• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

‘कामरेड जलजला’ : उपन्यास मात्र नभएर समाजको एउटा ऐना पनि


  •   बिहिबार, फागुन ०१, २०८१ मा प्रकाशित
  • लक्ष्मण बेलबासे ##

    Advertisement

    विषयप्रवेश

    भीमकाय रचनाका ‘कामरेड जलजला’ पढ्ने अवसर जुऱ्यो । मुख्य कुरा त यसका लेखक मोहनविक्रम सिंह आफै विशाल पुस्तक भएको सबैलाई थाहा नै छ । उनकै मनमस्तिष्कबाट बगेको यो रचना साँच्चै नै भीमकाय छ । उनको साधना सबैतिरबाट छचल्किएको छ यो रचनामा ।

    जब यो ‘कामरेड जलजला’ भित्र पसेर यात्रा सुरु हुन्छ, यहाँ ब्रह्माण्डका हरेक चिजसँग साक्षात्कार हुँदै जान्छ । कुमाउँको एउटा पहाडी जनजीवनबाट सुरु भएको यो यात्रा सम्पूर्ण ब्रह्माण्डसम्म पुग्दछ । तारामण्डलदेखि सूर्यमण्डल सबैको अनुभव भएको महसुस हुन्छ ।

    दर्शनशास्त्रको कखरा सिक्दै गरेको हरेक मान्छे होस् या खारिएको राजनीतिज्ञ, सबैका लागि यो यात्रामा विभिन्न शिक्षक भेटिनेछन् । हरेकले हरेक प्रकारका यात्रुलाई मिहीन ढङ्गले दर्शनशास्त्रको ज्ञान दिनेछन्, मूलतः मार्क्सवादी दर्शन ।

    यात्राको मुख्य नायिका सुनन्दा आफै इतिहासकी विद्यार्थी भएरै होला, इतिहाससँगै जोडिएर आउने समाजशास्त्र, मानवशास्त्र, धर्म, संस्कार, संस्कृति, कुरीति, सभ्यता, भेषभुषा, कला, साहित्य सबै नायिकाको चरित्र र सङ्गतबाटै थाहा पाउन सकिन्छ ।

    मुख्य कुरा त समाजभित्र हुने अन्तरसङ्घर्ष र आउने सकारात्मक परिणामले समाजलाई अझ गतिशील र अग्रगामी बनाउँदै लैजान्छ । परिवर्तन अवश्यम्भावी छ र त्यसलाई अँगाल्दै अघि बढ्न समाज पनि कसरी बाध्य हुँदै जान्छ भन्ने कुरा यो यात्रामा थाहा पाइन्छ ।

    कथावस्तु

    कुमाउँको पहाडमा भेडा चराउँदै जीवनयापन गर्ने शौका जातिकी एक महिला, जहाँ यस्तो चलन थियो, जसलाई ‘थैचो’ भनिन्छ, बच्चामै फलानासँग बिहे गरिदिने भनेर टीका लगाएर छोडिन्थ्यो, यिनै नायिका अहिलेकी सुनन्दाले एक प्रकारले भन्दा विद्रोह गरिन् । उनका जेठा बुबाको साथ पाइन् । समाजले उनलाई रोक्न सकेन । सुनन्दाको रूपमा प्रस्फुटित भइन् । अहिले एउटा क्रान्तिकारी महिलाको परिचय बनाउँदै यो यात्राको नायिका बनेकी छिन् । यिनै सुनन्दामार्फत लेखक यस ब्रह्माण्डका हरेक कुरालाई कोट्याउने र खोतल्ने प्रयास गरेका छन् ।

