ढाका । गत वर्षको क्रान्तिपछि बङ्गलादेशमा यातना र बन्दुकको गोली लागेर कम्तीमा एक दर्जन मानिसको हिरासतमा मृत्यु भएको एक अधिकार समूहले बुधबार बताएको छ ।
पूर्व प्रधानमन्त्री शेख हसिनालाई हटाएको विद्यार्थी नेतृत्वको क्रान्तिपछि सत्ता सम्हालेको अन्तरिम सरकारसँग दक्षिण एसियाली यस मुलुकको सबैभन्दा ठूलो मानवअधिकार सङ्गठनहरू मध्येको एक ओधिकारले न्यायको माग गरेको छ ।
‘अन्तरिम सरकारले यी अपराधहरूलाई दण्डहीन हुन दिनुहुँदैन’, ओधिकारका निर्देशक एएसएम नसिरुद्दिन एलानले भन्नुभयो, ‘न्यायेतर हत्यामा संलग्न व्यक्तिहरूलाई न्यायको कठघरामा ल्याउनैपर्छ ।
हसिनाको १५ वर्षे स्वेच्छाचारी शासनकालमा सुरक्षा बलहरूले उहाँको शक्ति बढाउन व्यापक हत्या गरेका ओधिकारले प्रतिवेदनमा विस्तृत रूपमा बताएको छ । ओधिकारले हसिना भागेपछि पनि ती एजेन्सीहरूले मानवअधिकार उल्लङ्घन गरिरहेको आरोप लगाएको छ ।
हसिना अगस्ट ५ मा छिमेकी भारतमा निर्वासनमा भाग्नुभयो र त्यसयता मानवता विरुद्धको अपराधको मुद्दा सामना गर्न पक्राउ पूर्जीको अवज्ञा गर्दै आउनुभएको छ ।
हसिनाविरुद्धको विद्रोहमा संयुक्त राष्ट्रसङ्घका अनुसार एक हजार चार सयभन्दा बढी मानिसको मृत्यु भएको हुनसक्ने बताइएको छ ।
उहाँ गएपछि बङ्गलादेशी सुरक्षा बलहरूले हसिनाको आवामी लिग पार्टीका समर्थक र उहाँको ‘फासीवादी’ पूर्व सरकारका वफादारहरू विरुद्ध व्यापक गिरफ्तारी गरेका छन् ।
ओधिकारले सन् २०२४ अगस्ट ९ र डिसेम्बर ३१ को बीच भएका १२ मृत्युको विवरण दिएको छ ।
बङ्गलादेशका सशस्त्र बलका जनसम्पर्क निर्देशक सामी–उद–दौला चौधरीका अनुसार सुरक्षा बलहरूले ‘सबै मामिलाको अनुसन्धान गरिरहेका छन् ।’