केरसिंह अदै, तौलिहवा ।
राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टले सङ्घीयता मुलुकको लागि आर्थिक बोझ मात्रै भएको बताउनुभएको छ ।
कपिलवस्तुको ४ नं. जितपुरमा २०८१ माघ १२ गते शनिबार राजमो कपिलवस्तुद्वारा आयोजित सङ्घीयता विरुद्धको आमसभामा विचार व्यक्त गर्दै उहाँले यस्तो अभिव्यक्ति दिनुभएको हो ।
लुम्बिनी प्रदेशमा २५ प्रतिशत आम्दानी तर ७५ प्रतिशत खर्च भएको बताउँदै उहाँले सो खर्च २२ हजार कर्मचारी पाल्न र ५०० सांसद पाल्न खर्च हुने गरेको बताउनुभयो ।
यदि प्रदेश सरकार हटाएर यो खर्च शिक्षा र स्वास्थ्यमा लगानी गर्ने हो भने यी दुवै क्षेत्र निःशुल्क गराउन सकिने उहाँको तर्क थियो ।
सङ्घीयता ल्याएको जस माओवादी, मधेसवादी दलहरूले लिए पनि यो विदेशी ग्राइन्ड डिजाइनमा ल्याइएको बताउँदै महासचिव भट्टले सङ्घीयताको खारेजीका लागि पार्टीले सङ्घर्ष गर्दै आएको स्पष्ट पार्नुभयो ।
उहाँले त्यसै सिलसिलामा यही चैत २४ देखि ३० गतेसम्म काठमाडौँकेन्द्रित आन्दोलन घोषणा गरिएको बताउनुभयो ।
सरकारले प्रवासीको पक्षमा काम गर्न सकेन : खनाल
सभामा विशिष्ट अतिथि मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका अध्यक्ष ठाकुर खनालले आजसम्मको कुनै पनि सरकारले प्रवासी नेपालीको हकहितमा काम गर्न नसकेको बताउनुभयो ।
मूल प्रवाहले प्रवासस्थित नेपालीको हकहित र प्रवासबाटै मताधिकारको लागि सङ्घर्ष गर्दै आएको उहाँले जानकारी दिनुभयो ।

मूल प्रवाहले सङ्घीयता विरुद्धको आन्दोलनलाई निरन्तर सहयोग गर्दै आएको बताउँदै उहाँले सङ्घीयता विरुद्ध काठमाडौँकेन्द्रित आन्दोलनमा प्रवासबाट उल्लेखनीय उपस्थिति हुने दाबी गर्नुभयो ।
नेकपा (मसाल) कपिलवस्तुका प्रवक्ता माधव भाटक्षेत्रीले सङ्घीयता विरुद्ध जिल्लाव्यापी कार्यक्रम अगाडि बढेको बताउँदै आम जनसमुदायलाई आर्थिक, नैतिक र भौतिक सहयोग गर्न अपिल गर्नुभयो ।
कार्यक्रममा अखिल नेपाल किसान महासङ्घ (अप्फा) का उपाध्यक्ष शिव पौडेल, राजमो केन्द्रीय सल्लाहकार दधिराम आचार्य, अखिल नेपाल ट्रेड युनियन महासङ्घ (अन्टुक) का केन्द्रीय सदस्य केरसिंह अदै, अखिल नेपाल जनजाति सम्मेलनका केन्द्रीय सदस्य तथा जिल्ला अध्यक्ष नरबहादुर घर्ती, रक्तिम सांस्कृतिक अभियानका केन्द्रीय सदस्य मानबहादुर नेपाली, सङ्घीयता विरोधी मोर्चा कपिलवस्तुका संयोजक पिताम्बर खनाललगायत जनवर्गीय सङ्गठनका अध्यक्षको आतिथ्य रहेको थियो ।

राजमो कपिलवस्तुका अध्यक्ष रामप्रसाद बेलबासेको अध्यक्षतामा सुरु भएको सो कार्यक्रमको सञ्चालन प्रगतिशील पत्रकार सङ्घका केन्द्रीय सल्लाहकार शशि सापकोटाले र स्वागत राजमो जिल्ला उपाध्यक्ष दलबहादुर कुँवरले गर्नुभएको थियो ।
सभामा रक्तिमका कलाकारहरूले गीत तथा नृत्य प्रस्तुत गर्नुभएको थियो ।