काठमाडौं । कोरोना संक्रमित बागलुङकी ६५ वर्षीया महिलाले अन्ततः कोरोना भाइरससँग विजय हासिल गरेकी छन् । धौलागिरी अस्पतालमा उपचाररत ति महिलाको तेस्रो परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ ।
यसअघि दुई वटा परीक्षण रिपोर्ट पोजिटिभ आएकी ती महिलाको बिहीबार गरिएको तेस्रो परीक्षणको रिपोर्ट नेगेटिभ आएको हो । अब शुक्रबार हुने अर्को परीक्षण पनि नेगेटिभ आए उनलाई अस्पतालले डिस्चार्ज गर्नेछ ।
धौलागिरी अञ्चल अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा. शैलेन्द्र बी पोखरेलले महिलाको तेस्रो रिपोर्ट नेगेटिभ आएको स्पष्ट पार्दै २४ घण्टापछि गरिने अर्को परीक्षणको रिपोर्ट पनि नेगेटिभ आए ती महिला लाई डिस्चार्ज गरिने जानकारी दिनुभयो ।
ती महिला चैत १९ गते धौलागिरी अस्पतालको आइसोलेसनमा भर्ना भएकी थिइन् । कतार एयरवेजको विमानमा उनी गत चैत ४ गते नेपाल आएकी थिइन् ।उनको अवस्था अहिले सामान्य रहेको चिकिस्सकहरुले बताएका छन् ।
उनीसँगै धौलागिरी अस्पतालमा उपचाररत अर्की १९ वर्षीया युवतीको तेस्रो रिपोर्ट पनि पोजिटिभ आएको छ । कोरोना संक्रमण देखिएपछि ती युवती गत चैत १५ गतेदेखि धौलागिरी अस्पतालको आइसोलेसनमा उपचाररत छिन्।