनोट गरेर त्यसलाई आन्तरिक तारतम्य वा कार्यकारण शृङ्खलाको आधारमा विकसित गर्दै गएर प्रभावकारी निष्कर्षमा पुग्नु उपन्यासको संरचनात्मक चिनारी हो” (नेपाल, २०७९, पृ. १९९) । उनको यो परिभाषा सरल र सुबोध छ ।

    त्यस्तै, नेपाल अगाडि लेख्छन्– “घटनाको विकास, कथावस्तुको बुनोट, चरित्रको निर्माण, परिवेशको उद्घाटन आदिमा पाठकको मनमा अब के हुन्छ ? अब के हुन्छ भन्ने उत्सुकता जागृत भइरहनुपर्दछ र समापन अत्यन्त प्रभावकारी र पाठकका मनमा लामो समयसम्म अनौठो तरङ्ग सिर्जना गरिरहने खालको हुनुपर्दछ” (नेपाल, २०७९, पृ. २०३) । यतिखेर नेपालमा प्रकाशन भइरहेका उपन्यासले यही मापदण्डलाई पछ्याउने प्रयास गरिरहेको देखिन्छ ।

    उपन्यासको मूल्याङ्कन

    ‘कामरेड जलजला’ उपन्यासलाई सङ्क्षिप्तमा तीन कोणबाट मूल्याङ्कन गरौँ : १. दर्शन, विचार र सिद्धान्तको पक्षबाट, २. कलापक्षको आधारमा र ३. प्राविधिक पक्षबाट । प्राविधिक पक्षभित्र भाषाव्याकरण लगायततर्फ पनि सङ्केत गरिनेछ ।

    १) दर्शन, विचार र सिद्धान्त

    प्राक्कथनमा लेखिएको छ– “हेगेलले लेखेका छन् कि विश्व सबै चिज आपसमा अभिन्न रूपले जोडिएका छन् । उनले योसम्म लेखेका छन्– संसारका सबै चिज आपसमा यति धेरै र घनिष्ट रूपले जोडिएका छन् कि एउटा कुनै अणु नष्ट भयो भने सम्पूर्ण विश्व नष्ट हुनेछ” (पृ. १) । लेखक स्वयम्ले उपन्यासलाई “प्रेमको कथा विश्वको दर्शन” बताउँदै त्यसको प्रधान पक्ष विश्वको दर्शन” भएको ठोकुवा गरेका छन् (सिंह, युगदर्शन साप्ताहिक, २०८१ पुस १० गते) । यसबाट उपन्यासले कुन दार्शनिक धरातल पक्रेको छ भन्ने थाहा लाग्दछ ।

    प्रस्तुत उपन्यास द्वन्द्वात्मक भौतिकवादी तथा ऐतिहासिक भौतिकवादी दर्शनको आलोकमा लेखिएको छ । त्यति मात्रै होइन, नियमितता र आकस्मिकता, निरपेक्षता र सापेक्षता, निषेधको निषेधसहित द्वन्द्ववादका सबै प्रवर्गको प्रयोग उपन्यासमा भएको छ । उपन्यासले यो दृष्टान्त प्रस्तुत गरेको छ : कुनै पनि रूढी, ईश्वर र धर्मको सहयोग नलिईकन विश्वको चर्चा गर्नु सम्भव छ । यदि लेखकले जस्तै अन्य साहित्यकारले पनि यस्तै तरिका अपनाउने हो भने संसारका विभिन्न प्रकारका रूढी र अन्धविश्वास विरुद्ध अझ सशक्त प्रहार हुन सक्दथ्यो ।