    ‘कामरेड जलजला’ भित्रको यात्रामा अरू धेरै कुरा पाउन सकिन्छ । एकोहोरो हिँडिरहँदा पनि नयाँ नयाँ दृश्यको आगमन हुनेछ । तपाईं थकित होइन, रोमाञ्चित हुनुहुनेछ । यहाँ यस्ता यस्ता पात्र पाउनुहुनेछ, जो थाकेर लखतरान परे पनि सबै चिज गुमाएर पनि केही पाउने र दिने आशामा सङ्घर्ष गरेर जीवन्त बनेको पाउनुहुनेछ । जस्तोसुकै परिस्थितिमा पनि बरु आफूलाई नै मेटाउने तर सम्झौता गर्नुहुँदैन भन्ने योगमाया हुन या युनानको सोली गाउँका महिला, दुस्मनको हात लाग्नुभन्दा आफैलाई मेटाएर प्रतिरोधको सङ्केत दिने ती महिला योद्धा, जो बालबच्चासहित भिरबाट हाम फालेर मृत्युवरण गरे—यस्ता दर्दनाक घटनाको वर्णनले यात्रामा तपाईं पनि ती योद्धा सँगसँगै भएको अनुभवले तपाईंलाई अझ फुर्तिलो बनाउनेछ ।

    यो यात्रामा हरेक पाइलामा सङ्घर्ष भेट्याउनु हुनेछ । प्रेममा सङ्घर्ष, सङ्घर्षभित्र प्रेम । धेरैलाई लाग्न सक्छ, यो यात्रा सम्पूर्ण रूपमा प्रेममय होला झ् त्यस्तो पनि होइन रहेछ ।

    यो यात्रामा अर्का मुख्य पात्र छन् । ती हुन् अजित, जो आफ्नै कारण अन्तिमसम्म अपरिचित रहन्छन् । निश्चित पात्रसँग मात्र उनी परिचित हुन्छन् । उनैको प्रेमकथा पनि हो जलजला ।

    काठमाडौँमा जन्मिएर चितवनमा हुर्केकी एउटी नारी हुन् जलजला, जो विद्यार्थीकालदेखि नै शोषणको विरुद्ध खरो उत्रन जानेकी थिइन्, अजितसँगको सङ्गतले लाग्छ, उनी अझै बलियो बनेकी थिइन् । त्यो यात्रामा प्रेमका विभिन्न स्वरूप देख्न पाउनुहुनेछ ।

    अवेलार्ड र हेलोसीको प्रेम अनौठो लाग्न सक्छ, प्रेमी भईकन पनि अलग अलग बाँचेका हुन्छन्† परिचय लुकाउँछन् तर पनि उनीहरूसँगै हुन्छन् । आपसको अगाध प्रेममा बाँधिएकै हुन्छन् । धार्मिक मान्यतालाई कुल्चन समाजले अनुमति नदिँदा सःशरीर सँगै रहन सक्दैनन् । अवेलार्डको धार्मिक दृढताको परिणाम हेलोसी सधैँ अलग हुन बाध्य हुन्छिन् । यहाँ अवेलार्ड आफ्ना धार्मिक मान्यताको लागि प्रेमिकाबाट परै बस्ने बाटो रोज्दछन् । लाग्छ, यहाँ पनि बलिदान हेलोसीकै हुन्छ ।

    अब फेरि सुनन्दातिरै लागौँ । विद्या उनकी बहिनीजस्तै थिइन्, जो रोल्पाकी एउटी चेली लखनऊमा आफन्तकोमा पढ्न बसेकी थिइन् । सुनन्दा पनि त्यही फुपूको घरमा पढ्न नै बसेकी थिइन् । लखनऊमा यिनीहरूको राम्रो जोडी बनेको थियो । कुमाउँमा छँदै अजितको चिठी पढेर नै जलजलाको बारेमा अपरिचित सुनन्दा उत्साहित बनेकी थिइन् भने विद्या रोल्पादेखि नै जलजलाकी बहिनी साथी थिइन । सुनन्दाले स्नातकोत्तर सक्काइसकेपछि उनको रुचि र सबैको सल्लाहले कुमाउँ, गढवाल र पश्चिम नेपालको इतिहासको बारेमा पिएचडी गर्ने निश्चित हुन्छ । उनी जवाहरलाल नेहरू विश्वविद्यालय (जेएनयू) भर्ना हुन्छिन् । यहीँबाट सुरु हुन्छ, जलजलाको खोजीयात्रा, पश्चिम नेपालको अध्ययन सँगसँगै जलजलाको खोजी ।

