समीर सिंह ##
जर्मनीमा भएको द्वन्द्वात्मक गोष्ठीमा सर्वप्रथम दर्शनशास्त्रको आधारभूत विषयमा प्रस्ट हुनुपर्ने थियो । पदार्थ र चेतनाबिचको अन्तरसम्बन्धमाथि स्पष्ट नभइकन द्वन्द्वात्मक भौतिकवाद तथा त्यसको प्रयोगको लागि सफलता प्राप्त हुनै सकिँदैन । सर्वहारा विश्वदृष्टिकोणको बारेमा प्रस्ट हुनका लागि पनि पदार्थ र चेतनाबिचको अन्तरसम्बन्धलाई बुुझ्नुुपर्ने हुन्छ । गोष्ठीको पाठ्यसामग्रीको पहिलो सेमेस्टरअन्तर्गत दोस्रो पाठमा हामी यही विषयमा गहन अध्ययन तथा छलफलमा केन्द्रित भयौँ ।
ऐतिहासिक भौतिकवादी दृष्टिमा नै पदार्थ र चेतनालाई सरल रूपमा बुझ्न सकिन्छ अर्थात् पदार्थ र चेतनाबिचको अन्तरसम्बन्धलाई हाम्रो समाज, राजनीति, मानिस मानिसबिचको सम्बन्ध, उनीहरूको उत्पादन प्रक्रिया, संस्कृति, रहनसहनलगायतको विषयका आधारमा प्रस्ट हुन सकिन्छ ।
विश्वभरिका दार्शनिकहरू द्वन्द्वात्मक गोष्ठीमा सहभागी भएर आआफ्ना देशका समाज तथा व्यवस्थाका उदाहरण पस्किरहेका हुन्थ्यौँ । फरक फरक देशका उत्पादन प्रक्रिया तथा वर्गसङ्घर्षको स्वरूप फरक फरक भएको पायौँ । फरक फरक परिस्थितिअनुसार विश्वदृष्टिकोणमा पनि फरकपन पाइयो तर पनि एक अर्को देशको अनुभवलाई साटासाट गर्दै विषयवस्तुप्रति प्रस्ट हुन हामीलाई सहज भइरहेका थियो ।
पदार्थ तथा चेतनाबिचको सैद्धान्तिक मान्यतालाई नेपाली समाजको वस्तुगत परिस्थितिका आधारमा विश्लेषण गरिनुपर्छ होला । द्वन्द्वात्मक भौतिकवादको प्रयोग गर्दै जाँदा ऐतिहासिक भौतिकवादसम्म पुगिने हो । त्यही आधारमा सर्वहारा विश्व दृष्टिकोणमा निखरता आउँदै गइरहेको हुन्छ । यही मान्यताका आधारमा हामी विषयवस्तुमाथि केन्द्रित हुनुपर्दछ ।
‘अलि हुनेखाने व्यक्ति तथा कुनै ठुलो नेताले जे बोल्छ, त्यही सत्य हुन्छ’ भनेर सामन्ती समाजले सिकायो । उत्पादन गर्ने तरिका पनि त्यस्तै भयो । कुनै सामन्तलाई धनी बनाउन तथा उसका इच्छा र आवश्यकता पूरा गर्न सबै किसान तथा श्रमजीवीको भूमिका रह्यो । सामन्तले बनाएको रीतिरिवाज, परम्परा, संस्कृति सबैले मान्नुपर्ने—यस प्रकारको समाजको विशेषता रहने गर्दछ । यस्तो समाजमा सामन्ती दृष्टिकोणको प्रभुत्व रहने गर्दछ ।
पुँजीवादी समाजको विकास हुँदै जाँदा पुँजीले बजार तथा समाज कब्जा गर्दै जान्छ । उत्पादनका साधनमा पुँजीपतिको कब्जा हुँदै जाँदा केही स्वतन्त्रता त प्राप्त हुन्छ तर व्यक्तिवादी सोच तथा अवधारणा विकसित हुँदै जान्छ । हरेक चिजलाई पैसाको आधारमा मापन गर्न थालिन्छ । दलाल संस्कृति बढ्दै जान्छ । एउटा व्यक्ति, आफ्नो फाइदाको लागि देश, समाज, परिवारभन्दा आफ्नो स्वार्थलाई प्राथमिकता दिन थाल्छ । उपभोक्तावादी संस्कृतिको प्रभाव बढ्दै जान्छ ।