    विचार र सिद्धान्तको सवालमा पनि उपन्यासले आदर्श मापदण्ड अपनाएको छ । उपन्यासमा कम्युनिस्ट आन्दोलनभित्र अवसरवादी विचारको आलोचना गरिएको छ । इतिहास, समाज, संस्कार, साहित्य, कला, संस्कृति, रीतिरिवाजबारे प्रगतिशील दृष्टिविन्दु अपनाइएको छ । समग्रमा घटनापरिवेश र समाजलाई मार्क्सवादी–लेनिनवादी दृष्टिकोणबाट कसरी हेरिनुपर्दछ भन्ने विषयमा उपन्यासले मानक कायम गरेको छ । सम्भवतः यस खालका उपन्यासको नेपाली साहित्यमा अभाव छ । यसरी दर्शन, विचार सिद्धान्तको आधारमा ‘कामरेड जलजला’ उपन्यास उत्कृष्ट रहेको देखिन्छ ।

    २) कलापक्ष

    उपन्यासमा सुनन्दाको पर्वतारोही पेसालाई सरलबाट जटिलतातिर, सामान्यबाट विशेषतिर वा ज्ञानको छिपछिपेपनबाट गहिराइतर्फ जाने बिम्बको रूपमा प्रस्तुत गरिएको छ ।

    उपन्यासमा प्रेम छ । त्यो प्रेमको नायक पुरुष नभएर महिला भएकाले उपन्यास रोमाञ्चकारी बनेको छ किनकि हाम्रो पुरुषप्रधान समाजमा बाहिर दाबी गरिएजस्तो महिलालाई प्रेम गर्ने स्वतन्त्रता छैन । त्यसैले महिलाको प्रेमवर्णन रोमाञ्चकारी हुन पुग्दछ । उपन्यासमा कामरेड जलजला र सुनन्दाका लागि प्रेमस्वतन्त्रताको पक्ष लिइएको छ । त्यस सन्दर्भमा प्रेमसम्बन्धी मार्क्सवादी–लेनिनवादी दृष्टिकोणबारे चर्चा गरिएको छ ।

    कामरेड जलजलाले अजितलाई प्रेम गरेपछि घरकाले अन्तै विवाह गरिदिने चर्चा पनि चलाएका हुन्छन् तर कामरेड जलजला अजितसितको प्रेमलाई निरन्तरता दिन चाहन्छिन् । मृत्युपर्यन्त पार्टीको कारबाहीलाई सहर्ष स्वीकार गर्दै कामरेड जलजला अजितसित प्रेमको पक्षमा उभिन्छिन् ।

    सुनन्दाको सानै उमेरमा हरि सिंहसित थैचो भइसकेको हुन्छ तर उनका ठुला बुबा अनुप सिंहको सहयोगमा उनले त्यो सम्बन्ध परित्याग गर्छिन् । त्यसपछि सुनन्दा डा. जगदीशसित विवाह गर्न खोज्छिन् । डा. जगदीशको पतनोन्मुख विचारका कारण सुनन्दाले उनलाई पनि परित्याग गरेर अन्ततः सिद्धान्त र विचार मेल खाने अजितसित विवाह गर्दछिन् ।

    उपन्यासको आधारभूत परिवेश प्रेम नै हो । पुरुषप्रधान समाजमा सुनन्दाले एउटी महिलाको भूमिकामा प्रेमका लागि गरेको प्रयत्नले उपन्यास भरिभराउ छ । अन्य उपन्यासमा जस्तै यहाँ पनि प्रेम विवाहमा परिणत हुन्छ । यस क्रममा ‘के हुन्छ ?’ भन्ने जिज्ञासा पाठकमा रहिरहन्छ । त्यसका बाबजुद संवाद अत्यन्त सामान्य प्रकारको छ । धेरै ठाउँमा पात्रभन्दा पनि लेखक नै बोलेका छन् । कामरेड जलजलाको मृत्युप्रसङ्ग केही बढाएको भए हुन्थ्यो । पृ. १२७० मा सुनन्दाको द्वन्द्वचित्रण जीवन्त हुन सकेको छैन । यी कैयौँ कलापक्षीय कमजोरीका कारण उपन्यासलाई जति जीवन्त बनाउन सकिन्थ्यो, त्यति हुन सकेको देखिन्न ।

