काठमाडौं । भारतको दिल्ली राज्यमा दुईपटक सत्ता सम्हालेको आम आदमी पार्टी (आप) पराजित भएको छ । दिल्लीमा प्रधानमन्त्री नरेन्द्र मोदीको भारतीय जनता पार्टी (भाजपा) ले बहुमत प्राप्त गरेको छ ।
यो सँगै भाजपाले राजधानी सहर दिल्लीमा २७ वर्षपछि आफ्नो सरकार बनाउने भएको छ। भाजपाले सन् १९९८ पछि दिल्लीमा सरकार बनाउने अवसर पाएको हो।
दिल्लीको ७० सदस्यीय विधानसभामा भाजपाले ४७ सिटमा जित हासिल गरेको छ। थप एक सीटमा अग्रता लिइरहेको बीबीसीले जनाएको छ ।
सन् २०१३ यता दिल्ली सरकार सञ्चालनको नेतृत्व गरिरहेको अरविन्द केजरीवालको आम आदमी पार्टी (आप) ले २२ सीट जितेको छ।
आपका नेता पूर्वमुख्यमन्त्री अरविन्द केजरीवालले दिल्लीको विधानसभा सीट गुमाएका छन्। उनी भाजपाका उम्मेदवार प्रवेश बर्मासँग ३,००० भन्दा बढी मतान्तरले पराजित भए।
देशको राजधानीको सहर भएका कारण पनि दिल्ली राज्यसभाको निर्वाचनलाई भाजपा र आपले प्रतिष्ठाको विषय बनाएका थिए।
मतदाताले कल्याणकारी मुद्दालाई समर्थन गरेसँगै यहाँ सन् २०१३ यता केजरीवालको आपले सरकार चलाइरहेको थियो।
तर पछिल्लो समय केजरीवालसहित उनको दलका नेताहरूमाथि भ्रष्टाचारको आरोप लागेको छ।
केजरीवाल र आपका नेताहरूले आफूमाथि लागेको आरोपको खण्डन गर्दै आएका छन्।
महाराष्ट्र र छत्तीसगढ लगायतका राज्यमा हालैका राज्यसभा निर्वाचनहरूमा सफलता हासिल गरेपछि भाजपाले आफ्नो सम्पूर्ण ध्यान दिल्ली निर्वाचनमा लगाएको थियो।
भारतको सङ्घीय संसद्को प्रमुख प्रतिपक्षी दल भारतीय नेसनल कांग्रेस पनि दिल्ली राज्यसभाको निर्वाचनमा सहभागी छ। यो दलले हालसम्म कुनै सीटमा अग्रता कायम गरेको छैन।
कांग्रेसले सन् १९९८ देखि २०१३ सम्म यहाँ सरकार चलाएको थियो।
तर भ्रष्टाचारको आरोपपछि यहाँका मतदाताहरूले कांग्रेसलाई पाखा लगाएर आम आदमी पार्टीलाई सरकारमा पुर्याएका थिए।
यसअघि भएको आम निर्वाचनमा भारतको संसद्मा भाजपाले बहुमत गुमाएसँगै घटेको ठानिएको प्रधानमन्त्री नरेन्द्र मोदीको लोकप्रियता दिल्ली निर्वाचनको सफलताले जोगाइदिएको विश्लेषकहरूले बताएका छन्।
मुख्यमन्त्री रहेकै समयमा थुनिएका केजरीवाल गत सेप्टेम्बरमा धरौटीमा रिहा भएका थिए। तर सर्वोच्च अदालतले उनलाई मुख्यमन्त्री कार्यालयमा फर्कन र निर्णयहरू गर्न रोक लगाएको थियो।
आफू जेलबाट रिहा भएको केही दिनमै केजरीवालले मुख्यमन्त्रीबाट राजीनामा दिएका थिए।
भारतीय जनता पार्टीले आफूले दिल्ली राज्यसभाको निर्वाचन जितेको अवस्थामा सन् २०३०सम्म दिल्लीको वायु प्रदूषण आधा घटाउने वाचा गरेको छ।
तर चुनावमा दिल्लीको प्रदूषण प्रमुख मुद्दा बन्न सकेको थिएन। तीन करोड मानिसहरू बसोबास गर्ने दिल्लीमा वर्षको आधा समय मानिसहरूले चर्को वायु प्रदूषणको सामना गरिरहेका छन्।