मोहनविक्रम सिंह ##
राजा र राजपरिवारसित मेरो कुन प्रकारको सम्बन्ध रह्यो ? त्यसबारे देशको राजनीतिमा कैयौँ चर्चापरिचर्चा हुने गरेका छन् । त्यसबारे सत्य तथ्य प्रकाश हाल्नका लागि मैले यो संस्मरण लेख्दै छु ।
सर्वप्रथमत: विकिपेडियाले मेरो विषयमा लेख्दा मेरो बुवा खिमविक्रमको “राजा त्रिभुवनसित निकट सम्बन्ध” भएको कुरा उल्लेख गरेको छ । त्यो भनाइमा कुनै सत्यता छैन । उहाँको कहिल्यै पनि राजा त्रिभुवन वा राजपरिवारका कुनै सदस्यसित कुनै सम्बन्ध रहेको थिएन ।
राजा त्रिभुवन तथा त्यो बेलाका युवराज महेन्द्रसित मेरो एक पल्ट अवश्य भेट भएको थियो । त्यो २०१० सालको कुरा हो । जस्तो कि मैले पहिलेको एउटा संस्मरणमा बताइसकेको छु, बुवा खिमविक्रम गिरफ्तार भएपछि उहाँलाई छुटाउनको लागि मदत पुर्याउन म त्यो बेलाको मातृकाप्रसाद कोइराला नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (त्यो बेला त्यो पार्टीको नाम त्यही भए जस्तो लाग्छ तर पूरा सम्झना छैन) मा सामेल भएको थिएँ । २००७ सालको आन्दोलनमा प्युठानको बढी सम्बन्ध दाङका काङ्ग्रेसका नेताहरूसित नै थियो; जस्तै कि धर्मबहादुर थापा, गणेश कुमार आदि । उनीहरूले मलाई बताएका थिए : मातृका छिट्टै प्रधानमन्त्री बन्ने छन् । त्यसैले मातृका सरकारद्वारा बुबालाई छुटाउन मदत पुग्छ भन्ने सोचेर म त्यो पार्टीमा सामेल भएको थिएँ । हाम्रो पार्टीको चौथो महाधिवेशनपछि प्रकाशित मसालको एउटा अङ्कको एउटा लेखमा मैले त्यो घटनाक्रमको पूरै उल्लेख गरेको थिएँ । त्यो बेला म अझै कम्युनिस्ट पार्टीमा सामेल भएको थिइनँ तैपनि कुनै राजनीतिक आस्थाका आधारमा होइन, व्यक्तिगत लाभका लागि कुनै राजनीतिक पार्टीमा सामेल भएको त्यो घटनालाई मैले जीवनको सबैभन्दा ठुलो गल्ती ठानेको छु र त्यसका लागि मैले पञ्चाताप वा आत्मालोचना गरेको छु । चौथो महाधिवेशपछि प्रकाशित मसालको एउटा अङ्कमा मैले त्यसबारे विस्तृत रूपले चर्चा गरेको थिएँ ।
पछि मातृका प्रधानमन्त्री भए तर पिताजीलाई जेलबाट छुटाउन मैले उनको सरकारको मदत लिनुपरेन । धेरै पहिले बुबा एउटा मुद्दामा काठमाडौँ सेन्ट्रल जेलमा भएको बेलामा प्रचण्ड गोरखाका नेता खड्कमान सिंह बस्नेत पनि त्यही जेलमा हुनुहुन्थ्यो र पिताजी र उहाँले त्यही बेला मितेरी साइनो लगाउनुभएको थियो । पछि बुबा गिरफ्तार भएको बेलामा संयोगवश एक पल्ट उहाँ कार्यवाहक गृहमन्त्री बन्नुभएको थियो । त्यही बेला खड्कमान सिंह बस्नेतको आदेशले पिताजी कैदको सट्टा पैसा तिरेर मुक्त हुनुभएको थियो ।