    उपन्यासमा जुन कलापक्षीय कमजोरी छ तर त्यो दर्शन, विचार र सिद्धान्तको सापेक्षतामा नै सत्य हो । जसरी उपन्यासमा विश्वका उत्कृष्ट भौतिकवादी दर्शनको प्रयोग गरिएको छ, वैचारिक दृष्टिकोणबाट यी कमजोरीलाई क्षम्य मान्न सकिएला ।

    ३) प्राविधिक पक्ष

    उपन्यासको शीर्षक आवरण र भित्री पृष्ठमा फरक फरक हुन गएको छ (‘का. जलजला’ र ‘कामरेड जलजला’) ।

    अङ्क विभाजनमा समस्या छ । कतिपय प्रसङ्ग दोहोरिएका छन् । अनुच्छेद विभाजन मिलेका छैनन् । वैचारिक लेखको शैली अपनाइएको छ । कैयौँपटक संयोजक शब्दबाट प्याराग्राफ विभाजन गरिएको छ । थुप्रै हिन्दी शब्द प्रयोग भएका छन्; जस्तै : ‘दोकान’, ‘छेडखानी’, ‘बहन और भाइयों’, ‘नई तालिम’, ‘जनाना’, ‘भिख’ आदि । ‘अष्टमातृका’ भनिए पनि सातओटा मातृकाको मात्रै नाम दिइएको छ (पृ. २३५) । पृ. ८५९ मा माझी हुनुपर्नेमा कुमाल भएको छ । पृ. ८६० मा पाँच सय रुपियाँमा कुखुरा किन्न नसकिने उल्लेख छ तर २०४१ सालतिर पाँच सयमा एकभन्दा बढी कुखुरा किन्न सकिन्थ्यो भन्नेबारे तथ्य दिनुनपर्ला । पृ. ८७१ मा जङ्गलमा एकैचोटी बाघ, भालु र स्याल कराए भनिएको छ, यस्तो सम्भव नहोला । पृ. ८७६ मा बेनामी भनिएको कविता पृ. ८८३ मा पुग्दा अजितको भनिएको छ । कैयौँ स्थानमा घटनाको वर्णन सलल बगेका छैनन् ।

    कतिपय स्थानमा अर्थको अनर्थ भएको छ । एक ठाउँमा “एलियन्स” को स्थानमा “एलाइन्स” भएको छ (पृ. ५६२) । पृ. ४६८ मा त फुटनोट नै हटाउन बिर्सिएको अवस्था छ । कैयौँ स्थान ईस्वी संवत् (सन्) लेख्न छुटेको छ । एउटै शब्द फरक फरक प्रकारले लेखिएको छ; जस्तै : बी.ए., बि.ए., बीए, बिए (पृ. ७३) । हरु/हरू, खालि/खाली शब्दको प्रयोगमा अस्पष्टता छन् । पृ. ४११ मा ‘हावा’ को भाव मिलेको छैन । “मूल्य र मान्यता”, “रोग र व्याधि”, “दुःख र कष्ट” जस्ता शब्दावलीको स्थानमा मूल्यमान्यता, रोगव्याधि, दुःखकष्ट लेखेको भए हुन्थ्यो ।

    यसरी भाषाव्याकरसहित उपन्यासमा प्राविधिक रूपमा धेरै समस्या छन् । नेपाली भाषाव्याकरणमा विवाद भए पनि आधिकारिक निकायको पछिल्लो मानकलाई अपनाएको भए हुन्थ्यो ।

    उपन्यासका केही वैचारिक प्रश्न

    उपन्यासमा केही वैचारिक प्रश्नबारे यहाँ उल्लेख गर्न आवश्यक ठानिएको छ ।

    १. सुनन्दाले डा. जगदीशलाई विद्या थापा कम्युनिस्ट भएको उदाहरण दिँदै भन्छन्– “त्यसको अर्थ हो– उनका विचार तपाईंसित मिल्छन् । उनले पनि तपाईंले जस्तै राजनीतिमा अत्यन्त रुचि राख्छिन् । कम्युनिस्ट पार्टीका कुनै सभा, जुलुस भए भने त्यहाँ नपुगीकन उनको मनले मान्दैन । पाएसम्म सबै पत्रपत्रिका पढ्छिन । राष्ट्रिय/अन्तर्राष्ट्रिय राजनीतिका सबै समाचार उनलाई कण्ठ हुन्छन् । मार्क्सवादी–लेनिनवादी पुस्तकहरू कुनै पनि छाड्दिनन् । नेपालमा वारेन्ट भएकाले लखनऊमा आएर भूमिगत भएर बसेकी छिन्” (पृ. ७४) । यहाँ कम्युनिस्टको परिभाषा हल्का भयो कि !

