काठमाडौं । सत्तारुढ दल नेकपा सांसदहरु महेश बस्नेत, कृष्णकुमार श्रेष्ठ र पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल विरुद्ध राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी परेको छ । जनता समाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादवले आफुलाई अपहरण गरेको भन्दै उहाँहरुविरुद्ध उजुरी दिनुभएको हो । बिहीबार आयोगको कार्यालय पुगेर यादवले उजुरी दिनुभएको हो ।
उजुरी बुझेपछि आयोगका सदस्य प्रकाश वस्तीले उजुरीमा उल्लेख भएबमोजिम कार्यहरु भए/नभएको विषयमा अनुसन्धान गरिने बताउनुभयो । अपराध भए/नभएको, अपहरण भए/नभएको हेर्ने काम अदालत र प्रहरीको भएको उल्लेख गर्दै वस्तीले उजुरी कर्ताको मानवअधिकार भएको छ की छैन भन्ने विषयमा आयोगले अनुसन्धान गर्ने बताउनुभयो । उजुरीमा उल्लेख भएअनुसार मानवअधिकार उलंघन भएको पाइए त्यसको पुर्नस्थापना गर्न के गर्नुपर्छ त्यसका लागि सरकारलाई निर्देशन दिइने उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘अपराध भयो/भएन्, अपहरण हो÷होइन त्यो हेर्ने काम हाम्रो होइन् । त्यो प्रहरी र अदालतको काम हो । तर उजुरीमा लेखिए बमोजिमको कार्यहरु भएकी÷भएनन् । ती कार्यहरु भएको भए उजुरीकर्ता मानव अधिकार उलंघन भयो कि÷भएन् । उलंघन भएको रहेछ भने त्यसलाई पुर्नस्थापना गर्न के गर्नुपर्छ । राज्यले के गर्नुपर्छ । सरकारले के गर्नुपर्छ भन्ने कुरा हामी बोल्नुपर्छ । त्यो बोल्ने हाम्रो कर्तव्य हो । हामी आफ्नो कर्तव्यप्रति सजग छौँ ।’
डा. यादवले सदस्य वस्ती र माहना अन्सारीलाई भेटेर उजुरी दिनुभएको हो । शक्तिको आडमा आफ्नो ज्यान नै लिन सक्ने जोखिम रहेकोले सांसदहरु र पूर्वआइजीपीलाई पक्राउ गरी आवश्यक छानबिन र कारवाही गर्न आयोगमा दिइएको उजुरीपत्रमा उल्लेख गरिएको छ ।
काठमाडौंमाबाट गएका सांसदहरु बस्नेत र श्रेष्ठ तथा पूर्वआइजीपी खनालले यादवलाई वैशाख १० गते काठमाडौं ल्याउनुभएको थियो । यसअघि महानगरिय प्रहरी परिसर र जिल्ला सरकारी वकिल कार्यालयमा यादवले उजुरी दिन खोजेपनि उजुरी लिन अस्वीकार गरेका थिए ।