    जलजलाप्रति विद्याको रोल्पादेखि धेरै नै अगाध प्रेम र उच्च सम्मान हुन्छ । जलजला पनि विद्यालाई आफ्नै बहिनीजस्तै माया गर्थिन् । त्यसैले सुनन्दको साथमा विद्या पनि जलजलाको खोजीमा निस्किएकी हुन्छिन् । नेपाल भरको खोजीयात्रामा जलजला र सुनन्दा सँगै हुने गर्दछन् ।
    नेपालको अवस्था अलि फरक थियो त्यतिबेला । पञ्चायती व्यवस्था, राजाको प्रत्यक्ष शाही शासन । सर्वत्र दमन थियो । राजनीतिक दलहरूले विभिन्न माध्यमबाट यसका विरुद्ध सङ्घर्ष गरिरहेका थिए । राज्यपक्ष दमनमा उत्रिएको थियो । नयाँ मान्छे सबै शङ्काको घेरामा परिहाल्थे ।

    भर्खर नेपाल पसेका विद्या र सुनन्दा पनि यसबाट अछुतो रहने कुरै थिएन । जलजलाको खोजी गर्दै हिँडेका यी दुई पनि पुलिसको घेरामा पर्दछन् । संयोगले विद्या पक्राउ परेर जेल जानबाट जोगिन्छिन् । सुनन्दा पुलिसको हात पर्छिन् । केही समय भैरहवाको जेल बसाइँपछि काठमाडौँ सरुवा हुन्छ र जेलमुक्त हुन्छिन् । विद्या पनि सुनन्दा छुट्ने खबरसँगै काठमाडौँ आइपुग्छन् । अब विद्या र सुनन्दाको जोडी काठमाडौँ अध्ययन र भेटघाटमा व्यस्त हुन्छ । अब सुनन्दालाई काठमाडौँ उपत्यकाको सुरुआती बस्ती बसाइका विभिन्न किंवदन्तीदेखि यथार्थसम्म सबै कुराको जानकारी हुन्छ ।

    यो कार्यसँगै जलजलाको खोजी पनि उत्तिकै महत्त्वका साथ भइरहन्छ । यो जोडी हार नमानी जलजलासँग सम्पर्क हुने हुन सक्ने हरेक सम्पर्कसूत्र प्रयोग गर्दछ । यही सूत्रकै रूपमा उनीहरूको दिव्यासँग भेट हुन पुग्दछ । उनलाई जलजलाको बारेमा केही जानकारी हुन्छ । विद्या र सुनन्दा दुवै उत्साहित हुन्छन् । अब जलजलाको नजिक पुगियो कि जस्तो पनि लाग्दछ ।

    उनी पनि पहिले अखिलकी सक्रिय कार्यकर्ता थिइन् । अहिले उनको विवाह भइसकेको थियो । उनी आमा पनि बनिसकेकी थिइन् तर उनमा यति धेरै विचलन आइसकेको थियो कि उनको चालचलनबाटै धेरै कुरा थाहा हुन्थ्यो । उनी निर्धक्कसँग भन्छिन् । उनका श्रीमानलाई घुस खान उनले नै बाध्य बनाउँछिन् । उनलाई लाग्छ, जसरी पनि पैसा कमाउनुपर्दछ । पैसाले नै सबथोक पाइन्छ । पैसा नहुनेको इज्जत हुँदैन । उनलाई आफ्नो विचलन ठिक थियो र जलजला गतिविधि भड्काउ र उद्दण्ड देखाउनु थियो ।