जस्तो कि मैले पहिले पनि उल्लेख गरेको छ, वीरगञ्जको त्यो पार्टीको महाधिवेशनपछि मातृकाको नेतृत्वमा एउटा प्रतिनिधिमण्डल राजा त्रिभुवनलाई भेट्न नारायणहिटी गएको थियो । त्यो प्रतिनिधिमण्डलमा म पनि सामेल भएको थिएँ । त्यो बेला राजा त्रिभुवन, युवराज महेन्द्रसहित राजपरिवारका कैयौँ सदस्यहरू त्यो भेटघाटको अवसरमा उपस्थित थिए । त्यही बेला मेरो राजा त्रिभुवन र महेन्द्रसित समेत भेट भएको थियो । त्यो बेला म प्युठान ओखरकोटको बालशिक्षा स्कुलको सेक्रेटरी पनि थिएँ । त्यो स्कुलको चन्दा रसिद मसित सँगै थियो । त्यो बेला मैले राजासित त्यो स्कुललाई चन्दा मागेको थिएँ । महेन्द्रले अर्काे दिन आएर पैसा लैजान भने । अर्काे दिन म नारायणहिटी जाँदा स्कुलको लागि रु ४०० निकासा गरेर राखिएको थियो र चन्दा रसिद काटेर मैले त्यो पैसा लिएर आएको थिएँ । राजपरिवारको कुनै पनि सदस्यसित मेरो त्यो पहिलो र अन्तिम भेट थियो ।
२०११ सालको वैसाख १ गते राजा त्रिभुवनले सल्लाहकारसभा घोषणा गरे । त्यसमा मेरो नाम पनि समावेश गरिएको थियो । मातृका प्रधानमन्त्री भएपछि मैले त्यो पार्टीबाट राजीनामा दिएको थिएँ तैपनि काङ्ग्रेसका नेता वा मातृकासमेतको यो सोचाइ रहेको हुन सक्दथ्यो : सल्लाहकारमा मलाई सामेल गरेपछि मलाई पुन: पार्टीमा फर्काउन सकिन्थ्यो । त्यसैले मलाई सल्लाहकारसभामा मनोनित गरिएको हुन सक्दथ्यो तर त्यो पार्टीमा सामेल भएको कुराका लागि नै मलाई धेरै पञ्चाताप थियो । त्यसैले पुन: त्यो पार्टीमा फर्कने कुरा मैले सोच्न पनि सक्दैनथेँ ।
त्यो बेला प्युठानमा चलेको तीनमहिने शिक्षण शिविरको समापन भइसकेको थियो । त्यसपछि प्युठानमा किसान आन्दोलनको ठुलो उभार आएको थियो । ती सबैबाट पछाडि हटेर राजसभामा सामेल हुने कुरालाई मैले सही ठानिनँ । त्यसैले मैले पार्टीको जिल्ला समितिमा—जो त्यो बेला सङ्गठन समिति मात्र थियो—सल्लाहकारसभामा नजाने प्रस्ताव राखेँ र मेरो पञ्चातापलाई डिओसीले समर्थन पनि गर्यो ।
त्यसको केही दिनपछि जनकपुरमा अखिल नेपाल किसान सङ्घको राष्ट्रिय सम्मेलन भयो । त्यो सम्मेलनमा भाग लिन प्युठानबाट एउटा प्रतिनिधिमण्डल पनि गएको थियो । त्यो बेला का. मनमोहन अधिकारी, का. पुष्पलाल र का. तुल्सीलाल र का. शम्भुरामसित मेरो भेट भयो । उहाँहरूले सल्लाहकारसभामा गएर पार्टीमाथिको प्रतिबन्धलाई हटाउनका लागि आवाज उठाउनुपर्ने कुरामा जोड दिनुभयो ।
