काठमाडौं । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी) माथि प्रतिबन्ध लगाएका छन्।
उनले ‘अवैध र आधारहीन कदमका भरमा अमेरिका र हाम्रो निकट साझेदार इजरायललाई निशानामा पारेको’ भन्ने आरोप लगाएका बीबीसीले जनाएको छ ।
सो कार्यकारी आदेश अनुसार अमेरिकाको नागरिक वा उस्का साझेदारहरूविरुद्धका आईसीसी अनुसन्धानमा संलग्न व्यक्ति र तिनका परिवारलाई आर्थिक तथा भिसा प्रतिबन्ध लागू हुनेछन् ।
इजरेली प्रधानमन्त्री बेन्जमिन नेतन्याहू वासिङटन भ्रमणमा रहँदा ट्रम्पले ती कदमहरूमा हस्ताक्षर गरेका हुन् ।
गत नोभेम्बरमा आईसीसीले गाजामा भएको भनिएका ‘युद्ध अपराध’ का लागि नेतन्याहूविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो। उक्त आरोप इजरायलले अस्वीकार गर्छ।
आईसीसीले हमासका एक कमाण्डरविरुद्ध समेत पक्राउ पुर्जी जारी गरेको थियो।
बिहीबार ह्वाइटहाउसभित्र पठाइएको एक लिखित निर्देशनमा हमास र इजरायलविरुद्ध एकै समयमा त्यस्तो पुर्जी जारी गरेर द हेगस्थित आईसीसीले हमास र इजरनयलबीच ‘लाजमर्दो तरिकाले नैतिक समानता’ देखाएको आरोप लगाएको छ।
गतमहिना अमेरिकी तल्लो सदन हाउस अफ रेप्रिजेन्टेटिभ्सले आईसीसीलाई प्रतिबन्ध लगाउन मतदान गरे तापनि त्यो विधेयक माथिल्लो सदन सिनेटमा असफल भएको थियो।
१२० भन्दा धेरै देशहरू उक्त अन्तर्राष्ट्रिय न्यायालयका सदस्य छन्। त्यसमा थुप्रै युरोपेली देशहरू पनि समावेश छन्। तर अमेरिका र इजरायल दुवै देश आईसीसीका सदस्य होइनन्।





