सियोल । युक्रेनसँगको युद्धमा ३०० उत्तर कोरियाली सैनिकको मृत्यु भएको दक्षिण कोरियाली अधिकारीले दाबी गरेका छन् ।
रुस–युक्रेन युद्धमा करिब ३०० उत्तर कोरियाली सैनिकको मृत्यु हुनुका साथै दुई हजार ७०० जना घाइते भएको दक्षिण कोरियाली सांसदले सोमबार सियोलको गुप्तचर निकायबाट प्राप्त जानकारीलाई उद्धृत गर्दै बताइएको हो ।
सियोलले यसअघि उत्तर कोरियाली नेता किम जोङ उनले प्योङयाङको भारी प्रतिबन्धित हतियार र स्याटेलाइट कार्यक्रमका लागि रुसी प्राविधिक सहयोगको बदलामा मस्कोलाई किएभ विरुद्ध लड्न १० हजारभन्दा बढी सैनिक पठाएको दाबी गरेको थियो ।
सप्ताहान्तमा युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले किएभले दुई जना उत्तर कोरियाली सैनिकलाई पक्राउ गरेको र घाइते लडाकुलाई सोधपुछ गरिएको भिडियो सार्वजनिक गर्दै पक्राउ परेका युक्रेनी सैनिकका लागि कैदी साटासाटको सम्भावना बढाएको बताउनुभएको थियो ।
‘रुसमा उत्तर कोरियाली सेनाको तैनाथी कुर्स्क क्षेत्रलाई समेट्ने गरी विस्तार गरिएको छ । उत्तर कोरियाली सेनाको हताहत तीन हजार नाघेको अनुमान गरिएको छ’ सांसद ली सियोङ–क्वेनले जासुसी एजेन्सीको ब्रिफिङपछि पत्रकारलाई भन्नुभयो । (रासस/एएफपी)