टोकियो । जापानका प्रधानमन्त्री सिगेरु इसिबाले अमेरिकी राष्ट्रपति जो बाइडेनसँग निप्पोन स्टिलले अमेरिकी स्टिल कम्पनीलाई खरिद् गर्ने सहमतिअनुसार काम अघि बढ्न नदिनुले दुवै देशमा कडा चिन्ता उत्पन्न भएको बताउनुभएको छ ।
अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिकी स्टिल कम्पनीलाई जापानको निप्पोन स्टिललाई बिक्री गर्ने प्रस्तावको विपक्षमा आफू रहेको बताउनुभएको हो ।
राष्ट्रिय सुरक्षाको कारण देखाउँदै बाइडेनले निप्पोन स्टिलले यसै महिनाको सुरुमा युएस स्टिलको १४.९ अर्ब अमेरिकी डलरमा खरिद गरेको निर्णयलाई अस्वीकार गर्नुभएको थियो ।
‘मैले जापानमा मात्र होइन, अमेरिकी व्यापारिक समुदायमा पनि चिन्ताको सशक्त आवाज उठिरहेको बताएको छु र राष्ट्रपति बाइडेनलाई ती भावना हटाउन आग्रह गरेको छु’ इसिबाले सोमबारसञ्चारकर्मीसँग भन्नुभयो ।
जापानी कम्पनीलाई अधिग्रहण गर्न रोक्नु अत्यन्त असामान्य छ र दुवै कम्पनीले आफ्नो कार्यकालको अन्तिमतिर रहनुभएका अमेरिकी राष्ट्रपतिलाई अवैध हस्तक्षेपको आरोप लगाउँदै कानुनी प्रक्रिया अघि बढाएका छन् ।
निप्पोन स्टिलले यस अधिग्रहणलाई सङ्घर्षरत आफ्नो अमेरिकी प्रतिद्वन्द्वी कम्पनीका लागि नयाँ जीवनको रूपमा व्याख्या गरेको थियो तर आलोचकले जापानी समूहले यसको आश्वासनको बाबजुद विपरीत जाने र रोजगारी कटौती गर्ने चेतावनी दिएका छन् ।
सन् २०२३ मा घोषणा गरिएको यो अधिग्रहण गत वर्षको अमेरिकी राष्ट्रपति चुनावको दौडानमा चर्चामा आएको थियो र यो राजनीतिक फ्ल्यासप्वाइन्ट साबित भएको थियो ।
अमेरिकी राष्ट्रपति निर्वाचनमा महत्त्वपूर्ण र प्रतिस्पर्धात्मक मानिएको पेन्सिलभेनिया (स्विङ राज्य) मा युएस स्टिल रहेको छ । निर्वाचनका समय रिपब्लिकन नेता डोनाल्ड ट्रम्प र उहाँका प्रतिद्वन्द्वी कमला ह्यारिस दुवैले कम्पनी लेनदेनको विरोध गरेका थिए ।
सन् २०२३ मा जापानी कम्पनीले अमेरिकामा करिब ८०० अर्ब अमेरिकी डलर लगानी गरेका थिए, जुन अन्य कुनै पनि देशको तुलनामा बढी हो । यो अमेरिकामा भएको विदेशी लगानीको १४.३ प्रतिशत हो । अमेरिकी कम्पनी पनि जापानमा सबैभन्दा ठुलो बाह्य लगानीकर्ता हुन् ।
दक्षिण चीन सागरको विवादित क्षेत्रमा चीनले आफ्नो उपस्थिति देखाउँदै त्यसको प्रतिकार गर्न चाहेको वासिङ्टनका लागि जापान पनि रणनीतिक साझेदार हो । दुवै स्टिल कम्पनीले आइतबार अमेरिकी अधिकारीले अधिग्रहणका लागि जुन १८ सम्मको समयसीमा बढाएको बताएका छन् । (रासस/एएफपी)