श्रीनगर (भारत) । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार एक रणनीतिक हिमाली सडक सुरुङको उद्घाटन गर्नुभएको छ । उक्त सडकले प्रतिद्वन्द्वी चीन र पाकिस्तानसँगको विवादित उच्च भूमि सीमाक्षेत्रतर्फ सबै मौसममा पहुँच पुर्याउने छ ।
छ दशमलव चार किलोमिटर (चार माइल) लामो र वर्षको चारदेखि छ महिनासम्म हिउँले बन्द हुने खतरनाक पर्वत भञ्ज्याङमुनि फैलिएको जेडमोड वा सोनमार्ग सुरुङ सीमाक्षेत्रमा व्यापक पूर्वाधार अभियानको एक हिस्सा हो ।
यसले भारतप्रशासित कास्मिरलाई लद्दाखसँग जोड्न मदत गर्छ र सैन्य आपूर्तिको द्रूत परिचालन सम्भव बनाउन श्रीनगर–लेह राजमार्गलाई वर्षभरि खुला राख्न सघाउँछ ।
‘यहाँ सुरुङको उद्घाटनसँगै कनेक्टिभिटी उल्लेखनीय रूपमा सुधार हुने छ’ एक दशक लागेको ३१ करोड ३० लाख डलरको यस परियोजनाको रिबन काटेर चिसोबाट जोगिन ज्याकेट लगाउनुभएका प्रधानमन्त्री मोदीले भन्नुभयो ।
विश्वका दुई सबैभन्दा बढी जनसङ्ख्या भएका राष्ट्रहरू भारत र चीन दक्षिण एसियामा रणनीतिक प्रभावका लागि प्रतिस्पर्धा गर्ने तीव्र प्रतिद्वन्द्वी हुन् र उनीहरूको तीन हजार पाँच सय किलोमिटर साझा सीमा तनावको स्थायी स्रोत बनेको छ ।
सन् २०२० मा दुवै देशका सेनाबिच झडप हुँदा कम्तीमा २० भारतीय र चार चिनियाँ सैनिक मारिए र दुवै पक्षका सेनाहरू आज विवादित उच्चभूमि सीमा क्षेत्रमा आमनेसामने छन् ।
चिनियाँ राष्ट्रपति सी जिनपिङ र मोदीबिच पाँच वर्षमा पहिलो औपचारिक बैठक हुनुभन्दा केही समयअघि बेइजिङ र नयाँदिल्ली अक्टोबरमा विवादित क्षेत्रमा गस्ती गर्न सहमत भएका थिए । सोही मार्गमा रहेको अर्को १३ किलोमिटर लामो जोजिला सुरुङ आधाभन्दा बढी सम्पन्न भएको छ र सन् २०२६ मा खुल्ने सूचना मन्त्रालयले जनाएको छ ।
जेडमोड सुरुङमा अक्टोबरमा बन्दुकधारीले सात कामदारको हत्या गरेका थिए । यो विवादित कास्मिरमा दशकौँदेखि चलिरहेको विद्रोहको हिस्सा थियो ।
मुस्लिम बहुल कास्मिर सन् १९४७ मा ब्रिटिस शासनबाट स्वतन्त्रता प्राप्त गरेपछि भारत र पाकिस्तानबिच विभाजित भएको छ । दुवै देशले यस हिमाली क्षेत्रमाथि पूर्ण दाबी गर्छन् । विद्रोही समूहले कास्मिरको स्वतन्त्रता वा पाकिस्तानसँग विलयको माग गर्दछन् ।
भारतले विश्वकै सबैभन्दा अग्लो चेनाव रेल पुल निर्माणसहित मैदानी भूभागलाई पहिलोपटक कास्मिरसँग जोड्ने तीन अर्ब ९० करोड डलरको रेलमार्ग पनि निर्माण गरेको छ । दुई सय ७२ किलोमिटर लामो रेलमार्ग सेनाको उत्तरी कमान्डको मुख्यालय रहेको ग्यारिसन सहर उधमपुरबाट सुरु भई क्षेत्रको राजधानी श्रीनगरसम्म पुग्छ । (रासस/एएफपी)