काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले ‘लकडाउन’ का कारण अलपत्र परेका नागरिकलाई शुक्रबार र शनिबार काठमाडौँ उपत्यकाबाट बाहिर जान दिइने सम्बन्धमा कुनै निर्णय नभएको बताउनुभएको छ ।
सो सम्बन्धमा निर्णय भएको भनी विभिन्न सञ्चारमाध्यममा समाचार प्रकाशित भएपछि मन्त्री नेम्वाङले यस विषयमा निर्णय नभएको प्रष्ट पार्नुभएको हो । ‘लकडाउन’ को समयमा जनताले दुःख पाइरहेकाले यस किसिमको सुझाव आउनु स्वभाविक भएको उहाँले बताउनुभयो ।
आफूले पनि सञ्चारमाध्यमबाट सयौँ किलोमिटर हिँडेरै घर जान लागेको जानकारी पाइरहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘आगामी वैशाख ३ गतेसम्म लकडाउन भएकाले त्यसपछिको अवस्था हेरेर थप निर्णय हुनेछ ।’
कोरोना नियन्त्रण सम्बन्धी उच्चस्तरीय समितिले शुक्रबार र शनिबार दुई दिन उपत्यकाबाट बाहिर जान गरेको निर्णयको विभिन्न क्षेत्रबाट आलोचना भएपछि सरकार आफ्नो निर्णयबाट तत्काल पछि हटेको हो ।

