खिमराज चालिसे, चन्डिगढ ।
भारतको हिमाचलबाट मे २३, २०२४ का दिन नेपाल जाने क्रममा चन्डिगढमा लुटिएर अलपत्र हुन पुगेका दाङ जिल्ला शान्तिनगर गाउँपालिका वडा नं. ३ का रामकुमार कँडेलको मूल प्रवाह अखिल भारत नेपाली एकता समाज चन्डिगढले उद्धार गरेको छ ।
मे २७ का निज कँडेललाई उद्धार गरी नेपालमा रहनुभएकी उनकी छोरी विष्णु कँडेलसँग सम्पर्क गरी चन्डिगढस्थित सगरमाथा टुर एन्ड ट्राभल्स कम्पनीको सहयोगमा नेपाल पठाएको हो ।
सुरुमा चन्डिगढको सेक्टर ३४ मा दीपक बोहराले राम कुमारलाई अलपत्र अवस्थामा फेला पारेका थिए । निजसँग मूल प्रवाहका केन्द्रीय सदस्य खिमराज चालिसेले सोधपुछ गर्दा उनी लुटिएको थाहा लागेको थियो ।
पीडित कँडेल हिमाचलबाट नेपाल जाँदै गर्दा चन्डिगढमा अपरिचित नेपालीभाषी दुई जनाले बसपार्कमा खाना खुवाएपछि केही थाहा नभएको बताउँछन् । उनले आफूसँग भएको नगद चार हजार नेरु लत्ताकपडासहितको झोला लुटिएको बताए ।