दृष्टिकोण निर्माणको मूल आधार के हो त ? यी विभिन्न तथ्यबाट पनि प्रस्ट हुन्छ । विद्यमान परिस्थितिबाट दृष्टिकोणको निर्माण हुन्छ । भौतिकवादको सार पनि यही हो । सामन्ती समाजमा बस्ने मानिस र पुँजीवादी समाजमा बस्ने मानिसको दृष्टिकोणमा फरकपन हुन्छ । नेपालमा बस्ने मानिस र अमेरिकामा बस्ने मानिसका रीतिरिवाज, संस्कृति, दिनचर्या, सम्बन्ध आदिमा फरकपन हुन्छ । नेपालको दुर्गम गाउँ र सहरमा बस्ने मानिसमा पनि थुप्रै कुरामा विविधता हुन्छ । यस प्रकारको फरकपनको मूल कारण हो : उत्पादन गर्ने तरिका । उत्पादनका साधन, वर्गको संरचनालगायतका विषयले पनि दृष्टिकोण निर्माणमा प्रभाव पर्ने गर्दछ ।
द्वन्द्ववादले के भन्छ भने कुनै पनि पक्षभित्र प्रतिपक्ष अन्तर्निहित रहेको हुन्छ । सामन्ती समाजमा सामन्ती दृष्टिकोणको मात्र अस्तित्व रहने होइन, किसान तथा श्रमिकको दृष्टिकोण पनि प्रस्फुटित हुँदै गइरहेको हुन्छ । पुँजीवादी समाजमा व्यक्तिवादी दृष्टिकोणका साथै श्रमजीवीको दृष्टिकोणले आफूलाई स्थापित गर्दै गइरहेको हुन्छ । यसरी पक्ष र प्रतिपक्षबिचको अन्तर्विरोधका कारणले दृष्टिकोणको गतिशील स्वरूप निर्धारित हुँदै जान्छ । गलत तथा पुरानो दृष्टिकोणको स्थान नयाँले लिँदै जान्छ ।
हरेक वस्तुमा पक्ष र प्रतिपक्षको अन्तर्विरोध हुन्छ । त्यही अन्तर्विरोधको समाधान गर्न परिवर्तन सम्भव हुने हो । यस प्रकारको परिवर्तनको नियम द्वन्द्ववाद हो । भौतिकवाद तथा द्वन्द्ववादको नियमका आधारमा द्वन्द्वात्मक भौतिकवादी दार्शनिक प्रणालीको निर्माण भएको हो । सर्वहारा विश्वदृष्टिकोणको आधार पनि यही दार्शनिक प्रणाली हो ।
पदार्थबाट चेतना निर्माण हुने कि चेतनाबाट पदार्थ । अहिलेसम्म संसारभरिका दार्शनिकको मुख्य बहसको विषय यही हो । पहिलो मान्यताले भौतिकवाद र दोस्रोले प्रत्ययवादको प्रतिनिधित्व गर्दछ । अझ प्रष्ट रूपमा भन्ने हो नुनबाट नुनिलोपन आउँछ कि नुनिलोपनबाट नुन । नुन भनेको पदार्थ हो भने नुनिलोपन चेतना । नुनबाट नुनिलोपन आउँछ भन्नु भौतिकवाद हो, त्यसको विपरीत प्रत्ययवाद । बुर्जुवा दृष्टिकोणको आधार प्रत्ययवाद हो । नुनिलोपनबाट नुनको अस्तित्व सम्भव छ भन्नु प्रत्ययवाद हो । यस्तो अवस्थामा पदार्थलाई छायाको रूपमा लिइन्छ ।
पुँजीवादी समाजको प्रभाव बढ्दै जाँदा व्यक्तिवादी दृष्टिकोण हाबी भइरहेको हुन्छ । पुँजीवादको प्रभाव बढ्दै जाँदा सामूहिक भावना तथा दृष्टिकोण कमजोर हुँदै जान्छ । एउटा ठुलो मान्छेले जे भन्छ† कुनै बौद्धिक व्यक्तिले जस्तो विचार राख्छ† त्यही विचारलाई प्राथमिकता दिइने गरिन्छ । ‘उत्पादन र विभिन्न प्रकारका सङ्घर्षबाट विचार जन्मन्छ’ भन्ने मान्यतालाई महत्त्व दिइँदैन ।
