काठमाडौँ । विश्व परिस्थितिको बोरमा एमएलपिडी र नेपाली कम्युनिस्ट पार्टीका प्रतिनिधिमाझ छलफल सम्पन्न भएको छ ।
नेकपा (मसाल), क्रान्तिकारी कम्युनिस्ट पार्टी र माक्र्सवादी–लेनिनवादी पार्टी अफ डच (एमएलपिडी) का प्रतिनिधिमाझ २०८० फागुन २८ गते तदनुसार मार्च ११, २०२४ साोबार साँझ राष्ट्रिय जनमोर्चाको केन्द्रीय कार्यालय भवन कपनमा उक्त छलफल सम्पन्न भएको हो ।
छलफलमा नेकपा (मसाल) का तर्फबाट महामन्त्री मोहनविक्रम सिंह, राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा प्रतिनिधि सभाका सांसद चित्रबहादुर केसी, राजमो केन्द्रीय सल्लाहकार तथा राष्ट्रियसभाका सांसद राजेश विश्वकर्मा, वामपन्थी नेता आनन्द शर्मा, अखिल नेपाल महिला महिला सङ्घकी अध्यक्ष मीना पुनलगायतका नेता र कार्यकर्ताहरूको उपस्थिति रहेको थियो ।
क्रान्तिकारी कम्युनिस्ट पार्टीको तर्फबाट पोलिटब्युरो सदस्यहरू सी.पी. गजुरेल, परि थापा, धर्मेन्द्र बास्तोलालगायतको उपस्थिति थियो ।
त्यस्तै, कार्यक्रममा जर्मनीबाट एमएलपिडीका अध्यक्ष गावी, अन्तर्राष्ट्रिय प्रतिनिधि जोन, रिबेलका अध्यक्ष आना र एमएलपिडीका प्रतिनिधि हेल्गाको उपस्थिति रहेको थियो ।
मसालका महामन्त्री सिंहले संयोजन गर्नुभएको उक्त कार्यक्रममा एमएलपिडीका अध्यक्ष गावी, क्रान्तिकारी कम्युनिस्ट पार्टीका पिबिएम गजुरेल र राजमो अध्यक्ष तथा सांसद केसीले समसामयिक विषयमा मन्तव्य राख्नुभएको थियो ।
जर्मनबाट आउनुभएका अतिथिहरूले कार्यक्रममा फासिवाद विरोधी गीत गाउनुभएको थियो ।
कार्यक्रममा जर्मन भाषाबाट अङ्ग्रेजीमा एमएलपिडीका अन्तर्राष्ट्रिय प्रतिनिधि जोनले र अङ्ग्रेजीबाट नेपालीमा भाषान्तर अखिल नेपाल बुद्धिजीवी सङ्घका अध्यक्ष प्राडा श्रीधर गौतमले गर्नुभएको थियो ।
कार्यक्रममा प्रकाश थापामगर र समीर सिंहले पूरक जिज्ञासा राख्नुभएको थियो ।

साम्राज्यवाद, फासिवाद र ग्लोबल वार्मिङ तीन खतरा : गाबी
कार्यक्रममा मन्तव्य राख्दै गाबीले साम्राज्यवाद, फासिवाद र ग्लोबल वार्मिङ वर्तमान विश्वको तीन प्रमुख खतरा रहेको बताउनुभयो । उहाँले यी तीनओटा विषयले वर्तमान विश्वलाई तेस्रो विश्वयुद्धतर्फ लगिरहेको धारणा उहाँले राख्नुभयो ।
साम्राज्यवाद भनेकै युद्ध भएको बताउँदै उहाँले जबसम्म साम्राज्यवाद रहन्छ, तबसम्म युद्ध रहिरहने दाबी गर्नुभयो । उहाँले साम्राज्यवादले विश्वभरि युद्ध सञ्चालन गरिरहेको बताउँदै त्यसको पछिल्लो चरम रूप युक्रेन र प्यालेस्टाइनमा देखा परेको बताउनुभयो ।
युक्रेन र प्यालेस्टाइनको सन्दर्भमा मूलत: साम्राज्यवादी शक्तिहरू जिम्मेवार रहेको बताउँदै उहाँले यी दुई युद्धका बेग्लाबेग्लै विश्लेषण गर्नुभयो र युद्धको विकल्पको बारेमा पनि धारणा राख्नुभयो ।
युक्रेन–रुस युद्धको सन्दर्भमा उहाँले त्यहाँ मुख्यत: एकातिर युक्रेन, अमेरिका र युरोपियन शक्तिहरू रहेको तथा अर्कातिर रुस रहेको उल्लेख गर्नुभयो । सामान्यत: रुसलाई घेराबन्दीमा पार्ने अमेरिकी साम्राज्यवादी नीतिका कारण रुस–युक्रेन युद्ध चलिरहेको उल्लेख गर्दै उहाँले अमेरिकी साम्राज्यवादले चाहेसम्म त्यो युद्ध नरोकिने सम्भावना व्यक्त गर्नुभयो ।
