काठमाडौं । कतारका विभिन्न जेलमा रहेका १७ जना नेपालीहरुले आममाफी पाएका छन् । कतारका राजा अमिम मौसुफ शेख तमिम विन हमाद अल थानीले कोरोना संक्रमणको महामारीलाई ध्यान दिँदै मानवीयताका आधारमा नेपालीहरुलाई आममाफी दिएको दोहास्थित नेपाली दूतावासले जनाएको छ ।
दूतावासका अनुसार कोरोना भाइरसको महामारी फैलिएकाले कैदीहरुको स्वास्थ्य र मानवीय अवस्थालाई ध्यानमा राखेर कतारका राजाले ति कैदीहरुलाई आममाफी दिने निर्णय गरेका हुन् ।
माफी पाउनेमा १३ जना लागू औषध कोरोबार, २ जना चोरी, १ जना मादक पदार्थ कारोबार र अर्का १ जना ठगीको कसुरमा सजाय भुक्तान गरिरहेकाहरु छन् ।

अब कतारको विभिन्न जेलमा रहेका ति १७ जना नेपाली नागरिकहरु रिहा हुनेछन् । यसै सन्दर्भमा प्रधानमन्त्री केपी शर्मा ओलीले कतारका प्रधानमन्त्रीलाई धन्यवाद दिनुभएको छ ।
प्रधानमन्त्री ओलीले बिहीबार ट्विट गर्दै विभिन्न आरोपमा त्यहाँको जेलमा रहेका नेपालीलाई रिहा गरेकोमा कतारका प्रधानमन्त्रीलाई फोन गरेर धन्यवाद दिएको बताउनुभएको छ ।
आज साँझ मैले कतरका प्रधानमन्त्रीसँग फोन संवाद गरें। मैले त्यहाँ रहेका नेपालीको सुरक्षा र कल्याणका बारेमा चासो राखें।कतारका प्रधानमन्त्रीले त्यहाँ रहेका नेपालीको बारेमा चिन्ता नलिन आग्रह गर्नुभयो। मैले विभिन्न आरोपमा गिरफ्तार १७ नेपालीको रिहाईप्रति खुशी व्यक्त गर्दै धन्यवाद दिएँ ।
— K P Sharma Oli (@kpsharmaoli) April 23, 2020