    २. पृ. ४९५ मा खसहरूले बुद्ध धर्म अपनाएको उल्लेख छ तर उपन्यासमा खसको प्राचीन इतिहास देखाइएकाले उनीहरू बुद्धभन्दा पनि पहिलेको जाति भएको प्रष्ट हुन्छ । नेपालमा आएपछि मात्रै खसले बुद्ध धर्मको मानेको उल्लेख गरेको भए स्वाभाविक हुन्थ्यो होला ।

    ३. पृ. ६२१ मा साइकिललाई द्वन्द्वात्मक भौतिकवादको मूर्त रूप बताइएको छ । यसले थप व्याख्याको माग गर्दछ ।

    ४. पृ. ६२५ मा वीर्यलाई शक्तिशाली बताइएको छ । यो धारणा पुरुषप्रधान समाजले अपनाएजस्तै छ । वीर्य अर्थात् शुक्रकिट स्त्रीको ओभमको अस्तित्वबिना निष्क्रिय रहन्छ भन्नेतर्फ लेखकको ध्यान नगएको हो कि !

    ५. पृ. ७५१ मा प्रेम र विवाहबारे लेखकको स्वच्छन्द दृष्टिकोण व्यक्त भएको छ । कामरेड जलजला र अजितले आफूहरूमाथिको कारबाहीलाई सहर्ष स्वीकारे पनि पार्टीले मार्क्सवादी सिद्धान्तअनुसार व्यवहार गरेन भन्ने असन्तुष्टि त्यहाँ प्रकट भएको छ । दुवै जना पार्टी र क्रान्तिप्रति समर्पित भएकाले प्रेम र विवाहबारे स्वतन्त्र ढङ्गले निर्णय गर्न पाउनुपर्ने माग उनीहरूको रहेकोजस्तो लाग्दछ । जबकि पार्टीले पहिलो पत्नीसित सम्बधविच्छेद नगरीकन नै कामरेड जलजलासित प्रेम गरेकाले दुवै जनालाई कारबाही गरेको थियो ।

    ६. पृ. ८३६–३७ मा कामरेड जलजला र अजितद्वारा अजितकी पहिलो पत्नीप्रति सहानुभूति प्रकट गरिन्छ तर यस्तो सहानुभूति अस्वाभाविक र अविश्वसनीय देखिन्छ ।

    ७. यस्तो लाग्दछ, लेखक अवेलार्ड र हेलिसीको यौनबिनाको प्रेमबाट प्रभावित छन् तर आम जनताको हकमा यस्तो प्रेमको अस्तित्व हुन्न । त्यो अस्वाभाविक र असम्भव हुन्छ (परिच्छेद ५९, पृ. १०९४) ।

    ८. उपन्यासमा “सोभियत सङ्घको कम्युनिस्ट पार्टी (बोल्सेभिक) को इतिहास” शीर्षकको पुस्तक स्टालिनले लेखेको उल्लेख छ, जबकि त्यो कृति सामूहिक लेखन हो भन्ने स्वीकारोक्ति सोही पुस्तकमा गरिएको छ (……, सन् १९४९, प्री पृष्ठ) । यहाँ तथ्य फरक पऱ्यो कि ?

