काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा अर्को दलसँगको छलफल जस्तै गरी प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपाल पक्षबीच वार्ता भएको छ । दुवै समूहको सहमति अनुसार नेकपाको सचिवालय बैठक मंगलबार बस्ने भएको छ ।
नेकपा भित्र विवाद बढ्दै गएपछि सोमबार प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओली र वरिष्ठ नेता नेपाल पक्षका नेताहरु बिच अनौपचारीक छलफल भएको थियो । छलफल पछि पत्रकारहरुसँग कुरा गर्दै नेता रघुजी पन्तले कुनै निर्णय नभएपनि मंगलबार सचिवालय बैठक बस्नेगरी टुंगिएको बताउनुभयो ।
उहाँले छलफलमा दुईपक्षबीचको मन माझामाझ भएको बताउनुभयो । पार्टीमा देखा परेको गतिरोध अन्त्यका लागि छिटो भन्दा छिटो सचिवालय र स्थायी कमिटी बैठक बोलाउनुपर्ने विषयमा वरिष्ठ नेता माधवकुमार नेता पक्षका नेताहरुले कुराहरु प्रष्टसँग राखेको बताउनुभयो । सचिवालय बैठक मंगलबार बस्ने र उक्त बेठकले नै स्थायी कमिटि बैठक बोलाउने विषयमा निर्णय गर्ने उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो ‘अहिले के भन्यौं भन्दा सरकारका र पार्टीका विना पूर्वाग्रह समिक्षा गर्नुपर्छ र यो समस्याको निकास हामीले खोज्नु पर्छ र निकास पार्टी अध्यक्ष एवं प्रधानमन्त्री को हैसियतमा उहाँले दिने हो । गतिरोध टुंग्याउने ढंगले निकास दिनुपर्छ भन्ने कुरा भयो ।’बौठकमा प्रधानमन्त्री ओली समूहबाट इश्वर पोखरेल, प्रदीप ज्ञवाली, विष्णु पौडेल, शंकर पोखरेल र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका भिम रावल, सुरेन्द्र पाण्डे, रघुजी पन्त लगायतका नेताहरु सहभागी भएका थिए ।
पार्टीभित्र ओली, नेपाल र प्रचण्डका तीन गुट छुट्टाछुट्टै रुपमा क्रियाशील छन् । अहिले माधव नेपाल र पुष्पकमल दाहालबीचको गठबन्धनले प्रधानमन्त्रीबाट केपी ओलीलाई हटाउने योजना बनाएको नेताहरुका सार्वजनिक अभिव्यक्तिले स्पष्ट पारेको छ ।
हालै प्रधानमन्त्री ओलीले नाटकीय रुपमा दल विभाजन र संवैधानिक परिषद सम्बन्धी दुई अध्यादेश ल्याउँदा र फिर्ता गर्दा पार्टीसँग सल्लाह नगरेको भन्दै ओलीलाई प्रधानमन्त्रीबाट हटाउनुपर्ने माग जवर्जस्त उठेको छ ।
प्रधानमन्त्रीबाट ओलीलाई हटाएर माधव नेपाललाई प्रधानमन्त्री बनाउन नेपाल गुट लागिपेको छ भने प्रचण्ड गुट प्रचण्डलाई प्रधानमन्त्री वा पार्टीको शक्तिशाली अध्यक्ष बनाउन सक्रिय छ । ओली समूह भने माधव नेपाललाई अर्को अध्यक्ष बनाएर प्रधानमन्त्रीको कुर्ची सुरक्षित राख्न सक्रिय बनेको छ ।