    उनका पति पनि विचलित हुँदै पञ्चायतमा पसेका थिए र पनि उनमा कम्युनिस्टको केही राग बाँकी थियो तर दिव्याको अगाडि उनको पनि केही लाग्दैन । इमानदार पतिलाई समेत भ्रष्ट बनाएकी दिव्यालाई लाग्छ, जलजला एउटी उच्छृङ्खल केटी हो । आफ्नो घर छोडेर अरूका घर बनाउन हिँडेकी छ । घरपरिवार केही छैन । कहिले कहाँ, कहिले कोसँग? ठेगान छैन । यस्ता उत्ताउली केटीको न घर, न बास । यस्ता छाडाले समाज दूषित गर्छन् । यस्तै अनेक कुरा गर्छिन् । आफ्ना गहनालुगा र काठमाडौँमा घर, सम्पन्न जीवनशैली नारीलाई यहाँभन्दा धेरै के चाहियो ? महिलाले राजनीति गर्ने होइन भनेर जलजलालाई खराब देखाउँदै विद्यालाई प्रभावित पार्छिन् । सैद्धान्तिक रूपले कमजोर विद्या प्रभावित हुन्छिन् । उनको मनमा अब जलजलाप्रति घृणा जागेर आउँछ । उनीप्रतिको सम्मान हराउँछ र विस्तारै जलजला भेट्ने चाहना पनि हराउँदै जान्छ ।

    सैद्धान्तिक रूपले खारिँदै गएकी सुनन्दालाई यस्ता कुराले केही फरक पर्दैन । यस्ता घटना उनले धेरै सुनिसकेकी थिइन् । धेरै कम्युनिस्ट लामो यात्रामा छुट्ने, भड्किने, अवसरवादी हुने कुराको बारेमा उनी धेरै परिचित थिइन । भारतकै कम्युनिस्ट पार्टीको अवस्थाबाटै धेरै जानकारी पाइसकेकी थिइन् । यसले उनलाई केही फरक पारेन तर विद्यामा यसको प्रभाव व्यवहारमै देखिन थालेको थियो ।

    विद्या यी सबै कुरालाई सम्हाल्दै त्यहाँबाट प्राप्त सूचनालाई अर्को सम्पर्कको आधार बनाउँदै जलजलाको घरसम्म पुग्दछिन् तर संयोग भनौँ, जलजलाको घरबाट पनि उनीहरू पुग्नुभन्दा पहिले नै जलजला त्यहाँबाट पार्टीको अर्को कामको लागि निस्किसकेकी हुन्छिन् । यो लुकाछिपीजस्तो लाग्ने खेलको क्रम चलिरहन्छ । सुनन्दानजिक पुग्ने जलजला टाढा पुग्ने, चोरपुलिसको खेलजस्तो । यो क्रम चलिरहन्छ ।

    जलजलाको यो खोजीले उनलाई धेरै कुरा सिकाएको छ । भैरहवाको जेलजीवन उनको लागि स्कुल बनेको छ । त्यहाँ भेटिएका पात्र र पुस्तकले उनलाई मार्क्सवादको ढोका खोलिदिएको छ । पुलिस दमन, गुण्डाआतङ्क सबै कुराको प्रत्यक्ष अनुभव त्यहीँबाट थाहा पाएकी छिन् ।

    जलजलाप्रति उनको सम्मान अझ बढेर आउँछ । विद्यार्थीकालबाटै सङ्गठनमा काम गरेकी एउटी महिला दमनकारी राज्य व्यवस्थाबाहिर गुण्डाराज तर पनि सशक्त प्रतिरोध र भिडन्त अनि सङ्गठन विस्तार, पार्टीको कार्य, जलजला साँच्चिकै आदर्श पात्र लाग्छ उनलाई ।

