काठमाडौं । कोरोना संक्रमणको महामारीमा फसेको युरोपबाट एक नेपाली महिलाले आफूलाई कोरोना संक्रमणबाट भएको पीडा सार्वजनिक गरेकी छन् । बेलायतको लण्डनमा बस्दै आएकी डा. भगवती रानाभाटले आफूलाई कोरोना भाइरस भएपछि अस्पताल भर्ना भएको जानकारी सामाजिक सञ्जाल मार्फत दिएकी हुन् ।
सामाजिक सञ्जालमा आफ्नो फोटो र स्टाटस पोष्ट गर्दै उनले कोरोना भाइरसबाट सचेत हुन सबैलाई आग्रह समेत गरेकी छिन् । उनले अरु सबै सचेत बनुन् र यो पीडा अरुले भोग्नु नपरोस् भन्ने उद्देश्यले आफूले नै यो जानकारी शेयर गरेको स्पष्ट पारेकी छिन् ।
उनले लेखेकी छन्, ‘१० दिनको सेल्फ आइसोलेसन पछि कोभिड १९ सँग लड्दै !! यो संक्रमण अत्यन्तै पीडादायी हुँदोरहेछ, १३ दिनसम्म पनि निको हुने छाँटकाँट छैन । फेसबुकमा राख्ने सोच थिएन, कतै आफन्त अनि साथीभाइलाई भयावह बनाउला भन्ने लाग्यो, तर सोचें सबैले सावधानी अपनाउनुहुनेछ । हजुरहरु सबैलाई विशेष सावधान रहन अनुरोध गर्दछु ।’
लमजुङ तारकुघाटकी डा. रानाभाट शुक्रबारदेखि उनी लण्डनको ह्यारोस्थित नर्थविक पार्क अस्पतालको क्रिटिकल केयर युनिटमा उपचार गराइरहेकी छन् । उनलाई शुक्रबार घरैमा एम्बुलेन्स आएर अस्पताल लगेको जनाइएको छ ।

गत ८ तारिख दिउँसो उनी लण्डनको भेन्यू फाइभमा आयोजित अन्तर्राष्ट्रिय नारी दिवस कार्यक्रममा सहभागी भएकी थिइन् । त्यसको भोलिपल्ट ९ तारिख मध्यरात १२ बजेदेखि भगवतीलाई उच्च ज्वरो सताएको उनको पारिवारिक स्रोतले जनाएको छ ।