ढोरपाटन (बागलुङ) । ढोरपाटन नगरपालिकामा राष्ट्रिय जनमोर्चाले ज्ञापनपत्र बुझाएको छ ।
राजमो बागलुङका सचिव भीमलाल पोखरेल नेतृत्वको प्रतिनिधिमण्डलले २०८१ भदौ १३ गते बिहीबार सो ज्ञापन बुझाएको हो ।
प्रतिनिधिमण्डलमा राजमो बागलुङका कोषाध्यक्ष दीपक थापा, जिल्ला सदस्य तमबहादुर घर्ती, धनबहादुर अदै, कमला पाण्डे, राजमो ढोरपाटन नगर समितिका भेकबहादुर खत्री, सबहादुर छन्त्याल, धनकुमारी कुँवर, ज्ञानबहादुर भण्डारी र लालबहादुर कुँवरको पनि सहभागिता रहेको थियो ।
“गणतन्त्र र राष्ट्रियताको रक्षा गरौँ, सङ्घीयता खारेज गरौँ” मूल नाराका साथ राजमो बागलुङले भदौ १२–२५ सम्म सञ्चालन गरेको “विशेष सङ्गठनात्मक अभियान” कै क्रममा सो ज्ञापनपत्रसमेत बुझाइएको सचिव पोखरेलले बताउनभयो ।
ज्ञापनमा महङ्गी, स्थानीय तहसम्म भ्रष्टाचार, विकास निर्माणमा ढिलासुस्ती, योजना छनौटमा हुने दलगत स्वार्थ, सहकारीको नियमन, यातायातको भाडादर, सालझन्डी–ढोरपाटन मोटरबाटो अगाडि बढाउने, उत्तरगङ्गा हाइड्रो बागलुङमा बनाउनुपर्नेलगायतका विषय समेटिएको छ ।

