काठमाडौं । बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले १० वर्षे सशस्त्र द्वन्द्वका क्रममा वेपत्ता दुई हजार पाँच सय ६ जनाको सूची सार्वजनिक गरेको छ । सशस्त्र संघर्ष सकिएको १३ वर्षपछि सरकारद्वारा गठित आयोगले पहिलोपटक बेपत्ता व्यक्तिको नाम सार्वजनिक गरेको हो ।
बेपत्ता पारिएका व्यक्तिबारे दर्ता भएका उजुरीका आधारमा नाम सार्वजनिक गरिएको आयोगले जनाएको छ । बेपत्ता व्यक्तिबारे कुनै सूचना या प्रमाण भएमा त्यसबारे जानकारी गराउन पनि आयोगले सबैमा अनुरोध गरेको छ ।
आयोगका अनुसार, राज्य र विद्रोही पक्षबाट बेपत्ता पारिएको भन्दै २ हजार ५ सय ६ जनाबारे उजुरी परेको छ । यीमध्ये बर्दियाबाट सबैभन्दा धेरै २ सय ५४ जनाले आफन्तको खोजखबर गरिदिन माग गर्दै आयोगमा निवेदन दिएका छन् ।
बर्दियापछि दाङबाट सबैभन्दा धेरै उजुरी परेको छ । आयोगका अनुसार, दाङबाट १ सय २८ बेपत्ताको सूचीमा छन् । त्यस्तै, कञ्चनपुरबाट ७७, चितवनबाट ५१, गोरखा र नुवाकोटबाट समान ४०/४० जना बेपत्ता भएको उजुरी परेको छ । काठमाडौंबाट ३२ र कालीकोटबाट २४ जना बेपत्ताको सूचीमा छन् ।
रोल्पाबाट बेपत्ता पारिएका ९७ जनाबारे खोजी गरिदिन निवेदन परेको आयोगले जनाएको । द्वन्द्वको उद्गमस्थल रुकुमबाट भने ४५ जना मात्रै बेपत्ता भएको भन्दै उजुरी परेको छ ।
बेपत्ता भएको भन्दै आयोगमा उजुरी दिनेको नाम भने उसले गोप्य राखेको जनाएको छ । आयोगले वेपत्ता व्यक्तिका बारेमा थप सूचना भए आयोगको टोल फ्री नम्बर १६६०–०१–२२१११ मा सम्पर्क गर्न या पुल्चोकस्थित कर्मचारी सञ्चयकोषको भवनमा रहेको कार्यालयमा गएर सूचना दिन पनि आग्रह गरेको छ ।