    अब उनलाई पनि डर कम हुँदै गएको छ । यस्ता कुराले उनलाई केही फरक पारेन । उनी काठमाडौँमा पाएका सम्पर्कसूत्रले बताएअनुसार विद्यालाई लिएर बुटवलतिर लाग्छिन् । बाटोभरि प्रकृतिको आनन्द लिँदै नवलपरासीमा प्राग्ऐतिहासिक मानव इतिहासको जानकारी लिँदै बुटवल पुग्छिन् । गौतम बुद्धको जन्मस्थल लुम्बिनीदेखि तिलौराकोट र त्यहाँको इतिहास र आदिवासी थारूजातिको बारेमा प्रशस्त जानकारी लिइन् र त्यहाँ सम्पर्कमा आएका विभिन्न कम्युनिस्ट कार्यकर्तासँग घुलमिल हुँदै गर्दा उनको मार्क्सवादप्रतिको झुकाव अझै बढेर गयो ।

    सुनन्दाको एउटै लक्ष्य हुन्छ : जलजलालाई भेट्नु । चितवनको तोरीखेत अर्थात् जलजलाको घर पुग्दछिन् । उनी जलजलालाई भेट्न आएको जानकारी गराउँछन् । जलजलाको परिवारले उनलाई छोरीजत्तिकै माया देखाउँछन् र केही दिन बस्न भन्दछन् । बताउँछन्, जलजला पनि भेट्न आतुर छन् तर पार्टीको काम र पुलिसको दमन । उनको बसाइँ कहीँ पनि स्थायी हुँदैन, सधैँ यस्तै प्रकारको हुन्छ ।

    अब जलजला भारत पुगेकी छिन् । उनी पनि सुनन्दालाई भेट्न निकै उत्साहित भएको थाहा पाउँछिन् । जलजला पार्टीकै प्रशिक्षणका लागि बनारस पुगेको थाहा हुन्छ । अब सुनन्दा र विद्याको यात्रा भारततिर सोझिन्छ । भारतमा पनि लुकाछिपी खेल चलिरहन्छ । यही अवसरमा सुनन्दालाई निर्मल लामालगायत विभिन्न दिग्गज नेतासँग भेट गर्ने ऐतिहासिक अवसर जुर्दछ ।

    अजित र जलजलाको प्रेमकहानी अझै विस्तृत रूपमा थाहा पाउँछिन् । अजित विवाहित भएकै कारण उनीहरूको बिहेका लागि पार्टीले अनुमति नदिएको थाहा पाउँछिन् । सो निर्णय विरुद्ध उनीहरूलाई पार्टीले कारबाही गरेको कुरा थाहा पाउँछिन् ।

    लुकाछिपी सकिएको छ । जलजला र सुनन्दाको भेट भएको छ । सुनन्दाको तिर्खा मेटिएको छ । बनारस साँच्चीकै दोभान बनेको छ । सुनन्दा र जलजलाको मिलन । गङ्गा नदीमाथि डुँगामा सयर गरेका छन् । भेट भएको बेला जलजला र अजित पनि त्यसै गरी डुँगा सयर गर्दथे । प्रेमका कुरा गर्दथे । पार्टी र क्रान्तिका कुरा गर्दथे । संसारभरिका शोषितपीडितको मुक्तियोजना बनाउँथे । यिनै कुरा जलजला सुनन्दालाई सुनाउँछिन् । सुनन्दालाई लाग्यो, अजित र जलजला दुवैलाई सँगै भेट्न पाएको भए, अझै रमाइलो हुने थियो ।

    त्यही डुँगामा बसेर जलजलाले अजित र उनीसँगको प्रेमको बारेमा सुनन्दालाई बताएकी छिन् । उनीहरूका प्रेमपत्र पढ्ने अनुमति दिएकी छिन् । सुनन्दा तृप्त भएकी छिन् । बनारसका गल्लीभित्रका दुखद, सुखद इतिहाससँग साक्षात्कार गरेकी छिन् । त्यहाँका पार्टी कार्यकर्ताका सहयोगी मन । त्यो वर्गीय र आत्मीय आतिथ्य । त्यो वर्गीय सम्बन्ध । सुनन्दा साँच्चिकै प्रभावित हुन्छिन् ।