सर्वहारा विश्व दृष्टिकोणको भविष्य उज्ज्वल छ भनिरहँदा यसको आधारमाथि आक्रमण भइरहेको छ । ‘द्वन्द्वात्मक भौतिकवादी दर्शन पुरानो तथा बेकार भइसक्यो’ जस्ता नकारात्मक तर्कसमेत गरिँदै छ । ‘द्वन्द्ववादका नियम काम नलाग्ने भइसक्यो’ जस्ता तर्क गरिन्छ । आफूलाई ‘माक्र्सवादी’ भने पनि व्यवहारमा प्रत्ययवादको प्रयोग गरिन्छ । नुनलाई होइन, नुनिलोपनलाई प्राथमिकता दिइन्छ । यस प्रकारका नकारात्मक दृष्टिकोण्रूको प्रभाव बढ्दै जाँदा सर्वहारा विश्वदृष्टिकोणका अगाडि चुनौती बढ्दै गइरहेको प्रस्ट छ ।
सिद्धान्त तथा अवधारणा निर्माण गर्दा अति बौद्धिकताको प्रस्तुति गर्दै ‘सिर्जनात्मक दिशामा अगाडि बढ्नुपर्ने’ तर्क गरिन्छ । ‘द्वन्द्वात्मक भौतिकवादीको मान्यता, धेरै पहिलेको कुरा हो’† ‘नयाँ सन्दर्भमा त्यसको औचित्य कसरी पुष्टि हुन्छ ?’ भनेर प्रश्न गरिन्छ तर यस प्रकारका टपर्टुइया विचार, वस्तुगत परिस्थितिबाट धेरै टाढा हुन्छ ।
द्वन्द्वात्मक भौतिकवाद प्रकृतिको विज्ञान हो । प्रकृतिको संरचना तथा त्यसमा हुने परिवर्तनका निश्चित नियम छन् । हरेक ठाउँमा विरोधी पक्षहरू अस्तित्वका लागि सङ्घर्ष गर्ने र त्यही आधारमा परिवर्तन हुने, मात्रामा परिवर्तन हुँदै जाँदा गुणमा समेत परिवर्तन हुने तथा नयाँले पुरानोभित्रका सकारात्मक पक्षको ग्रहण गर्दै आफूलाई नयाँ रूपमा स्थापित गर्दै जान्छ भन्नु द्वन्द्ववादको नियम हो ।
प्रकृतिका हरेक चिजमा यी नियम अन्तर्निहित रहेको हुन्छ । प्रकृतिभित्रका यही नियमलाई द्वन्द्वात्मक भौतिकवादले व्यवस्थित रूपमा व्याख्या गर्यो । कार्ल माक्र्स र एङ्गेल्सले द्वन्द्वात्मक भौतिकवादलाई समाजमा लागु गर्दै ऐतिहासिक भौतिकवादी दार्शनिक मान्यताको विकास गर्नुभएको हो ।
द्वन्द्वात्मक भौतिकवादको खण्डन गर्दा यसको कुन नियम पुरानो भयो भन्न सक्नुपर्यो । मानव समाजको अहिलेसम्मको इतिहास पुरानोको बिचबाट नयाँको स्थापना हुँदै आएको इतिहास हो । द्वन्द्वात्मक भौतिकवादको विरोध गर्नु भनेको पुरानोको अन्त हुँदैन भन्नुपर्यो; हरेक कुरामा विरोधी पक्षको अस्तित्व हुँदैन भन्नुपर्यो; मात्राबाट गुणमा परिवर्तन हुँदैन भन्नुपर्यो ।
सिर्जनात्मकताको नाममा वर्गसङ्घर्षमाथि नै आक्रमण गरेको पाइन्छ । द्वन्द्वात्मक भौतिकवादका नियम काम लागेन भन्नुको अर्थ विरोधी पक्षबिचको अस्तित्व र सङ्घर्षलाई अस्वीकार गर्नु हो । त्यसको अर्थ वर्गसङ्घर्षको अस्तित्वलाई अस्वीकार गर्नु हो । त्यसो भन्नुको अर्थ यथास्थितिको पृष्ठपोषण गर्नु हो ।