    विचारणीय प्रश्न

    १. २०८१ मङ्सिर १५ गते काठमाडौँमा प्रस्तुत उपन्यास विमोचन हुँदा एक जना टिप्पणीकारले यसलाई ‘महाउपन्यास’ को सङ्ज्ञा दिएका थिए । यस्तो टिप्पणी अरूको पनि छ । के प्रस्तुत उपन्यास महाउपन्यास नै हो ? यदि यो महाउपन्यास हो भने त्यसको संरचनागत मापदण्ड वा प्रस्थापना के हो ? यसबाट थाहा लाग्दछ, प्रस्तुत उपन्यासको मूल्याङ्कनमा जटिलता छन् ।

    २. उपन्यास लेखनको प्रारम्भ लेखकले गर्न खोजेको विद्यावारिधिसित सम्बन्धित सामग्रीबाट भएको बताइएको छ । यसले गर्दा नै उपन्यास कथावस्तु सूचना वा जानकारीको बोझमुनि दबिएको प्रतीत हुन्छ ।

    ३. उपन्यासकारले प्रस्तुत उपन्यास आफ्ना पाँचओटा उपन्यास ‘बुढा बा’, ‘झिलीमिली’, ‘ओखरकोट’, ‘बुढा बा’, ‘तारा’ (सिंह, युगदर्शन साप्ताहिक, २०८१ मङ्सिर २६ गते) को क्षतिपूर्ति भएको बताएका छन् । त्यसले गर्दा पनि कथावस्तु र पात्रभन्दा अरू विषय नै हावी भएको देखिन्छ ।

    ४. लेखकले दर्शनको पाटो उपन्यासको सबैभन्दा महत्त्वपूर्ण रहेको बताएका छन् । त्यसले गर्दा पनि औपन्यासिक तत्त्व कमजोर रहेको देखिन्छ ।

    ५. उपन्यासमा यात्रा संस्मरण र अनुसन्धानमूलक दुवै सामग्री संलग्न छन् । यस्तो अवस्थामा एकातिर, लेखकले महत्त्वपूर्ण जानकारी प्रस्तुत गर्ने, अर्कातिर, उपन्यासमा काल्पनिकता रहने भएकाले ती सामग्रीको प्रमाणिकतामाथि पनि प्रश्न उठ्ने अवस्था रहन्छ । यस्तो अवस्थामा लेखकले एक प्रकारको सन्तुलन कायम गर्न सकेको भए हुन्थ्यो ।

    ६. पात्रको चरित्रमा छिटो छिटो र अस्वाभाविक प्रकारले परिवर्तन हुने गर्दछ । विद्या थापा, डा. जगदीश र हरि सिंहको चरित्रलाई केही सिर्जनात्मक र थथार्थवादी बनाउन सकिन्थ्यो ।

    ७.  कालावधि २०४१ सालसम्म भनिए पनि उपन्यासमा नेपालको संविधान २०७२ अनुसार सात प्रदेशको विभाजन (पृ. ३८९), २०७४ सालमा प्रदर्शनमा आएको ‘फागुन २४ गते’ फिल्म, २०८० सालको इन्डियन आइडल प्रतियोगिताको प्रतियोगी मेनुका पौडेल र सोही साल पलेशा गोवर्धनको प्यारालम्पिकमा विजयजस्ता प्रसङ्ग उल्लेख भएको देखिन्छ ।

    ८ स्टेफन हकिङलाई प्यारालाइसिस (पृ. ७३२) होइन, मोटर न्युरोन डिजिज (एमएनडी) भएको तथा पारिजातलाई पनि प्यारालाइसिस नभएर एक प्रकारको बाथरोग थियो ।

    ८. सामान्यतः उपन्यासमा प्राक्कथन र उपसंहार राख्ने प्रचलन कमै हुन्छ । लेखकले यी दुवै सामग्री लेखेर सुनन्दा र अजितको विवाहको प्रसङ्गलाई उपसंहारमा राखेका छन् । यो तरिका उपन्यासको जस्तो नभएर अनुसन्धानमूलक पुस्तकको जस्तो देखिन्छ । उपसंहार भनेको लेखको निचोड पनि मानिन्छ (नेप्रप, २०७९, पृ. २३४) । के सुनन्दा र अजितको विवाह नै उपन्यासको निष्कर्ष हो ?

