मोहनविक्रम सिंह ##
अहिले म केही व्यस्त भएको हुनाले सङ्क्षिप्त संस्मरणहरू पहिले जस्तो नियमित रूपले पठाउन सकिरहेको छैनँ । प्रथमत: म हाम्रो पार्टीको नवौँ महाधिवेशनसम्बन्धी दस्तावेज तथा लेनिन स्मृतिदिवससम्बन्धी पुस्तकको तयारीको काममा केही लाग्नुपर्यो । त्योबाहेक ‘कामरेड जलजला’ को प्रकाशनलाई अन्तिम रूप दिने काममा पनि केही व्यस्त हुनुपरेको छ । त्यसकारण मैले संस्मरणसम्बन्धी सामग्री नियमित रूपले पठाउन सकिरहेको छैन तैपनि केही फुर्सद भएको बेलामा केही न केही सामग्री पठाउने प्रयत्न गर्ने छु । आजको यो संस्मरण पनि मेरो उपन्याससित नै सम्बन्धित छ ।
उपन्यास लेखनको मेरो लामो र दु:खद कथा छ । संसारका अन्य कुनै लेखकको उपन्यासको लेखनको क्षेत्रमा यति लामो र क्रमबद्ध दु:खद कथा छ कि छैन ? मलाई त्यसबारे केही थाहा छैन । मलाई थाहा भएसम्म अरू कसैको त्यस प्रकारको कथा छ जस्तो लाग्दैन । नेपालमा पनि अरू कसैको यस्तो कथा नभएको कुरा करिब करिब निश्चित नै छ जस्तो लाग्दछ ।
मेरो उपन्याससम्बन्धी लेखनको दुखद पक्ष यो हो कि अहिलेको ‘कामरेड जलजला’ उपन्यास लेख्नुभन्दा पहिले मैले पाँचओटा उपन्यास र सयकडौँ कथा लेखेको छु । ती कथाको ठिक सङ्ख्या मलाई सम्झना छैन तर मैले पहिले लेखेका पाँचओटै उपन्यास हराए वा नष्ट भए र त्यसरी तीमध्ये कुनै पनि प्रकाशित हुन पाएनन् । कथा पनि दुईओटालाई छाडेर सबै हराए वा नष्ट भए ।
मेरो कथा वा उपन्यासको दुखद कथा २००९ सालबाट सुरु हुन्छ । त्यो बेला मैले कक्षा ९ मा पढ्दै थिएँ । त्यो बेला झापामा आयोजित एउटा राष्ट्रिय कथा प्रतियोगितामा मैले एउटा कथा पठाएको थिएँ । पछि समाचारपत्रमा त्यो कथा प्रथम स्थानमा पुरस्कृत भएको समाचार पनि पढेको थिएँ तर त्यसबारे पछि मलाई कुनै जवाफ प्राप्त भएन । कैयौँ दसकपछि त्यो कथाबारे पत्ता लगाउन म झापामा पनि गएको थिएँ र कतिपय साहित्यिक संस्थासित सम्पर्क पनि गरेको थिए तर त्यसबारे कुनै पत्ता लाग्न सकेन । दु:खको कुरा यो हो कि मसँग त्यसको प्रतिलिपि पनि छैन (नोट : हालसालै प्रकाशित एउटा अनलाइनले त्यो कथा प्रकाशित भएको भनेर पनि लेखेको थियो तर त्यो कहिल्यै कुनै पत्रिकामा प्रकाशित पनि भएको थिएन) ।
२०१३ सालमा अर्थात, करिब ६७ वर्षपहिले पाल्पा जेलमा बस्दा मैले दुईओटा उपन्यासहरू ‘बुढा बा’ र ‘झिलिमिली’ लेखेको थिएँ ।