    सुनन्दाले सुनेभन्दा पनि जलजलासँगको त्यो भेटपछि अझ प्रभावित हुन्छिन् । सुनन्दालाई अब त झन् उनका हरेक कुरा अनुकरण गर्न मन लाग्छ । दुर्भाग्य त्यो भेट पहिलो भेट मात्रै हुन पाउँदैन, यही भेट नै पहिलो र अन्तिम दुवै भेटको सङ्गम हुन पुग्दछ । त्यो भेट नै जलजला सुनन्दा हुने घुम्ती हुन पुग्दछ । जलजलाको एउटा बसबाट खसेर मृत्यु हुन्छ ।

    यहीँबाट एउटा इतिहासको विषयमा पिएचडी गर्दै गरेकी सुनन्दा, एउटा कट्टर क्रान्तिकारी सुनन्दा बन्ने यात्राको प्रस्थानविन्दु बन्दछ । यिनै जलजलाको खोजीयात्राको भोगाइ र सिकाइले उनीभित्र मार्क्सवादी दृष्टिकोणले आधार तयार गरिसकेको थियो । अब त्यो प्रस्फुटन हुने तयारीमा नै थियो । अब उनको दृष्टिकोण मार्क्सवादी दृष्टिकोणमा रूपान्तरण भइसकेको थियो ।

    जलजलाको दुखद अन्त्यले विक्षिप्त बनेकी सुनन्दा केही समय शान्तिको खोजीमा थिइन् । योभन्दा पहिले नै उनको मनमा कसैले डेरा सार्न खोजेकोप्रति उनी पनि जानकार थिइन् । उनै डेरा सार्न खोज्ने डा. जगदीशको सम्पर्कमा उनी पुग्छिन् । रसियामा बस्ने डा. जगदीश खुसी हुन्छन् । सोच्दछन्, उनको पुकारको आज सुनुवाइ भएको छ ।

    क्रान्तिकारी हुँदै गरेकी सुनन्दा पनि क्रान्तिबाट भाग्दै गरेका डा. जगदीशको नजिक पुग्दछिन् । उनीसँग बिहे गर्न राजी हुन्छिन् पनि । यहीँबाट सुरु हुन्छ, उनीहरूको वैदेशिक यात्रा । केही समयको वैदेशिक यात्रामा जब उनी रुसमा डा. जगदीशसँगै घुम्न थाल्छिन्, बिहेको आश्वासन दिएर रसिया पुगेकी सुनन्दा रसिया पुग्दा डा. जगदीशमा धेरै विचलन आएको थाहा पाउँछिन् । रुसको इतिहास र क्रान्तिको नजिकबाट अध्ययन गर्छिन् । रुसमा समाजवादको विकास र पतनका कारण थाहा पाउँछिन् । पेरिस पढ्छिन् । जर्मनीको त्यो आततायी इतिहासको त्यहीँ पुगेर अनुभव गर्ने कोसिस गर्छिन् । उनलाई लाग्छ, सायद कम्युनिस्ट सबै एक भएर फासिवाद विरुद्ध सशक्त लडाइँ लडेका भए सायद अवस्था अर्कै हुने थियो । विडम्बना झ् त्यो हुन सकेन ।

    अब यहाँ उनी एउटी प्रेमिकाभन्दा पनि एउटा क्रान्तिकारी योद्धाको रूपमा प्रस्तुत हुन्छिन् । सैद्धान्तिक रूपमा विचलित भइसकेका डा. जगदीशप्रति उनको आकर्षण कम हुँदै जान्छ । अन्ततः जगदीशसँगको विवाह प्रस्ताव अस्वीकार गर्छिन् । क्रान्तिको अगाडि डा. जगदीशको प्रेम फिका लाग्न थाल्दछ । वर्षौंदेखि डा. जगदीशले सुनन्दाका लागि साँचेको प्रेम फगत मूल्यहीनजस्तो देखिन पुग्दछ ।

