खिमराज चालिसे, चन्डिगढ ।
भारतको चन्डिगढमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले सांस्कृतिक प्रतियोगिता सम्पन्न गरेको छ ।
सुदूर पश्चिमोत्तर क्षेत्रीय समितिको आयोजनामा डिसेम्बर २२, २०२४ का दिन सो कार्यक्रम सम्पन्न भएको हो ।
प्रतियोगिताको उद्घाटन मूल प्रवाहका केन्द्रीय अध्यक्ष ठाकुर खनालले पानसमा बत्ती बालेर उद्घाटन गर्नुभएको थियो ।

सो अवसरमा मन्तव्य राख्दै उहाँले प्रगतिशील संस्कृतिले समाजलाई अगाडि लैजान प्रेरित गरिरहेको तर बुर्जुवा संस्कृतिले भने समाजलाई सधैँ पछाडि धकेल्ने काम गरिरहेको धारणा व्यक्त गर्नुभयो ।
फरक प्रसङ्गमा उहाँले सङ्घीयता देशमा आवश्यकता नभएको तर्क राख्दै सङ्घीयता विरुद्ध राष्ट्रिय जनमोर्चाले घोषणा गरेको राजधानीकेन्द्रित आन्दोलनमा सहभागी हुन आग्रह गर्नुभयो ।

कार्यक्रममा केन्द्रीय उपाध्यक्ष कपिल खनाल, केन्द्रीय सचिव त्रिभुवन भट्टराई, मूल प्रवाहका केन्द्रीय सदस्यहरू दिनेश खड्का, तिलक पौडेल, नरबहादुर ओली, धनराज गोर्खाली, केन्द्रीय सल्लाहकार जितमान थापा, महिला केन्द्रीय विभागकी शुष्मा खड्का, जनजाति केन्द्रीय विभागका बिलबहादुर गुरुङ, सांस्कृतिक विभागकी केन्द्रीय सदस्य बिनु नेपाली, अखिल भारत नेपाली विद्यार्थी सङ्घका केन्द्रीय अध्यक्ष माधव पोखरेललगायतको आतिथ्य रहेको थियो ।
नौ टिमले भाग लिएको सो प्रतियोगितामा प्रमुख निरीक्षक रक्तिम सांस्कृतिक अभियानकी केन्द्रीय सदस्य मीना बुढाथोकी र मूल प्रवाहका सचिवालय सदस्य धनवीर पुनमगर हुनुहुन्थ्यो ।

प्रतियोगितामा प्रथम जालन्धर, द्वितीय लुधियाना र तृतीय हिसार नगर समिति भएका थिए । त्यसैगरी सान्त्वना पुरस्कार चन्डिगढलाई दिइएको थियो ।
कार्यक्रम क्षेत्रीय समितिका सचिव कुलबहादुर बगालेको अध्यक्षतामा तथा सदस्य खिमराज चालिसेको सञ्चालनमा सम्पन्न भएको थियो भने स्वागत क्षेत्रीय समितिका सहसचिव तारा सोमरे र क्षेत्रीय सांस्कृतिक टिमले गर्नुभएको थियो ।