    ९. सुनन्दाले जुनसुकै विषयमा पनि विस्तृत अध्ययन गर्ने वा नोट बनाउने गरेको प्रसङ्ग उपन्यासभरि छ । कुनै व्यक्तिका लागि यसो गर्नु सम्भव नहोला ।

    उपन्यास कुन प्रकारको ?

    ‘कामरेड जलजला’ कुन प्रकारको उपन्यास हो ? यो प्रश्नको उत्तर दिनु त्यति सजिलो छैन ।

    विद्वान्हरूले उपन्यासको संरचनासम्बन्धी चर्चा बेग्लाबेग्लै पक्षको आधारमा गर्ने गरेका छन् । डा. महेन्द्रकुमार मल्लले १. विषय र जीवनको आधारमा, २. सामाजिक विषयवस्तुको आधारमा, ३. कथातत्त्वको आधारमा, ४. घटनाको वर्णनशैलीको आधारमा र ५. शैलीको आधारमा उपन्यासको वर्गीकरण गरेका छन् (मल्ल, सन् १९२२, पृ. २३६) ।

    प्रस्तुत उपन्यासमा एकैसाथ उपन्यासका विभिन्न चरित्र भेट्याउन सकिन्छ । यसमा ऐतिहासिक, सामाजिक, मनोवैज्ञानिक, आञ्चलिक, राजनीतिक, वैचारिक र सांस्कृतिक उपन्यासका चरित्र छन् । त्यस्तै, उपन्यासमा चरित्रप्रधान, वर्णनात्मक, आत्मकथात्मक र पत्रात्मक शैली पनि पाउन सकिन्छ ।

    सर्जन गौतमले प्रस्तुत उपन्यासलाई इतिवृत्तात्मक उपन्यासको सङ्ज्ञा दिएका छन् (गौतम, युगदर्शन साप्ताहिक, २०८१ माघ २३ गते) । विभिन्न समालोचकका यस सम्बन्धमा फरक फरक दृष्टिकोण रहेका छन् ।

    विद्वान्हरूले उपन्यासको वर्गीकरण ‘दार्शनिक’ भनेर गरेका छैनन् । त्यसैले यो उपन्यासलाई ‘दार्शनिक उपन्यास’ को सङ्ज्ञा दिन नसकिएला । स्वयम् लेखकको उपन्यासको मुख्य पक्ष दर्शन रहेको स्वीकारोक्ति तथा उपन्यासभरि दार्शनिक पद्धति अवलम्बन गरिएकाले यो उपन्यासलाई वैचारिक उपन्यास अवश्य पनि भन्न सकिन्छ ।

    निष्कर्ष

    प्रस्तुत उपन्यास नेपालको साहित्येतिहासमा महत्त्वपूर्ण मोड हुन सक्छ । त्यो यस अर्थमा, द्वन्द्वात्मक भौतिकवाद र ऐतिहासिक भौतिकवादी दर्शनको आधारमा भौतिक जगत्, मानव समाज र परिघटनालाई यति सूक्ष्म ढङ्गले पर्गेल्ने काम यो उपन्यासले जति गरेको छ, त्यो कोटिका उपन्यास नेपालमा औँलामा गन्न सकिने होलान् । दार्शनिक, वैचारिक र सैद्धान्तिक प्रकारले यो उपन्यासले नेपालको उपन्यास जगत्लाई पथप्रदर्शन गर्ने आशा गर्न सकिन्छ । उपन्यासले यो दृष्टान्त प्रस्तुत गरेको छ : कुनै पनि रूढी, अन्धविश्वास, स्वच्छन्दतावाद, उत्तरआधुनिकतावाद र सबार्ल्टनबिना पनि उपन्यास लेख्न सकिन्छ । उपन्यासले खालि मनोरञ्जन दिने मात्र होइन, दर्शन, विचार र सिद्धान्तको आधारमा ‘औपन्यासिक उद्देश्य’ निश्चित गरेको छ । उपन्यासले व्यक्तिको निजी अनुभूतिलाई मनोरञ्जनभन्दा बढी सामाजिक परिवर्तनप्रतिको दायित्वसित जोडेको छ । उपन्यासले द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादी दर्शन, दृष्टिकोण, विचार र सिद्धान्तको आधारमा सामाजिक परिवर्तनप्रति लेखकीय उत्तरदायित्व प्रस्तुत गरेको छ । यस आधारमा उपन्यासले कम्युनिस्ट आदर्श प्रस्तुत गरेको छ ।