पहिलो उपन्यास किसान आन्दोलनसित सम्बन्धित थियो भने दोस्रो उपन्यास सामान्य प्रकारको थियो । हामीलाई पाल्पा जेलबाट प्युठान जेलमा र त्यहाँबाट सल्यान जेलमा सरुवा गर्ने ठेगान भयो । त्यो अवस्थामा विभिन्न जेल र पुलिसका बिचबाट हुँदै जाँदा ती रचना हराउने वा जफत् हुने आशङ्काले मैले तानसेनको एक जना प्युठानका व्यापारी मित्रलाई ती सबै राख्न दिएँ तर उनले पार्टीका मान्छेका कागज राख्दा आपत्ति हुन सक्छ भन्ने डरले सबै नष्ट गरिदिएछन् । त्यो बेला मैले साथै लगेका दुईओटा कथा मात्र बचे – ‘त्यो’ र ‘बालैमा दिनमा लाएको माया’ । तिनीहरूमध्ये पहिलो कथा केही दसक पहिले रक्तिम सांस्कृतिक अभियानको तर्फबाट प्रकाशित हुने ‘रातो लालटिन’ मा प्रकाशित भएको थियो र त्यो बेलाका मेरा साहित्यिक रचनाको त्यो एउटा मात्र सुरक्षित र प्रतिनिधि रचना हो । दोस्रो मसितै थियो तर पछि त्यो कतै भेटिएन । सम्भवत: मेरा कागजमा त्यो अहिले पनि त्यो कतै लुकेर बसेको हुन सक्दछ ।
२०१८ सालमा गिरफ्तार भएर तौलिहवाको जेलमा बस्दा मैले एउटा उपन्यास लेखेको थिएँ । त्यो बेला जेलमा कुनै पुस्तक–पत्रिका ल्याउन दिइदैनथ्यो । त्यसकारण त्यहाँ बसेको करिब चार वर्षको मैले पूरै समय एउटा उपन्यास लेख्नमा नै बिताएँ ।
त्यो उपन्यासको विषयवस्तु खालि ओखरकोट गाउँको क्षेत्रभित्र मात्र सीमित थियो र मैले त्यसको शीर्षक ‘ओखरकोट’ राख्ने विचार गर्दै थिए । त्यसका दुई/तीनओटा खेस्रा पनि थिए । मलाई त्यहाँबाट भैरहवा जेलमा चलान गर्दा बाटामा चेकिङ भएर जफत् हुने डरले मैले त्यहाँका पार्टीका एक जना साथी का. टेकबहादुर पन्थीलाई त्यो उपन्याससहित जेलमा लेखेका सबै सामग्री राख्न दिएँ । म जेलबाट छुटेर आउँदा उहाँको मृत्यु भइसकेको थियो । जेलबाट छुटेपछि मैले ती सामग्री पत्ता लगाउन धेरै कोसिस गरे ।
पछि उहाँकी पत्नी भैरहवामा बस्नुहुन्थ्यो । का. बद्रे आलमलाई पठाए र उहाँलाई पनि सोध्न पठाएँ तर मैले राख्न दिएका कुनै पनि कागजपत्र फेला परेनन् ।
कुनै कुनै बेला मेरो मनमा लाग्दछ, तौलिहवामा कतै मेरो त्यो उपन्यास भेटिन्छ कि तर सायद त्यो मेरो आशा मात्र हो र अब त्यसको कुनै सम्भावना छैन ।
त्यो बेला जेलमा लेखेको एउटा पुस्तकको पाण्डुलिपि ‘विश्व कम्युनिस्ट आन्दोलनको सङ्क्षिप्त इतिहास’ मैले सँगै लगेको थिएँ । त्यो मात्र सुरक्षित रह्यो र पछि पुस्तकको रूपमा प्रकाशित पनि भयो ।
पछि मलाई भैरहवा जेलबाट काठमाडौँ जेलमा चलान गरियो र सेन्ट्रल जेलमा राखियो । हामीले त्यो बेला त्यो जेलमा भएका अनियमितताका विरुद्ध सङ्घर्ष गरेका थियौँ । त्यस सिलसिलामा हामीले जेलको ढोका पनि बन्द गरेका थियौँ । पछि एक हजारभन्दा बढी पुलिस आएर जेलमा दमन गरियो र मलाई हनुमानढोका थानामा लगेर राखियो । त्यहाँ मलाई करिब एक वर्ष राखिएको थियो । त्यो बेला पनि मैले एउटा उपन्यास लेखेको थिएँ । त्यसको शीर्षक राख्न बाँकी नै थियो । जेलबाट छुट्दासम्म पनि त्यो उपन्यासको खेस्रा मसित नै थियो तर पछि त्यसको पाण्डुलिपि कहाँ हरायो ? मलाई थाहा हुन सकेन ।