यस प्रसङ्गमा उहाँले रुसको भूमिकाको पनि विरोध गर्नुभयो । रुस कम्युनिस्ट विरोधी शक्ति भएको बताउँदै उहाँले आफ्नो साम्राज्यवादी स्वार्थ पूरा गर्न उसले दोस्रो विश्वयुद्ध, लेनिन र स्टालिनको नाम दुरुपयोग गर्ने प्रयास गरिरहेको तर्क राख्नुभयो । उहाँको भनाइ थियो– भ्लादिमिर पुतिनले यसरी इतिहाससित यो युद्धलाई जोड्नु गलत हुन्छ । अहिलेको युद्ध कुनै पनि अर्थमा इतिहाससित मेल खाँदैन ।
रुस–युक्रेन युद्धको सन्दर्भमा केही सकारात्मक तथ्य देखा परेको उहाँले चर्चा गर्नुभयो । उहाँले भन्नुभयो– त्यहाँका जनता युद्धको विरोधमा छन् । उनीहरूले आफ्ना छोराछोरीलाई युद्धमा नजान अपिल गरिरहेका छन् । उहाँले यस प्रसङ्गमा अझै थप्नुभयो– सञ्चारमाध्यममा आएअनुसार रुस र युक्रेनले भाडाका सैनिक ल्याएर युद्ध लडिरहेका छन् । यसबाट पनि थाहा हुन्छ, रुस र युक्रेनका जनता साम्राज्यवादी युद्धको विरोधमा छन् । उनीहरूले दुवै देशमा युद्धको विरोधमा लगातार प्रदर्शन पनि गरिरहेका छन् ।
इजरायल–प्यालेस्टाइन युद्धको सन्दर्भमा उहाँले एमएलपिडी र आइकोर (क्रान्तिकारी पार्टी तथा सङ्गठनहरूको अन्तर्राष्ट्रिय संयोजन) प्यालेस्टाइनी जनताको पक्षमा रहेको उल्लेख गर्नुभयो ।
एमएलपिडी र आइकोर प्यालेस्टाइनी जनताको मुक्तिआन्दोलनको पक्षमा रहेको उल्लेख गर्दै उहाँले अगाडि भन्नुभयो– हामीले केही रकम नै त्यहाँको जनताका लागि राहतस्वरूप पठाएको छौँ । उक्त युद्धको विरोध गर्दै प्यालेस्टाइनी जनताको समर्थन गर्न जर्मनमा जनप्रदर्शन पनि गरेका थियौँ ।
उहाँले हमासले प्यालेस्टाइनी मुक्ति आन्दोलनलाई धार्मिक रूप दिन खोजेको बताउनुभयो । उहाँको तर्क थियो– तर प्यालेस्टाइनी जनता मुक्तिको पक्षमा छन् र उनीहरूले त्यसको पक्षमा आन्दोलन चलाइरहेका छन् । हामी उक्त आन्दोलनलाई दृढतापूर्वक समर्थन गर्दछौँ ।
यस सन्दर्भमा उहाँको सारभूत धारणा थियो– साम्राज्यवादी युद्धको विकल्प समाजवाद हो । माक्र्सवाद–लेनिनवादी क्रान्तिकारी सिद्धान्त र समाजवादी व्यवस्थालले नै साम्राज्यवादी युद्धको अन्त गर्न सक्दछ । विश्वभरिका कम्युनिस्टहरू यही सिद्धान्तको आधारमा अगाडि बढ्नुपर्दछ ।
यी दुई युद्धको प्रसङ्गमा उहाँले विश्वमा नयाँ साम्राज्यवादी देशको उदय भएको आइकोरको विश्लेषण सही सावित भएको बताउनुभयो । त्यस सन्दर्भमा चीनलाई उहाँले अमेरिका जस्तै सुपरपावर बन्ने प्रयासमा रहेको बताउनुभयो ।
परम्परागत शक्तिसम्बन्धको आधारमा अमेरिकी साम्राज्यवाद बलियो भए पनि आर्थिक रूपमा चीन अगाडि रहेको उहाँको भनाइ थियो । उहाँका अनुसार विश्वका नयाँ साम्राज्यवादीमध्ये धेरैले अमेरिकालाई साथ दिए पनि आर्थिक रूपमा बलियो चीन नै छ । अहिलेको विश्वमा अमेरिकाको वैकल्पिक शक्तिको रूपमा चिनियाँ साम्राज्यवाद आइरहेको छ ।
