भरतपुर । रक्तिम सांस्कृतिक अभियान चितवनका कोषाध्यक्ष तथा राष्ट्रिय जनमोर्चा चितवनका सदस्य कृष्ण केसी मातृशोकमा पर्नुभएको छ ।
२०८१ भदौ ६ गते बिहीबारका दिन केसीकी आमा वशुन्धरा केसीको निधन भएपछि उहाँ शोकमा पर्नुभएको हो ।
८९ वर्षीया वशुन्धरा गत १०/१२ दिनदेखि अस्वस्थ हुनुभएकाले भरतपुर अस्पतालमा उपचार चलिरहेको थियो । उपचारकै क्रममा उहाँको बिहीबार बिहान ११ बजे निधन भएको थियो ।
स्मृतिशेष वशुन्धराको शवयात्रा निवासस्थानबाट सिसुवार घाटसम्म अगाडि बढेको थियो । शवयात्रामा टोलवासी, आफन्तजनलगायत राजमो केन्द्रीय सदस्यदेखि जनवर्गीय सङ्गठनका कार्यकर्ताको सहभागिता रहेको थियो ।
स्मृतिशेषको वशुन्धराको स्मरणमा एक मिनेट मौनधारणपश्चात् उहाँको पार्थिव शरीरमा राजमो चितवनका अध्यक्ष अमरबहादुर क्षेत्रीले झन्डा ओढाएर अन्तिम श्रद्धाञ्जली दिनुभएको थियो ।
राजमो चितवनका सचिव पदम वाग्लेले स्मृतिशेष वशुन्धराको जीवनी वाचन गरी सुनाउनुभएको थियो ।
स्मृतिशेष वशुन्धराका दुई छोरा, दुई बुहारी, दुई छोरी, नौ नातिनातिना र तीन पनाति रहेका छन् ।
उहाँ १९९२ सालमा बागलुङको काँडेबास चालिसे टोलमा बाबा पूर्णबहादुर बुढाथोकी र आमा मानकुमार बुढाथोकीको जेठी छोरी हुनुहुन्थ्यो । २०१५ सालमा बागलुङ गलकोट नगरपालिका वडा नं. ८ का रुद्रबहादुर केसीसँग विवाह भएकी वशुन्धरा सामाजिक कार्यका साथै राजमोको साधारण सदस्य हुनुहुन्थ्यो ।
बसाइँसराइको क्रममा २०७० सालमा उहाँको परिवार भरतपुर महानगरपालिका–१८ शशिनगर सहर क्लिनिकटोलमा बसोबास गर्दै आउनुभएको थियो ।
