पोर्टसुडान (सुडान) । सुडानी स्वयम्सेवक उद्धारकताले नाइल नदीको छेउमा रहेको राजधानी खार्तुमको जुम्ल्याहा सहर ओमदुरमानको क्षेत्रमा भएको गोलाबारीमा १२० जनाभन्दा बढीको मृत्यु भएको बताएका छन् ।
पश्चिमी ओमदुरमानमा सोमबार भएको अन्धाधुन्ध गोलाबारीमा १२० जना सर्वसाधारणको मृत्यु भएको युद्धग्रस्त देशभरका स्वयम्सेवक उद्धारकर्ताको नेटवर्कको हिस्सा रहेको ओम्बाडा आपत्कालीन प्रतिक्रिया कक्षले जनाएको छ ।
नेटवर्कले यो मृत्यु सङ्ख्या प्रारम्भिक रहेको बताउँदै आक्रमणको पछाडि को थियो भनेर निर्दिष्ट गरेको छैन ।
स्वास्थ्य कार्यकर्ताका अनुसार उद्धारकर्ताले विभिन्न स्तरका चोटपटकबाट पीडित ठुलो सङ्ख्यामा घाइते व्यक्तिको उपचार गर्न सङ्घर्ष गरिरहेका बेला चिकित्सा आपूर्तिको अत्यन्त अभाव रहेको बताए ।
सुडानमा २० महिनाभन्दा लामो युद्धपछि हालैका हप्तामा सेना र अर्धसैनिक र्यापिड सपोर्ट फोर्सेज (आरएसएफ) बिचको लडाइँ बढेको छ ।
सहायता एजेन्सीका अनुसार युद्धमा दशौँ हजार मानिस मारिएका छन् जसले देशलाई अनिकालको सङ्घारमा पारेको छ ।
सेना र आरएसएफ दुवैमाथि स्वास्थ्य कार्यकर्तासहित सर्वसाधारणलाई लक्षित गरेको र आवासीय क्षेत्रमा अन्धाधुन्ध गोलाबारी गरेको आरोप लगाइएको छ ।
ओमदुरमानको अधिकांश भाग सेनाको नियन्त्रणमा छ भने आरएसएफले राजधानी र बृहत्तर खार्तुम क्षेत्रको केही भाग नियन्त्रण गरेको छ ।
नाइल नदीका दुवैतर्फका बासिन्दाले नदी पार गरेर गोलाबारी भएको बताएका छन् । त्यहाँ बम र छर्राहरू नियमित रूपमा घर र नागरिकमाथि पर्ने गरेका छन् । (रासस/एएफपी)