सम्बोधनको क्रममा उहाँले नयाँ साम्राज्यवादी शक्तिहरूका कारणले पनि यी दुई युद्ध लम्बिरहेको बताउनुभयो । रुस–युक्रेन युद्धमा युरोपियन युनियनभित्रका साम्राज्यवादी देशले अमेरिका र नाटोलाई साथ दिएका कारण तथा प्यालेस्टाइन युद्ध अमेरिकी साम्राज्यवादको आशिर्वादमा इजरायली साम्राज्यवादका कारण लडिएको उहाँको भनाइ थियो । पछिल्लो समयमा चीनसँगै जर्मनी, जापान जस्ता देशहरूले साम्राज्यवादी भूमिका खेलिरहेको बताउनुभयो ।
मन्तव्यको क्रममा उहाँले फासिवाद अहिलेको विश्वको महत्त्वपूर्ण समस्या रहेको बताउनुभयो । त्यस सन्दर्भमा उहाँले तीनओटा धर्मको आडमा बेग्लाबेग्लै फासिवादको अभ्यासको प्रयास भइरहेको सन्दर्भ जोड्नुभयो ।
इसाई धर्मलाई आधार बनाएर स्वयम् अमेरिकाले नै एक प्रकारको फासिवादको अभ्यास गरिरहेको उहाँको भनाइ थियो । अमेरिकाभित्रै यस खालको धारणाले चलखेल गरिरहेको बताउँदै उहाँले विश्वभरिका इसाई धर्म मान्ने शासकहरूले आफूलाई फासिवादको रूपमा उभ्याउने प्रयास गरिरहेको उल्लेख गर्नुभयो । इसाई धर्ममाथि आधारिक फासिवाद अहिले सबैभन्दा गम्भीर रूपमा देखा परेको उहाँको भनाइ थियो ।
त्यस्तै, उहाँले मुस्लिम धर्मलाई आधार बनाएर अरब मुलुकमा फासिवादको अभ्यास भइरहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो– मध्यपूर्व र अरबी मुलुकहरूमा मुस्लिम धर्मको आवरणमा इसाई फासिवादको अभ्यास भइरहेको छ । इराक, इरान, अफगानिस्तान आदि देशमा मुस्लिम फासिवादी प्रवृत्ति सतहमा आइरहेका छन् । उहाँले पछिल्लो समयमा दोस्रो खतराको रूपमा मुस्लिम धर्ममाथि आधारित फासिवाद अगाडि बढिरहेको बताउनुभयो ।
एमएलपिडीको नेता गावीले हिन्दु फासिवादको अभ्यास पनि अहिले विश्वमा भइरहेको उल्लेख गर्नुभयो । त्यस सन्दर्भमा उहाँले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले हिन्दु फासिवादको अभ्यास गरिरहेको उल्लेख गर्नुभयो । उहाँले आकार वा आयतनका हिसाबले हिन्दु फासिवाद सानो भए पनि दक्षिण एसियामा यसले गम्भीर खतरा उत्पन्न गरेको बताउनुभयो । उहाँले नेपाल जस्ता देशले हिन्दु फासिवादको खतरा गम्भीर प्रकारले व्यहोरिरहेको धारणा व्यक्त गर्नुभयो ।
सम्बोधनको क्रममा उहाँले ग्लोबल वार्मिङको खतराबारे पनि आफ्ना धारणा राख्नुभयो । मूलत: साम्राज्यवादीहरूको आर्थिक स्वार्थका कारण ग्लोबल वार्मिङ बढिरहेको उहाँको भनाइ थियो । आइकोरले पर्यावरणीय विनाशको पक्षमा लगातार आवाज उठाइरहेको सन्दर्भ उहाँले यस सन्दर्भमा जोड्नुभयो । साम्राज्यवादको एउटा सामान्य विशेषता पर्यावरणको विनाश भएको बताउँदै उहाँले त्यसका विरुद्ध विश्वभरिका जनता एकजुट हुनुपर्ने आवश्यकता औल्याउनुभयो ।
साम्राज्यवादको अन्त नभए मानव समुदाय सकिन्छ : केसी
कार्यक्रममा सङ्क्षिप्त मन्तव्य राख्दै राजमो अध्यक्ष तथा सांसद केसीले साम्राज्यवादको अन्त नभएर मानव समुदाय नै समाप्त हुने धारणा राख्नुभयो । उहाँले भन्नुभयो– ‘साम्राज्यवादको अन्त हुनुपर्दछ नत्र मानव समुदाय नै ध्वस्त हुन्छ ।’
उहाँले अब हुने युद्ध अहिलेसम्मकै भयानक हुने बताउनुभयो । अबको युद्धमा आणविक हतियार प्रयोग हुने सन्दर्भ जोड्दै उहाँले यस्तो विश्लेषण गर्नुभएको हो ।