तर्क र विचारमा मात्र केन्द्रित हुँदा प्रत्ययवादी दार्शनिक सोचको निर्माण हुन्छ । यो अवस्थामा तर्कमाथि तर्क गर्दै वस्तुगत यथार्थभन्दा धेरै टाढा पुगिन्छ । उपरी आवरण तथा सस्तो लोकप्रियतामा मात्र आनन्दित हुने गरिन्छ । यस प्रकारको प्रत्ययवादी दार्शनिक मान्यताका आधारमा भौतिकवादी दर्शनमाथि आक्रमण गरिन्छ । उत्पादनको प्रक्रिया, त्यहाँभित्रका अन्तरविरोधबाट सिर्जित विचार, वर्गसङ्घर्षका विभिन्न धाराको बिचबाट निर्माण हुने दृष्टिकोणको उपेक्षा गरिन्छ । बुर्जुवा विश्वदृष्टिकोणबाट प्रभावित हुँदै जाँदा यस प्रकारका कथित बौद्धिकताको प्रदर्शन गरेको पाइन्छ ।
पदार्थबाट विचार आउने हो तर विचारको केही भूमिका हुन्न भनेको होइन । जस्तो कि लेनिनले आफ्नो सङ्कलित रचनामा भनेका छन् : ‘मानिसको चेतना वस्तुगत संसारको प्रतिबिम्ब मात्र होइन कि त्यसले सिर्जना पनि गर्दछ । …संसारले मानिसलाई सन्तुष्ट गर्दैन, त्यसैले उसले आफ्नो गतिविधिले यसलाई परिवर्तन गर्ने निर्णय गर्दछ ।’
समाज तथा व्यवस्थाको गतिशीलताका लागि मानिसको चेतना अर्थात् विश्व दृष्टिकोणको महत्त्वपूर्ण भूमिका हुन्छ । बुर्जुवा तथा प्रत्ययवादी दृष्टिकोणलाई चिर्दै सर्वहारा विश्वदृष्टिकोणको निर्माणले क्रान्ति तथा परिवर्तनको दिशामा अझ ऊर्जा थपिँदै जान्छ । मानव चेतना भावना, चेतना र इच्छाको अभिव्यक्तिमा स्पष्ट हुँदै जान्छ ।
नेपाल जस्तो अर्धसामन्ती तथा अर्धऔपनिवेशिक देशमा सर्वहारा विश्वदृष्टिकोणको निर्माण, चुनौतीपूर्ण बन्दै गएको छ । विभिन्न प्रकारका अवसरवादी तथा संशोधनवादी विचार हालिमुहाली हुँदै गएको अवस्था छ । कम्युनिस्ट आन्दोलनप्रति विभिन्न प्रकारले भ्रम फैलाउँदै गएको अवस्था छ । भ्रष्ट राजनीति तथा सत्ता भनेपछि जता पनि लम्पसार पर्ने प्रवृत्ति बढ्दै गएको अवस्था छ । उत्पादन तथा पुनरुत्पादनमा सहभागी नहुने त्यसको विपरीत दलाल प्रवृत्तिमा मात्र रमाउने संस्कृतिको विकास हुँदै जाँदा क्रान्तिकारी विचार तथा दृष्टिकोणले आफूलाई स्थापित गर्न निकै कठिनाइ झेल्नु परिरहेको अवस्था छ ।
पक्षभित्र प्रतिपक्ष अन्तर्निहित रहेको हुन्छ भन्ने द्वन्द्वात्मक भौतिकवादी दार्शनिक मान्यताप्रति हामी प्रस्ट छौँ । यस आधारमा पनि नेपाली अर्थ राजनीतिको सन्दर्भमा केही समयको लागि दलाल तथा बिचौलिया संस्कृतिको हालिमुहाली भए पनि क्रान्तिकारी विचारले आफ्नो आधार बनाउँदै जाने छ । वैचारिक अन्तरद्वन्द्वमा उतारचढावको अवस्था आउनु स्वाभाविक हो तर अन्तमा जित सत्यको नै हुन्छ । अन्तमा, सर्वहारा विश्व दृष्टिकोणले आफूलाई अझ उच्च र शक्तिशाली स्वरूपमा स्थापित गर्दै गइरहेको हुन्छ । (क्रमश:)