रवि पौडेल ##
२०५८ साल माघको महिना थियो । हामीलाई बागलुङदेखि गुल्मी जानु थियो । अहिले झैँ मोटर बाटो बनिसकेको थिएन ।
अङ्कलको छोरा मेरो भाइको विवाह थियो । बागलुङमा हामी धेरै पौडेलहरू भएको र गुल्मीमा धेरै ढकालहरू भएका कारण विवाहवारी सजिलो र धेरै पहिलेदेखि नै हुदै आएको थियो । त्यसकारण हाम्रा धेरैजसो दिदीबहिनीहरू गुल्मीको तल्लो कोरेङ, उपल्लो कोरेङ र भुर्तुङसम्म हाम्रो नातासम्बन्ध थियो ।
विवाहको निम्तो पठाउन अरू कोही नभएपछि र फोनको पनि सुविधा नभएका कारण हामी दुई भाइ नै निम्तो भन्न जाने निर्णय गरियो ।
हामी हालको जैमिनी नगरपालिका वडा नम्बर ७ छिस्तीको अदुवाबारी हुँदै धुस पुगियो । बराल्वाको खोलामा त्यति बेला काठको पुल थियो । पछि झोलेङ्गे पुल बनेको थियो । यो खोला ठुलो खोलामध्येको एउटा हो ।
हामी गुल्मीको तल्लो कोरेङ उर्लेनी भन्ने ठाउँमा पुगियो । करिब तीन घण्टा पैदलयात्रापछि हामी ठुली दिदीको घरमा पुगियो ।
त्यहाँ केही बेर बसेपछि ‘भोलि बिहान आउँछौँ दिदी’ भन्दै भाइको दिदीको घरतर्फ लागियो ।
भाइको दिदीको घर पुग्न अरू केही समय लाग्दथ्यो ।
हामी दुवै जना उकालो बाटो जाँदै गर्दा केही समयमै तल्लो कोरेङको केही माथि “गाम” भन्ने ठाउँमा पुगियो । बाटोमा दिदिबहिनीहरू भेट्दै निम्ता भन्दै हामी “गाम” को एउटा विद्यालय नजिक पुग्दै थियौँ, तलतिर केही मानिसहरूको लाइन देखियो । काँधमा राइफल बोके जस्तो लाग्यो । उनीहरू धेरै तल थिए, हामी माथि थियौँ ।
मैले भाइलाई भने– “भाइ माओवादी छापामार जस्तै देखिन्छन त ।”
भाइले भन्यो– “होइन होला । बाटो खन्ने मानिस हुन् ।”
त्यहाँ भर्खरै मात्र घोरेटो बाटो पनि खन्दै गरिएको थियो । आपसमा कुरा गर्दै हामी अघि बढ्यौ । जब हामी “गाम” को स्कुलदेखि करिब १०/१५ मिनेट हिँडेर माथि थाप्लोमा पुगियो, त्यहाँ अर्की एक जना गाउँकै दिदीसँग भेट भयो । खरको भारी बोकेरै दिदीसँग केही कुराकानी हुँदै थियो, माओवादी छापामारहरू स्कुलमा आइपुगे ।
तलबाट आवाज आयो : “त्यहीँ रोक् !”
“त्यहीँ रोक् !” पटक पटक यस्तो आवाज आएपछि हामी त्यहीँ बसियो । एक जना छापामार साथी कुदेर हामी भएको ठाउँमा आइपुगे, धेरै हतारमा स्याँ स्याँ गर्दै ।
हामीले दिदीलाई ‘तपाईं जानुस्” भन्यौँ । दिदी डराउनुभएको थियो । कतै यी हाम्रा भाइहरूलाई माओवादीले मारिदिने त होइनन् ?
ती छापामार साथी निकै सिधा देखिन्थे । “यस्तै हो, आदेश मान्नुपर्यो । तल जानुपर्यो सर” उनले भने । हामीले “किन” भनेर प्रश्न गरियो ।
हामी जब स्कुलदेखि उकालो जाँदै गर्दा गाउँका एक जना स्थानीयसँग भेट भएको थियो । काँधमा सब्बल, फलामको खन्ती बोकेका ती व्यक्तिलाई स्कुलनेर छापामार कमान्डरले सोधपुछ गरेछन् । हामीले यो गाउँका नभएको र अन्जान व्यक्ति भएको उहाँले भनेपछि बुझ्नका लागि हामीलाई बोलाइएको रहेछ तर ती व्यक्तिसित हामीलाई कहाँबाट आउनुभयो भन्नेसम्म कुरा पनि भएको थिएन ।
हामी ती राइफल समाएका एक जना छापामारसँग लुरुक्क तल झर्यौँ । कमान्डरको आदेश छ भनेपछि हामीले धेरै कुरा गरेनौँ । एउटै प्रश्न मनमनै घुमिरहेको थियो– “हामीलाई त केही हुदैन नि ।”
उनले भने– “तपाईंलाई केही हुँदैन, सोधपुछ गरेपछि छोडिन्छ ।”
हामी स्कुलको ग्राउन्डमा पुग्दा गु्रपमा छापामारहरू बसेको देखियो । यो दृश्य राम्रो लाग्यो । कति राम्रो एकता ? कमान्डर जोगाउन कार्यकर्ताको कति राम्रो त्याग ? स्कुल चारैतिरबँट घेरिएको थियो । स्कुलमा कमान्डर थिए । उहाँलाई पनि घेरिएको थियो ।
