गोविन्द शर्मा, कावासोती ।
राष्ट्रिय जनमोर्चा नवलपुरले “राष्ट्रियता र गणतन्त्रको रक्षा गरौँ, सङघीयता खारेज गरौँ, महङ्गी, भ्रष्टाचार, कालोबजारी र अनियमितताको विरोध गरौँ” नाराका साथ विरोधसभा सम्पन्न गरेको छ ।
राजमो केन्द्रीय सचिव घनश्याम न्यौपानेको प्रमुख आतिथ्यमा २०८१ असोज १८ गते शुक्रबार सो सभा सम्पन्न भएको हो ।
सभामा मन्तव्य राख्दै सचिव न्यौपानेले राष्ट्रियता दिनप्रतिदिन सङ्कटमा पर्दै गएको तथा नेपाली जनताले आन्दोलनका बलमा ल्याएको गणतन्त्र र धर्मनिरपेक्षतामाथि पनि विभिन्न कोणबाट आक्रमण भइरहेको विचार व्यक्त गर्नुभयो ।
यतिखेर संविधान संशोधनको कुरा उठाइएको प्रसङ्ग जोड्दै उहाँले राष्ट्रियताको रक्षाका लागि सङ्घीयता खारेज गर्ने गरी संविधान संशोधन गर्नु सकिने बताउनुभयो ।
मन्तव्यको क्रममा उहाँले राजमोले सङ्घीयता खारेजीका लागि चैतमा सात दिने काठमाडौँकेन्द्रित आन्दोलन गर्न थालेकाले त्यसमा सहभागी हुन आह्वानसमेत गर्नुभयो ।
सभालाई राजमो केन्द्रीय सदस्यहरू राजेन्द्र ढुङ्गाना, भागिरथ भट्टराई र दीपक पाण्डेले पनि विशिष्ट अतिथिको आसनबाट सम्बोधन गर्नुभएको थियो ।

त्यस्तै, अखिल नेपाल ट्रेड युनियन महासङ्घ (अन्टुक) का महासचिव शालिकराम सापकोटा, राजमो चितवनका सचिव यादवविलास पन्त र नेकपा (मसाल) नवलपुरका प्रवक्ता चन्द्र सापकोटाले पनि सभालाई सम्बोधन गर्नुभएको थियो ।
कार्यक्रममा तराई मधेस जनवादी मोर्चाका केन्द्रीय सदस्य रूपनारायण महतो, रक्तिम सांस्कृतिक अभियानका केन्द्रीय सदस्य भक्तबहादुर उचै, अन्टुकका केन्द्रीय सदस्य डम्मर केसी, मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका शिवलाल लामिछाने, अखिल नेपाल युवक सङ्घ नवलपुरका अध्यक्ष गोविन्द अम्माई र युगदर्शनका प्रतिनिधि गोविन्द शर्माको आतिथ्य रहेको थियो ।
कार्यक्रमको अध्यक्षता राजमो नवलपुरका अध्यक्ष गिरबहादुर महतराले, सञ्चालन जिल्ला सदस्य कृष्ण गिरीले र स्वागत राजमो नेता विकाराम चौधरीले गर्नुभएको थियो ।

सभामा रक्तिमका कलाकारहरूले गीत तथा नृत्य प्रस्तुत गर्नुभएको थियो ।
सभापूर्व कावासोती सभापतिचोकबाट जुलुस सुरु भएको थियो । फलफूल चोकमा पुगी उक्त जुलुस सभामा परिणत भएको थियो । जुलुसमा राष्ट्रिय जनमोर्चा जिन्दावाद !, भारतीय साम्राज्यवाद मुर्दावाद !, अतिक्रमित भूमि फिर्ता गर !, सन् १९५० लगायतका असमान सन्धिसम्झौता खारेज गर !, नेकपा (मसाल) जिन्दावाद !, सङ्घीयता खारेज गर ! लगायतका नारा लगाइएका थिए ।