बनारसमा बसेको बेलामा मैले एउटा सानो उपन्यास लेखेको थिएँ, त्यसको शीर्षक थियो– ‘तारा’ । त्यसमा मैले खास गरेर बनारसको गङ्गा तथा प्युठानको झिमरुक क्षेत्रसँग सम्बन्धित कतिपय प्रसङ्ग चित्रण गरेको थिएँ । त्यो उपन्यास पछिसम्म नै मसित थियो तर काठमाडौँमा डेरा सर्दा त्यो उपन्यास कहाँ हरायो वा मेरा कागजमा अझै पनि त्यो सुरक्षित छ र कुनै बेला भेटिन्छ पनि कि ? मैले केही भन्न सक्दिनँ ।
कामरेड जलजलाको मृत्यु भएको करिब एक दसक पछि मैले ‘कामरेड जलजला’ उपन्यास लेख्न थालेँ, जो मेरो छैटौँ उपन्यास हो । यो उपन्यास लेख्नुका पछाडि पनि कैयौँ कारणले काम गरेका छन् ।
प्रथमत: विद्यार्थी कालमा पढ्ने बेलादेखि नै मेरो इतिहासप्रति धेरै रुचि थियो र मैले भविष्यमा इतिहासकार बन्ने कल्पना गर्दथेँ । मेरो त्यो इच्छा अधुरो नै रह्यो । त्यो इच्छालाई पनि मैले ‘कामरेड जलजला’ उपन्यासमा पूरा गर्ने प्रयत्न गरेको छु । त्यो उपन्यासकी एउटी प्रमुख पात्र सुनन्दा इतिहासकी सोधछात्रा नै हुन । उनी कुमाउँको दारमाकी हुन् र उनले दिल्लीको जवाहरलाल नेहरू युनिभर्सिटीबाट इतिहासको विषयमा पिएचडी गर्दै थिइन् । उनको माध्यमद्वारा मैले इतिहासको अध्ययन–अनुसन्धानको विषयमा विशेष जोड दिने प्रयत्न गरेको छु ।
द्वितीय– तौलिहवा जेलमा लेखेको ‘ओखरकोट’ उपन्यास हराएकोमा मलाई जुन ठुलो दु:ख लागेको थियो, त्यो दु:खलाई पनि मैले अहिलेको उपन्यासको माध्यमद्वारा कम गर्ने प्रयत्न गरेको छु ।
तृतीय– कामरेड जलजलाको मृत्युबाट पनि मलाई जुन ठुलो दु:ख पुगेको थियो, त्यो दु:खलाई पनि यो उपन्यासद्वारा कम गर्ने प्रयत्न गरेको छु ।
चतुर्थ– पहिले मैले गढवाल, कुमाउँ र कर्नाली प्रदेशका पहाडी जिल्लालाई मिलाएर पिएचडी गर्ने विचार गरेको थिएँ र आगरा युनिभर्सिटीमा त्यो विषय दर्ता पनि गराएको थिएँ । त्यसका लागि मैले गढवाल–कुमाउका कैयौँ स्थानको भ्रमण गरेको थिए । अल्मोडा, नैनिताल, आगरा, दिल्ली, इलाहाबाद, लखनऊ र बनारसका कैयौँ पुस्तकालयमा गएर सामग्री पनि जुटाएको थिएँ तर पछि नेपालको राजनीतिक घटनाक्रम वा पार्टी र आन्दोलनका काममा बढी व्यस्त हुनु परेकाले मैले पिएचडी को सोधपत्र पूरा गर्न सकिनँ ।