त्यसपछि प्युठानको डिसीमा हामीले सल्लाहकारसभामा नजाने निर्णय गरेको भए पनि पार्टीकेन्द्रको निर्देशन मानेर सल्लाहकारसभामा भाग लिन जनकपुरबाट म काठमाडौँ गए र सल्लाहकारको सचिवालयमा म उपस्थित हुन आएको सूचना दिएँ तर कैयौँ घण्टासम्म प्रतिक्षा गर्दा पनि उनीहरूले मेरो नाम बोलाएनन् । अहिलेसम्म प्युठानको हाम्रो गतिविधिबारे उनीहरूलाई पूरै सूचना प्राप्त भइसकेको हुन सक्दथ्यो । सायद त्यसैले मलाई सल्लाहकारसभामा लिन स्वीकार गरिएको थिएन ।
२०१४ सालमा पार्टीको काठमाडौँको कान्तिपथस्थित फोहोरा दरवारमा पार्टीको द्वितीय महाधिवेशन भएको थियो । त्यो महाधिवेशनको तयारीका सिलसिलामा डा. केशरजङ्ग रायमाझी प्युठानमा गएका थिए । त्यो बेलामा पार्टी गणतन्त्र र वैधानिक राजतन्त्रका बिचमा दुई लाइनको सङ्घर्ष चलेको थियो । पार्टीका गणतन्त्र पक्षधर नेताहरूसित ता मेरो कुनै भेट भएको थिएन ।
रायमाझी प्युठानमा आएको बेलामा मैले पनि उनको वैधानिक राजतन्त्रको लाइनलाई समर्थन गरेको थिए तर प्युठानको जिल्ला कमिटीमा त्यो मतको पक्षमा म अल्पमतमा परेको थिएँ र बहुमतले गणतन्त्रको लाइनलाई नै समर्थन गरेको थियो ।
द्वितीय महाधिवेशनमा गणतन्त्र र वैधानिक राजतन्त्रबारे दुई लाइनको सङ्घर्ष चलेको थियो । त्यो बेला ती दुईमध्ये कुन लाइनलाई समर्थन गर्ने ? मैले स्पष्ट धारणा गराउन सकेको थिइनँ । मेरो सोचाइ वैधानिक राजतन्त्रको पक्षमा थियो । त्यसैले गणतन्त्रको लाइनलाई पनि मैले समर्थन गर्न सकिनँ । डा. केशरजङ्गको वैधानिक राजतन्त्रको लाइनलाई पनि मैले समर्थन गर्न सकिनँ । त्यसैले त्यो विवादमा म तटस्थ बसेको थिएँ । महाधिवेशनपछि मेरो धारणा स्पष्ट हुँदै गयो । मैले गणतन्त्रलाई समर्थन गर्न थालेँ ।
राजा महेन्द्रले संसद्को विघटन गरेर आफ्नो निरङ्कुश शासन र पञ्चायती तानाशाही व्यवस्था कायम गरेपछि त्यसका विरुद्ध हाम्रो पार्टीले देशव्यापी रूपमा सङ्घर्ष सुरु गर्यो । माझीले राजावादी लाइन लिएपछि हामीले उनी नेतृत्वको केन्द्रीय कमिटीका विरुद्ध विद्रोह गर्यौँ र हाम्रो पार्टीको तेस्रो महाधिवेशन सम्पन्न भयो यद्यपि तौलिहवामा गिरफ्तार भएको हुनाले म त्यसमा सामेल हुन सकिनँ तैपनि मेरो अनुपस्थितिमा तृतीय महाधिवेनद्वारा निर्वाचित केन्द्रीय समितिमा मलाई पी.बी. मा निर्वाचित गरिएको थियो ।