छापामारको सङ्ख्या करिब ३० देखि ४० जनासम्म हुनुपर्छ । ती कमान्डर होचा होचा थिए । आँखामाथि सानो घाउ थियो । सायद युद्धमा परेर घाइते भएकाले होला भन्ने अनुमान गरियो ।
ती छापामारले हामीलाई कमान्डरसामु लिएर गए । चारैतिरबाट हामीलाई पनि घेरियो । कमान्डरले हामीलाई तपाईंहरू को हो ? किन यहाँ आउनुभएको हो ? के गर्दै हुनुहुन्छ ? भनेर सोधे । हामीले त्यसको सबै उत्तर दियौँ । भाइको विवाह हुन लागेको र धेरै दिदीबहिनीहरू यहाँ भएका कारण निम्ता दिन आएको भनियो ।
कमान्डरले अरू के काम गर्नुहुन्छ भनेर सोधे । मैले भारतमा नोकरी गर्छु, भाइले कलेज पढ्दै छ भनेपछि मैले निडरताका साथ एउटा वाक्य जोडेँ : “हाम्रो लक्ष्य र बाटो एउटै हो । तपाईंहरू अलि छिटो आत्तिनुभयो । फरक यत्ति हो ।” यति भनिसक्दा उनीहरू हाँसे ।
अनि कमान्डरले “कहिले फर्कनुहुन्छ” भनेर सोधे । हामीले भोलि नै घर पुग्ने हो भनेपछि तपाईंहरू “जान सक्नुहुन्छ” भनेका थिए । मैले सरको नाम भन्न मिल्छ भनेर सोधेँ । उनले “नाम दिन मिल्दैन” भने ।
हामीलाई थोरै मनमा चिसो पसेको थियो तर हामीले आवेश देखाएका थिएनौँ । म पनि अलि घमण्डी मान्छे । डर लाग्दैनथ्यो । डर के हो ? अहिले पनि मलाई थाहा छैन तर माओवादीले देशैभरि हत्या, आतङ्क र लुट मच्चाइरहेका थिए । को मित्र र को शत्रु ? कुनै किटान थिएन । उनीहरूलाई सहयोग गर्नेलाई मन पराउथे, सहयोग नगर्नेलाई मित्रशक्ति भए पनि सताउथे । देशैभरि राष्ट्रिय जनमोर्चाका नेताकार्यकर्तालाई धम्क्याउने गरिरहेका थिए । त्यसकारण हामीलाई पनि केही गर्ने हुन् कि भन्ने मनमा चिसो पसेको थियो तर हामीलाई केही गरेनन् ।
त्यो साँझ हामी गन्तव्यसम्म पुगियो त्यहीँ बसियो र भोलिपल्ट गाउँ झर्ने क्रममा त्यहीँ हिजो हामीलाई सोधपुछ गरेको स्कुलको बाटो आयौँ । त्यहाँ सेनाले निकै डर देखाएको रहेछ । त्यति बेला त्यहाँ कामरेड चुन्ने भन्नेको शोकसभा आयोजना गरिएको रहेछ । त्यहाँ सभामा घरबाट एक जना अनिवार्य आउनुपर्ने धम्की पनि दिइएको रहेछ । हामीलाई एक जना बुबासँग कुरा गर्दा सबै कुरा थाहा लाग्यो ।
माओवादी छापामारहरू एउटा घरको कोठामा सांस्कृतिक कार्यक्रम पनि गर्दै थिए । एक जना बुबाले तिमीहरूले गर्दा हामी पनि मारिने भयौँ, यहाँबाट छिटो जाओ भनेर चिच्याउनुभएको थियो । अर्कोतिर, खाना पाकिरहेको थियो । अब सेनाले थाहा पायो र हमला गर्यो भने हामी सबै मर्ने भयौ भनेर गाउँमा निकै डरत्रास र भय छाएको थियो । एकातिर, दोहोरो मारमा परेको, अझ त्यसमाथि रासन दिनुपर्ने र अनिवार्य उपस्थित हुनुपर्ने निकै कठिन परिस्थितिको सामना गाउँलेले गरेको देखियो ।
हामीले स्कुलनजिकै पानी पिउँदै थियौँ । एक जना छापामार आए र भने– “हिजो भेट भएको तपाईंहरू नै होइन ?”
मैले “हो” भनेँ ।
“तपाईं कि कार्यक्रममा बस्नोस्, नभए गइहाल्नुस्, यो कमान्डरको अर्डर हो” भनेपछि हामी हिँडिहाल्यौँ ।
तल आले भन्ने ठाउँमा दिदी हुनुहुन्थ्यो । त्यहाँ आएर खाना खायौँ । सबै कुरा गरियो । दिदीलाई पनि अनिवार्य उपस्थित हुन भनिएको रहेछ । दिदीले “घरमा एक्लै छु, घाँसपानी वस्तुभाउलाई दिएर आउँछु” भन्नुभएको रहेछ । त्यसपछि हामी बागलुङ घरतर्फ लागियो ।
माओवादीको दस बर्से कथित जनयुद्धले गाउँमा त्राही त्राही वातावरण सिर्जना भए । हजारौँको सङ्ख्यामा जनताको ज्यान गएको, सरकारी सेना र छापामार दुवै थरीबाट हत्या, हिंसा भएको थियो । राजतन्त्र अन्त्यको आन्दोलनमा माओवादी पार्टीको अहम् भूमिका रहे पनि देश र जनताको पक्षमा खासै काम भएको थिएन । त्यति बेला जिउज्याद दिएर लडेका छापामारहरू को पनि अहिले माओवादी पार्टीप्रति विश्वास टुटेको छ ।