काठमाडौँ । पदयात्रालाई साहित्यसँग जोड्दै साहित्यिक पदयात्रालाई निरन्तरता दिँदै आएको अखिल नेपाल प्रगतिशील लेखक सङ्घ (अन्पा) ले नवौँ पदयात्रा सम्पन्न गरेको छ ।
२०८१ माघ १७ गते बिहीबारका दिन काठमाडौँको बुढानीलकण्ठ हुँदै जामचेन स्तुपासम्म सङ्घले पदयात्रा सम्पन्न गरेको हो ।
सबै स्रष्टाका बिचमा भावनात्मक तथा वैचारिक समिप्यताको स्थिति सिर्जना गर्दै साहित्य सिर्जनामा निखार ल्याउने उद्देश्यका साथ अन्पाको साहित्यिक पदयात्रामा कविता, गीत, कथा, यात्रा संस्मरणसमेत प्रस्तुत गरिएको थियो ।

पदयात्रामा समीर सिंह, प्रदीप प्रधान, ऋतु केसी, समष्टि बुढा, मेष्मा पुन, भिसम छन्त्याल, वैरागी जेठा, सगर सुवेदी, मालता बेल्बासे, बिहानी केसी, सम्झना बयलकोटीलगायतको सहभागिता थियो ।
बुढानीलकण्ठ नगरपालिका क्षेत्रमा पदयात्रा चलिरहँदा प्राकृतिक सौन्दर्ययताले स्रष्टालाई थप उत्साहित बनाएको थियो । प्राकृतिक सौन्दर्यमा रमाउँदै यस प्रकारको पदयात्रालाई अझ व्यवस्थित तथा उपलब्धिमूलक तरिकाले अगाडि बढाउनुपर्ने सृष्टाहरुको ठहर थियो । यस प्रकारको रचनात्मक गतिविधिका साथ सिर्जना र विचारबिचको संयोजनलाई अझ सशक्त प्रकारले अगाडि बढाउनुपर्ने स्रष्टाहरूले बताए ।