    यहाँ हुने प्रेमका परिभाषा पनि भिन्न भिन्न लाग्न थाल्दछ । तिनै सुनन्दालाई कुनै बेला प्रेमकै लागि राजनीति छोडेका सुन्दरलाल बहुगुणा आदर्श पात्र लाग्छ । उनी पनि मार्क्सवादबाट विचलित भएर प्रेमलाई जीवन्त राख्ने पात्र थिए तर सुनन्दाको लागि जस्तोसुकै ‘वादी’ बन्न पनि तयार डा. जगदीश अयोग्य ठहरिए ।

    उनी भारत फर्किएकी छिन् । भारत बसेर जलजलाले दिएका अजित र जलजलाबिचमा आदानप्रदान भएका सबै चिठी अध्ययन गर्छिन् । त्यहाँ प्रेम मात्र नभएर महान् लक्ष्यको प्राप्तिका लागि लडिरहेका दुई पात्र भेट्याउँछिन् । संसारभरिका शोषितपीडित जनतालाई आफ्नै दाजुभाइजस्तै ठानेर तिनीहरूको मुक्तिका लागि मेट्न/मेटिन तयार महान् क्रान्तिकारी योद्धा भेट्याउछिन् । देशको सिमाना, फरक बोली, भाषा फरक भए पनि सबै शोषितपीडित उस्तै लाग्दछ । ती सबैको मुक्ति उनको कार्यभारजस्तो लाग्दछ ।

    जलजलाको मृत्युले विक्षिप्त बनेकी सुनन्दाको अजितप्रति सहानुभूति जागेर आउँछ । अबको उनको गन्तव्य हुन्छ, अपरिचित तिनै अजितको खोजी । महान् उद्देश्य लिएर हिँडेका अजित जलजलाको मृत्युले एक्लै बनेका छन् । उनलाई लाग्छ, जलजलाको अभावले उनमा कतै विचलन त आउने होइन ? उनलाई चिन्ता लाग्छ । अब अजितलाई भेटेर जलजलाको ठाउँ आफूले लिन मन लागेको छ । उनलाई अब सुनन्दा होइन, जलजला बन्न मन लागेको छ ।

    उनी भारतको सीमा काटेर नेपाल पुगेकी छिन् । हिँजो नेपाल घुम्दा चिनेजानेका मान्छेसित सम्पर्क गर्दै अजितको घर प्युठान पुग्छिन् । प्युठानको इतिहास र वर्तमानको अध्ययन गर्छिन् । त्यहाँ भएका विद्रोह र मुक्तिआन्दोलनका गाथा सुन्छिन । तत्कालीन किसान आन्दोलन र किसानमा परेको त्यसको सकारात्मक परिवर्तनका कुरा सुनेर दङ्ग पर्छिन् । यो आन्दोलनका नायकमाथि उनलाई गर्व लाग्छ । अजितप्रति अझ सम्मान र प्रेम जागृत हुन्छ । त्यही अजित नै आनन्द भएको पनि पत्तो लाग्छ । तपाईंको यात्रा अझै रोमाञ्चित हुनेछ ।

    हिँजो जलजला खोज्दै हिँडेकी सुनन्दा आज अजित खोज्दै भामा ओडार पुगेकी छिन् । जलजलासित भौतिक रूपमै साक्षात्कार भएकी छिन् । उनको पार्टी सदस्यताको निवेदन स्वीकृत भएको छ । अब सुनन्दा भामा पहाडबाट कामरेड भामा बनेकी छिन् । अब उनी कम्युनिस्ट पार्टीको कार्यकर्ता पनि बनेकी छिन् ।

    यिनै पहाडको लुकाछिपीमा अजित र भामाकी प्रेम झ्याङ्गिन थालेको छ । आकार लिन थालेको छ । अब पार्टीले पनि उनीहरूको विवाहको लागि अनुमति पनि दिएको छ । सम्पूर्ण सुभेच्छुक र पार्टी कमरेडको शुभकामनासँगै गङ्गा नदीको बिचमा एउटा डुङ्गामा वैवाहिक सम्बन्ध गाँसिएको छ । भामा र अजित एकाकार भएका छन् । दुई सहयोद्धा मिलेर महायोद्धा बनेका छन् ।

