काठमाडौँ । भारतको राजधानी दिल्लीस्थित नई दिल्ली रेलवे स्टेसनमा भागदौड मच्चिँदा कम्तीमा १५ जनाको मृत्यु भएको छ ।
रेल स्टेसनमा अत्यधिक भिड भएको र धकेलाधकेलका क्रममा भागदौड मच्चिएको प्रत्यक्षदर्शीलाई उदृत गर्दै बीबीसीले जनाएको छ ।
एकजना प्रहरी अधिकारी केपीएस मलहोत्रका अनुसार १० देखि १५ मिनेटसम्म अत्यधिक भिड भएकाले अवस्था नियन्त्रणबाहिर गएको थियो।
सामाजिक सञ्जालमा लेख्दै रेलमन्त्री अश्विनी वैष्णवले रेलवे स्टेसनमा भएको भागदौडले आफूलाई स्तब्ध पारेको उल्लेख गरेका छन्।
उनले ज्यान गुमाउनेका परिवारलाई समवेदना दिँदै उद्धार टोलीले दुर्घटनामा परेकाहरूलाई मद्दत गरिरहेको बताएका छन्।
भारतीय रेलवेले सुरुमा भागदौडलाई ‘अफवाह’ भनेर खारेज गरेको तर पछि थाहा नभएको सङ्ख्यामा घाइतेहरूलाई अस्पताल पुर्याइएको जनाएको रोएटर्स समाचार संस्थाले उल्लेख गरेको छ।
प्रयागराजमा चलिरहेको कुम्भमेलामा भएको भागदौडमा दर्जनौँ मानिसको ज्यान गएको केही सातापछि दिल्लीको यो घटना भएको हो।
कुम्भमेलाको भागदौडमा कम्तीमा ३० जना मारिएको भारत सरकारले पुष्टि गरेको छ ।