‘अब हुने विश्वयुद्धले विश्वकै मानव समुदायको अन्त्य हुने छ’ उहाँले भन्नुभयो– ‘अबको युद्धमा साम्राज्यवादीहरूले आणविक हतियार प्रयोग गर्ने छन् । त्यसले गर्दा कुनै एक ठाउँका जनता मात्रै होइन, विश्वभरिका मानव समुदायको अस्तित्व खतरामा पर्ने छ ।’ यस सन्दर्भमा उहाँले रुसले विश्वयुद्ध भएमा आफूसँग भएको आणविक हतियार प्रयोग गर्ने धम्कीबारे आफ्नो मन्तव्यमा चर्चा गर्नुभयो ।
अध्यक्ष केसीले नेपालमा अमेरिकी साम्राज्यवाद र चिनियाँ साम्राज्यवादको गम्भीर खतरा रहेको उल्लेख गर्नुभयो । यी दुवै देशले नेपाललाई आफ्नो साम्राज्यवादी स्वार्थका लागि प्रयोग गर्ने प्रयास गरिरहेको सन्दर्भ उहाँले उल्लेख गर्नुभयो । हालसम्म परोक्ष प्रकारले नेपालमाथि हस्तक्षेप गर्दै आइरहेको उल्लेख गर्दै उहाँले अब अमेरिकी साम्राज्यवादले प्रत्यक्ष रूपमा नै हस्तक्षेप गर्दै आएको बताउनुभयो ।
अहिले विश्वभरिका कम्युनिस्टको नाममा गैरकम्युनिस्ट शक्तिको बोलवाला भएको बताउँदै उहाँले त्यसले गर्दा पनि विश्व कम्युनिस्ट आन्दोलन प्रतिकूल अवस्थामा पुगेको बताउनुभयो । उहाँले कम्युनिस्टहरूले अहिलेको प्रतिकूल परिस्थितिलाई अनुकूलतामा र्फर्न प्रयास गर्नुपर्ने आवश्यकतामा जोड दिनुभयो । त्यसका लागि विश्वभरिका क्रान्तिकारी कम्युनिस्ट र आइकोरले ध्यान दिनुपर्नेमा उहाँले जोड दिनुभयो ।
तीन प्रमुख खतरा भएको सत्य हो : गजुरेल
कार्यक्रममा आफ्नो पार्टीको तर्फबाट मन्तव्य राख्दै क्रान्तिकारी कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्य सी.पी. गजुरेलले आइकोर र एमएलपिडीले वर्तमान विश्व सन्दर्भका तीन खतरासम्बन्धी धारणालाई आफ्नो पार्टीले सत्य ठानेको परिभाषा राख्नुभयो । त्यस क्रममा उहाँले साम्राज्यवादको बारेमा आइकोरले दिएको परिभाषाप्रति पनि आफ्नो सहमति रहेको उल्लेख गर्नुभयो ।
सम्बोधनको क्रममा उहाँले तत्कालै विश्वयुद्ध हुने/नहुनेबारे आशङ्का प्रकट गर्नुभयो । ‘दुई वर्ष बितिसक्दा पनि अझैसम्म विश्वयुद्ध भएको छैन’ उहाँले भन्नुभयो– ‘तर युद्धको आशङ्का अझै पनि छ ।’
नेता गजुरेलले माओत्सेतुङलाई उद्धृत गर्दै युद्ध भएमा स्वयम् साम्राज्यवादको अन्त हुने र विश्व समाजवादी क्रान्ति हुने बताउनुभयो । ‘माओले भने झैँ सकेसम्म सर्वहारा वर्गको क्रान्तिले साम्राज्यवादी युद्ध रोक्ने छ’ उहाँले अगाडि भन्नुभयो– ‘यदि त्यस्तो भएन भने र युद्ध नै भयो भने झन् नयाँ नयाँ देशमा सर्वहारा क्रान्ति हुने छ । यसरी घाटा साम्राज्यवादलाई नै हुने छ ।’
मुख्य कुरा क्रान्ति भएको उल्लेख गर्दै उहाँले सकेसम्म साम्राज्यवादी क्रान्ति रोक्न प्रयास गरिने, त्यस्तो गर्नु सम्भव नभए यो युद्धलाई सर्वहारा क्रान्तिको पक्षमा उपयोग गर्नुपर्ने धारणा राख्नुभयो । उहाँले भन्नुभयो– ‘सर्वहारा वर्गले क्रान्तिको तयारी गर्नुपर्छ । मुख्य कुरा क्रान्ति हो ।’
उहाँले आइकोर सही समयमा गठन भएको बताउँदै त्यसले गठन गरेको साम्राज्यवादी युद्धविरोधी मोर्चाको यतिखेर गम्भीर र महत्त्व रहेको बताउनुभयो । आफूहरूको पार्टी साम्राज्यवादको युद्ध विरोधी भूमिकालाई लगातार अगाडि बढाउने पक्षमा रहेको पनि प्रष्ट पार्नुभयो ।