    कमजोर पक्ष

    उपन्यास पूरै नारीमय नभए पनि अधिक भूमिका महिलाको नै देखिन्छ । अनेक मुक्ति र सङ्घर्षका गाथाले उपन्यास भरिए पनि कतै नारीकै सङ्घर्ष लुकाउन खोजेजस्तो पनि पनि पाइन्छ ।

    अजित र जलजला प्रेममय हुँदै गर्दा जलजलालाई थाहा हुन्छ, अजित उनका प्रेमी मात्र नभएर दुई बच्चाका बाउ र कसैका पति पनि हुन् । लेखकले सामान्य झलक दिन खोजेका छन् । पहिलेको श्रीमती हुँदाहुँदै दोस्रो श्रीमती बिहे गर्न पाइँदैन भनेर उनीहरू दुवै जनालाई पार्टीले कारबाही पनि गरेको थियो । लेखकले जानकारी दिएका छन्, उनले पूर्व पत्नीसँग सम्बन्धविच्छेद गरेका छन् तर त्यो एकतर्फी अजितको मात्र कार्य थियो या दुवै पक्षको आपसी सहमतिमा भएको थियो ? यो विषयमा लेखक मौन छन् ।

    ती पूर्व पत्नीको भूमिकामा देखिएकी महिलाको अजितको पारिवारिक राजनीतिक जीवनमा पुऱ्याएको योगदानको बारेमा उपन्यास मौन छ । पहिलेकी जलजला हुन् या पछिकी सुनन्दा, दुवै अजितसँग पूर्व पत्नीको बारेमा कुनै संवाद गरेको यात्राभरि कहीँ कतै भेटिँदैन । जलजला र सुनन्दा दुवै सामान्य नारी होइनन् । दुवै महान् क्रान्तिकारी महिला हुन् तर पनि दुवै जना यात्राभरि नै ती पूर्व पत्नी भनिएकी महिलाको बारेमा चुइँक्क नबोल्नु अनौठो लाग्दछ ।

    अजितले दोस्रो बिहे गर्दा एउटा नेपाली समाजमा हुर्किएकी महिलाको मनोदशा कस्तो रह्यो होला ? लेखक मौन छन् । अर्कोतर्फ यात्राभरि नै ती पूर्व पत्नी भनिएकी महिलाको मौनता पनि रहस्यमयी लाग्दछ ।

    एउटा प्रेमकहानीको रूपमा यसको नाम ‘कामरेड जलजला’ राखिए पनि प्रेमभन्दा पनि अन्य कुरा यो यात्रामा हावी भएका छन् । मूल पात्र जलजलाको अवतार सुनन्दा बन्न पुगेकी छिन् । यात्रीलाई लाग्न सक्छ, जलजलाप्रति पूरा न्याय भएन कि ? लेखक भन्छन्– अन्त्यमा जलजला नै सुनन्दा भएकी छिन् । त्यसैले यो उपन्यास पनि हो ।

    निष्कर्ष

    यो कृति उपन्यास मात्र नभएर समाजको एउटा ऐना पनि हो । दर्शनको शिक्षक हो भने विद्रोहको ज्वाला पनि हो । सत्यको नजिक पुऱ्याउने यो एउटा बाटो पनि हो । यसले सिकाउँछ, नारी एउटा सहनशीलताको प्रतीक हो भने विद्रोहको नायक पनि नारी बन्न सक्छ भन्ने पनि यसको एउटा सार हो ।

    बिहिबार, फागुन ०१, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति
    मुन्धुम पैदलमार्ग र प्रिय सुदीप
    जुन गाउँले मलाई धेरै दियो
    जीवन र मृत्यु
    बाल स्रष्टाहरूको सिर्जनात्मक उत्सव सम्पन्न, सिर्जना डबलीको वेबसाइट विमोचन
    ‘१२ मे’ नाटक भदौ २१ गते मञ्चन हुने

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.