खिमराज चालिसे, चन्डिगढ ।
रोल्पा निवासी ४३ वर्षीय कालु ओलीको भारत पन्जाब प्रदेशको बल्टाना गाउँमा हत्या हुँदा उनका परिवारले त्यसको आरोप निजकै भाइप्रति लगाएका छन् ।
रोल्पा जिल्लाको त्रिवेणी गाउँपालिका वडा नं. ३ रातामाटा स्थायी घर भई हाल भारतको चन्डिगढ मनिमाजरामा परिवारसहित बस्दै आइरहेका कालुको हत्या भएको हो ।
कालु र निजका छोरा प्रेम ओली जुन १७, २०२४ को साझ गिरीराज ओली र पवन ओलीको घर बल्टानामा गएका थिएँ । बल्टानामा घरेलु विवादले विकराल रूप लिँदा घरेलु हतियारको प्रयोग गरी पवन र गिरीराजले दुबै बाबुछोरामाथि निर्घात प्रहार भएको मृतकका छोरा प्रेमले बताए ।
उक्त प्रहारबाट बाच्न आफू पनि भाग्ने क्रममा गम्भीर घाइते भएको र बाबु कालु भने बेहोस भएको बताउने छोरा प्रेमका अनुसार कालुलाई अस्पतालमा पुर्याएपछि उपचारको दौरानमा मृत्यु भएको थियो ।
पन्जाब प्रहरीले परिवारको दबाबपछि जुन २० का दिन आरोपीहरूमाथि हत्याको मामिला दर्ता गरी फरार दुवै जनाको खोजी गरिरहेको छ ।
मृतकको शव पोस्टमार्टमपछि परिवारलाई हस्तान्तरण गरिएको छ । परिवारले शवलाई नेपाल लिएर गएको समाजसेवी राजेश सोनीले बताएका छन् ।