काठमाडौं । हमाससँगको युद्धविराम सम्झौताअन्तर्गत इजरायलले अधीनस्थ वेस्ट ब्याङ्कस्थित एक कारागारबाट ९० जना प्यालेस्टाइनीलाई मुक्त गरेको छ।
बीबीसीका अनुसार दुईवटा बसमा राखेर उनीहरूलाई जेलबाट बाहिर लगिएको थियो। मुक्त भएका बन्दीलाई सयौँ प्यालेस्टिनीले उल्लासपूर्वक स्वागत गरे।
इजरायलले मुक्त गरेका बन्दीहरूमा प्यालेस्टिनी राजनीतिज्ञ खालिदा जरार पनि रहेको जनाइएको छ । उनलाई रमल्लाहमा उनका आफन्त र शुभचिन्तकहरूले स्वागत गरिरहेको तस्बिरहरू पनि सार्वजनिक भएका छन्।
त्यसअघि आइतवार प्यालेस्टिनी लडाकु समूह हमासले गाजामा बन्धक बनाइएका तीन जनालाई मुक्त गरेको थियो।
गाजामा कार्यरत रेडक्रसमार्फत् इजरायली सेनालाई हमासले बन्धकहरू बुझाएको हो।

संयुक्त राष्ट्रसङ्घका अनुसार आइतवार मानवीय सहायता सामग्री बोकेका ६३० भन्दा बढी ट्रकहरू गाजामा प्रवेश गरेका छन्। त्यसमध्ये ३०० भन्दा बढी उत्तरी गाजातर्फ गएका छन्।
गाजावासीहरू मुख्यतः मानवीय सहायतामार्फत् आउने खाद्यसामग्रीमा निर्भर छन्।
पछिल्ला साताहरूमा गाजामा औसतमा दैनिक ४० वटा ट्रकहरू मात्र प्रवेश गरिरहेका थिए। द्वन्द्व सुरु हुनुभन्दा अगाडि दैनिक ५०० जति ट्रकहरू त्यहाँ प्रवेश गर्थे।
युद्धविराम सम्झौतामा दैनिक रूपमा त्यहाँ ६०० सहायता सामग्री बोकेका ट्रकहरू प्रवेश गर्नुपर्ने उल्लेख छ।
आइतवार गाजामा प्रवेश गरेकामध्ये ३० वटा ट्रकमा स्वास्थ्यसम्बन्धी सेवाहरू सञ्चालनका लागि आवश्यक पर्ने इन्धन लगिएको छ।
लागू हुने अन्तिम समयमा समेत केही ढिलो भई आइतवारबाट सुरु भएको युद्धविरामले दुवैतर्फ खुसी छाएको बीबीसीको समाचारमा उल्ले छ ।
आफ्नो घरबाट विस्थापित भएका गाजावासीहरू भग्नावशेषमा परिणत भएका आफ्ना घरहरूतर्फ फर्कँदै छन्।
उनीहरू १५ महिनादेखि जारी लडाइँमा आफ्नो घरबाट विस्थापित भएर रफाहस्थित अस्थायी शिविरमा बसिरहेका थिए।