काठमाडौँ । आयुर्वेद तथा वैकल्पिक चिकित्सालयले जडीबुटीलाई औषधिजन्य पदार्थको प्रयोग गर्न अभिप्रेरित गर्ने उद्देश्यले २०८१ असार ८ गते शनिबारदेखि औषधिजन्य जडीबुटी मेला आयोजना गरेको छ ।
चिकित्सालयका प्रमुख डा पुनम नेपालले औषधिजन्य जडीबुटीको ज्ञानलाई जानकारी दिने उद्देश्यले नेपाल प्रज्ञा–प्रतिष्ठानमा मेलाको आयोजना गरिएको बताउनुभयो ।
मेलामा नेपालको हिमाल, पहाड र तराईमा उब्जेका बहुमूल्य जडीबुटी प्रदर्शनी, आयुर्वेद तथा हाम्रा परम्परामा रहेका विभिन्न जडीबुटीबाट मिश्रित पथ्य आहार एवम् खानपानको जानकारी गराइने छ ।
चिकित्सालयका प्रमुख डा नेपालले मेलामा जडीबुटीको पहिचान र उपयोगसम्बन्धी जानकारी, रैथाने एवम् लोपोन्मुख बहुमूल्य जडीबुटीको जानकारी, स्वास्थ्य प्रवर्द्धन तथा उपचारका लागि स्थानीय जडीबुटी पहिचान, उपयोग र उत्पादनको जानकारी दिइने बताउनुभयो ।
त्यसैगरी, प्राविधिक सत्रमा सम्बन्धित विषयविज्ञद्वारा औषधिजन्य जडीबुटी र पोषण, जलवायु परिवर्तन, पर्यावरणीय स्वास्थ्य, जडीबुटीको दिगो संरक्षणसम्बन्धी वैज्ञानिक शत्रहरू पनि राखिएको छ ।
मेलामा औषधिजन्य जडीबुटीको व्यावसायिक खेती, वैज्ञानिक पद्धतिबाट सङ्कलन, दिगो संरक्षणमा प्रयास एवम् किसानबाट उत्पादनकर्तासम्म स्थिति, सम्भाव्यता र चुनौतीका बारेमा पनि छलफल हुने छ । मेलाबाट औषधिको प्रयोग भए पनि लोपोन्मुख रहेका जडीबुटीको संरक्षण गर्न सहयोग मिल्ने छ ।
चिकित्सालयका प्रमुख डा नेपालले नेपालमा करिब पाँच हजार छ सय जडीबुटीबाट औषधी उत्पादन हुने गरेका अध्ययनले देखाएको बताउनुभयो । (रासस)