    सन्दर्भ सामग्रीसूची

    गौतम, सर्जन (२०८१). “जलजला उपन्यासलाई नियाल्दा”. युगदर्शन साप्ताहिक. वर्ष १६, अङ्क १७, २०८१ माघ २३ गते बुधबार. काठमाडौँ : युगज्योति प्रकाशन प्रालि । www.yugdarsham.com

    थापा, प्राडा मोहनहिमांशु (२०३६). साहित्य परिचय. संशोधित पाँचौँ संस्करण (२०६६). ललितपुर : साझा प्रकाशन ।

    नेपाल, प्राडा देवी (२०७८). लेखन शिल्प. दोस्रो संस्करण (२०७९). काठमाडौँ : ऐरावती प्रकाशन ।

    मल्ल, डा. महेन्द्रकुमार (सन् २०२२). “उपन्यासको वर्गीकरण”. पाटन प्रज्ञा. वर्ष ११, अङ्क २, नोभेम्बर २०२२. ललितपुर : पाटन बहुमुखी क्याम्पस ।

    सिंह, मोहनविक्रम (२०८१). कामरेड जलजला उपन्यासको विषयवस्तु. काठमाडौँ : जनशिक्षा गृह ।

    सिंह, मोहनविक्रम (२०८१). कामरेड जलजला. प्रथम संस्करण. काठमाडौँ : जनशिक्षा गृह ।

    सिंह, मोहनविक्रम (२०८१). “लामो दुखान्त यात्राको सुखद अन्त कामरेड जलजला”. युगदर्शन साप्ताहिक. वर्ष १६ अङ्क १०, २०८१ मङ्सिर २६ गते बुधबार. काठमाडौँ : युगज्योति प्रकाशन प्रालि । www.yugdarsham.com

    सिंह, मोहनविक्रम (२०८१). “कामरेड जलजला उपन्यास लेख्नुको दृष्टिकोण वा अभिप्राय”. युगदर्शन साप्ताहिक. वर्ष १६ अङ्क १२, २०८१ पुस १० गते बुधबार. काठमाडौँ : युगज्योति प्रकाशन प्रालि । www.yugdarsham.com

    …. (२०७९). प्रज्ञा नेपाली बृहत शब्दकोश. प्रथम संस्करण. काठमाडौँ : नेपाल प्रज्ञा–प्रतिष्ठान ।

    …. (२०८१). प्रगतिशील पाठक मञ्च बुलेटिन. वर्ष १, अङ्क १, २०८१ पुस. काठमाडौँ : प्रगतिशील पाठक मञ्च ।

    …. (सन् १९४९). सोवियत सङ्घ की कम्युनिस्ट पार्टी की इतिहास. तीसरा संस्करण. अनु. रामविलास शर्मा. नई दिल्ली : पीपुल्स पब्लिशिंग हाउस लिमिटेड ।

    २०८१ फागुन ७ गते
    बुढानीलकण्ठ–१०, काठमाडौँ

    बुधबार, फागुन ०७, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    मुन्धुम पैदलमार्ग र प्रिय सुदीप
    जुन गाउँले मलाई धेरै दियो
    जीवन र मृत्यु
    बाल स्रष्टाहरूको सिर्जनात्मक उत्सव सम्पन्न, सिर्जना डबलीको वेबसाइट विमोचन
    ‘१२ मे’ नाटक भदौ २१ गते मञ्चन हुने
    के गुमाएँ मैले ?

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • २.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ३.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ४.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ५.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ६.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    • ७.
      पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

    • ८.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.