पछि राजा महेन्द्रले कोदारी राजमार्ग र पूर्वपश्चिम राजमार्गको निर्माण सुरु गरेपछि भारतले त्यसको कडा विरोध गर्यो । नेपाली काङ्ग्रेसले पनि त्यसको विरोध गरेको थियो । हाम्रो पार्टीमा राजा र पञ्चायती व्यवस्थासित हाम्रो विरोध भए पनि कोदारी राजमार्ग र पूर्वपश्चिम राजमार्ग दुबैलाई समर्थन गर्नुपर्दछ भन्ने मत रहेको थियो । त्यसका साथै राजाको निरङ्कुश शासन र पञ्चायती तानाशाही व्यवस्थाको विरुद्ध सङ्घर्ष गर्ने हाम्रो अडान कायम नै रहेको थियो । माओ र चीनले पनि राजा महेन्द्रलाई समर्थन गरेको हुनाले हामीले पनि राजा महेन्द्रलाई समर्थन गर्नुपर्दछ भन्ने विचार पार्टीपङ्क्तिमा पनि देखा परेको थियो तर हामीले त्यो विचारलाई पनि अस्वीकार गरेर राजा र पञ्चायती तानाशाही व्यवस्था विरुद्धको सङ्घर्षको नीतिलाई सम्झौताहीन प्रकारले अगाडि बढाएका थियौँ । त्यसबारे हाम्रो के सोचाइ रहेको थियो भने राजा महेन्द्रलाई समर्थन गर्ने चीनको पार्टी वा सरकारको नीति त्यसको परराष्ट्रनीतिको एउटा अङ्ग हुन सक्दथ्यो तर हामीले चीनको परराष्ट्र नीतिलाई नै मान्नुपर्ने आवश्यकता थिएन । हामीले देशको राजनीतिक परिस्थितिअनुसार नै आफ्नो नीति निर्धारित गर्नुपर्दछ । त्यसअनुसार नेपालको निरङ्कुश राजतन्त्र र पञ्चायती तानाशाही व्यवस्थासमेतको विरोध गर्नुपर्दछ ।
त्यही प्रकारको अडानपछि हामीले बङ्गलादेशको मुक्ति आन्दोलनबारे पनि अपनाएका थियौँ । चीनको पार्टीले पाकिस्तानको याहया खानलाई समर्थन गरेको थियो । त्यसैले प्रायश: संसारभरका माक्र्सवादी–लेनिनवादी पार्टीले चीनको पार्टीको नीतिको अनुशरण गर्दै रहमानको नेतृत्वमा बङ्गलादेशमा चलेको मुक्ति आन्दोलनको विरोध गर्ने र त्यसका विरुद्ध पाकिस्तानको सरकारलाई समर्थन गर्ने नीति अपनाएका थिए । त्यो बेला सायद केन्द्रीय न्युक्लस अझै बनिसकेको थिएन । काठमाडौँको विद्यार्थीहरूको एउटा सभामा का. मनमोहन अधिकारी र म दुबै जना वक्ता थियौँ । त्यो बेला अन्तर्राष्ट्रिय रूपमा माक्र्सवादी–लेनिनवादीको बिचमा बङ्गलादेशको मुक्ति आन्दोलनको विरोध गर्ने र पाकिस्तानको समर्थन गर्ने जुन लहर आएको थियो, त्यसअनुसार मनमोहन अधिकारीले पनि बङ्गलादेशको मुक्ति आन्दोलन र रहमानको कडा विरोध गर्नुभएको थियो तर त्यो सभामा मैले बङ्गलादेशको रहमानको नेतृत्वको मुक्ति आन्दोलनको समर्थन गर्ने विचार दृढतापूर्वक प्रस्तुत गरेको थिएँ । त्यसरी त्यो प्रश्नमा मनमोहन र मेराबिचमा स्पष्ट मतभेद देखा परेको थियो । पछि बङ्गलादेशको मुक्ति आन्दोलन सफल भयो र दसौँ लाख मानिसको भिडले रहमानको भव्य स्वागत गर्यो । त्यसपछि मनमोहन अधिकारीको विचारमा तुरुन्तै परिवर्तन भयो र उहाँले रहमानको जोडदार रूपले समर्थन गर्नुभएको थियो ।