काठमाडौं । अमेरिकामा रहेका एक नेपालीले आफ्नी श्रीमतीको हत्या गरेको त्यहाँको प्रहरीले जनाएको छ । तीन साता अघिदेखि हराइरहेकी नर्स ममता काफ्ले भट्टको हत्या भएको प्रहरीको दाबी छ ।
उनका श्रीमान् नरेश भट्टले जुलाई ३० को आसपासमा उनीहरुको निवास (हिथर कोर्ट होम) मा श्रीमती ममताको हत्या गरेको र शव घरबाहिर लगेको प्रहरीको अनुमान छ ।
नरेश भट्टलाई त्यहाँको प्रहरीले बिहीबार नै पक्राउ गरिसकेको छ भने शुक्रबार हत्या आरोप तथा शरीर लुकाएको अपराधमा अदालतमा पेस गरेको छ।
मानासास पार्क र प्रिन्स विलियम काउन्टीका अधिकारीहरुले दुई दिनसम्म उनीहरुको घरमा खानतलासी लिएर अनुसन्धान गरेका थिए। त्यसपछि शरीर लुकाएको र अनुसन्धानमा नसघाएको अभियोग लगाइएको थियो। भर्जिनियामा यसलाई गम्भीर अपराधका रुपमा लिइन्छ।
नरेशले जुलाई ३१ मा ममतालाई देखेको प्रहरीलाई बताएपछि अगस्ट ५ देखि उनी हराइरहेको कुरा बाहिर आएको थियो। बिहीबार प्रहरीले जुलाई २८ देखि नै उनी हराइरहेको खुलासा गरेको थियो।
नरेशले लामो समयपछि मात्रै आधिकारिक रुपमा श्रीमती हराएको जानकारी गराएका थिए। यूभीए हेल्थ प्रिन्स विलियम मेडिकल सेन्टरका ममताका सहकर्मीहरुले ‘वेलनेस चेक’का लागि आग्रह गरेपछि प्रहरी अगस्ट १ मा उनीहरुको घर पुगेको थियो।
मिडिया रिपोर्टका अनुसार भट्ट दम्पतीका एक वर्षीया छोरी छिन्। उनलाई सोसल सर्भिसेजको रेखदेखमा राखिएको छ।