पछि तिनै सामग्रीको आधार बनाएर मैले उपन्यास लेख्ने योजना बनाएँ । त्यसैको परिणाम हो कि उपन्यासमा कुमाउ र कर्नाली प्रदेशसम्बन्धी धेरै सामग्री समावेश भएका छन् ।
उपन्यासको पहिलो भाग त पूरै कुमाउँसित सम्बन्धित छ र उपन्यासकी एउटा प्रमुख पात्र सुनन्दालाई मैले कुमाऊबाट नै लिएको छु ।
सुरुमा मैले उपन्यासको मुख्य क्षेत्र कुमाउँ र कर्नाली प्रदेशका पहाडलाई नै बनाउने विचार गरेको थिएँ तर पछि त्यसको क्षेत्र विस्तार हुँदै गयो र त्यसको क्षेत्रमा नेपालको रामापिथेकसको इतिहास, ढुङ्गेयुगीन सभ्यता, लुम्बिनी र कपिलवस्तुको बौद्ध संस्कृति, मगर, थारू र खसजातिको प्रागइतिहास, कर्नाली प्रदेशका मष्टो र मतवाली क्षेत्री, काठमाडौँ उपत्यकाको अष्टमातृका, फ्रान्सको क्रान्ति, साहित्य र कलाको इतिहास, जर्मनीको फासिज्म र फासिज्म विरोधी क्रान्ति, स्टालिनग्राड र लेनिनग्राडका फासिज्म विरोधी विरतापूर्ण युद्ध, युनानको दर्शन र त्याग बलिदानको इतिहासदेखि लिएर संसारका सबै महाद्वीप, महासागर तथा सुदूर अन्तरिक्षसमेतलाई समावेश गर्दै गएँ । त्यो उपन्यास कुनै राष्ट्रको सीमामा सीमित रहेको छैन र पूरै उपन्यासमा सर्वहारा अन्तर्राष्ट्रवाद र विश्वबन्धुत्वको भाव प्रकट हुन गएको छ ।
उपन्यास लेख्ने सिलसिलामा मैले कुमाउँ, केरला, फ्रान्स, जर्मनी, रुस, युनानको विस्तृत भ्रमण गर्नुपर्यो । उपन्यासका कतिपय पात्रले अन्तरिक्षको पनि विस्तृत भ्रमण गरेको कुराको वर्णन गरिएको छ । निश्चय नै त्यस सिलसिलामा मैले माथि उल्लेख गरिएका सबै क्षेत्रसित सम्बन्धित साहित्यको पनि विस्तृत र गहन अध्ययन गर्नुपरेको थियो ।
अन्तमा, उपन्यास एउटा प्रेमको कथा हो तर त्योभन्दा बढी त्यो विश्व र जीवनको पनि दर्शन हो । उपन्यासलाई पूरै पढेर गएपछि यो प्रष्ट हुने छ कि त्यसमा प्रेमको पक्ष अत्यन्त कम छ वा अदृश्य रूपमा प्रकट भएको छ र त्यो उपन्यासमा मैले मुख्य रूपमा विश्व र जीवनप्रतिको माक्र्सवादी विश्वदृष्टिकोणलाई नै व्यक्त गर्ने बढी प्रयत्न गरेको छु । त्यस सिलसिलामा आज समाजमा विद्यमान सामन्ती, पँुजीवादी र व्यक्तिवादी दृष्टिकोणको ठाउँमा एउटा उच्च स्तरको मानवीय र समाजवादी दृष्टिकोणलाई प्रतिस्थापित गर्ने प्रयत्न गरिएको छ । उपन्यासको सम्पूर्ण कथावस्तु र त्यसका पात्रको चरित्र चित्रण पनि मैले त्यही प्रकारले गर्ने प्रयत्न गरेको छु ।
अर्काे शब्दमा, मैले जीवनप्रतिको मेरो दृष्टिकोण र दर्शनलाई उपन्यासमा प्रस्तुत गर्ने प्रयत्न गरेको छु तर त्यसो गर्न म कहाँसम्म सफल भएको छु ? त्यो कुरा उपन्यास प्रकाशन भएपछि र त्यसको अध्ययन गरेपछि नै पाठक र समालोचकले बताउन सक्ने छन् ।