दाङ । रक्तिम सांस्कृतिक अभियान घोराही नगर समितिको आयोजनामा घोराहीको लखनपार्कनजिक सडक सांस्कृतिक कार्यक्रम शनिबार सम्पन्न भएको छ ।
राष्ट्रिय जनमोर्चाले आगामी चैत २४ गतेदेखि ३० गतेसम्म आयोजना गरेको सङ्घीयता विरुद्ध काठमाडौँकेन्द्रित आन्दोलन गर्न लागेकाले त्यो आन्दोलनलाई सफल पार्न सो कार्यक्रम सम्पन्न गरिएको हो ।
कार्यक्रममा राजमो घोराही नगर समितिका अध्यक्ष मनिराम खनालले सङ्घीयता विरुद्ध राजमोले गर्न लागेको काठमाडौँकेन्द्रित आन्दोलन र सङ्घीयताबाट उत्पन्न समस्या तथा यसको घातक पक्ष प्रस्ट्याउनुभएको थियो ।
उहाँले सङ्घीय प्रणालीलाई खारेज गर्नुपर्ने प्रदेश संरचना हटाएर स्थानीय तहलाई बलियो बनाई जनताका काम पालिका र वडा तहबाटै गर्नुपर्ने विचारसमेत राख्नुभयो ।
कार्यक्रममा रक्तिम परिवारका कलाकारहरूले “देशै जान थाल्यो”, “छोड छोड विस्तारवाद”, “के हेर्छौ युवा”, “झुक्दैन शिर हाम्रो”, “म हिँडेको गाउँ” लगायतका गीतमा नृत्य प्रदर्शन गरेका थिए ।