कल्पना पौडेल ‘जिज्ञासु’ ##
जेठ महिनाको गर्र्मी खपिसक्नु थिएन । स्वामीको रुखमुनि चिसो हावा चलेकाले जमिन्दार कृष्णलाल र हवल्दार श्यामसुन्दर पुन चौतारीमा बसेर गफगाफ गर्दै थिए ।
कृष्णलाल एक्लो छोरा सम्पत्तिको लेखाजोखा नै छैन । आँखाले देखेर नभ्याइने जग्गा छ । जमिन्दार बाउबाजेको सम्पत्ति आफूले सुको कमाउनुपरेको छैन ।
गफैगफमा श्यामसुन्दरसँग भने– “हेर श्यामे, सम्पत्ति त मेरो लथालिङ्ग छ । मेरा दुईतीन पुस्तालाई पुग्ने छ । कामधन्दा नगरी खान पुग्छ ।”
उनको कुरा सुनेर श्यामेले भने– “हो त नि साहु बा । अब केही आफू अमर हुने राम्रो काम गर्नुस् । सम्पति जति पनि छ ।”
कृष्णलालले भने– “धर्मकर्म गरँे† मठमन्दिर बनाएँ† तीर्थ गएँ† अरू के असल काम हुन्छ र श्यामे ? म अमर हुन्छु भनेर महान् हुने काम गरेको छु ।”
उनको कुरा सुनेर श्यामेले भने– “ती मूर्तिमा पैसा चढाएर मूर्ति र मन्दिरमा ढोग्दैमा अमर भइँदैन साहु बा, अरू समाजसेवामा लाग्नुस् ।“मैले मन्दिरबाहिर बसेर भिक माग्नेलाई कतिपटक खानेकुरा दिएको छु । हजुरभन्दा त मै महान् छु ।”
श्यामको कुरा सुनेर जमिन्दारलाई श्यामेलाई जित्ने काम गर्न मन लाग्यो र सोच्यो : आउने शनिबार गाउँभरिका दु:खीगरिबलाई बोलाएर घरमा खाना खुवाउने र आफू अमर हुने योजना बनायो । दुवै जना उठेर आफ्नो आफ्नो घर गए ।
शनिबारको दिन गाउँले सबै भतेर खान जम्मा भए । मिठा मिठा परिकार पकाइएको थियो । आउने, जाने, खाने मान्छेको घुइँचो थियो । सबै खुसी थिए । यो दृश्य देखेर कृष्णलाल निकै खुसी भए । आफूले ठुलो काम गरेको महसुस गरेका थिए ।
अलि पर त्यस्तो गर्मी याममा एउटा किसानले खेत जोतिरहेको देख्यो । त्यो व्यक्ति आफ्नो घरमा खाना खान नआएको देखेर अचम्म पर्यो र आफ्नो मान्छेलाई बोलाउन पठायो तर किसान जान मानेन । नोकर एक्लै फर्केको देखेर जमिन्दार छक्क परे ।
“खै त ? त्यो व्यक्ति किन आएन ?” उनले सोधे ।
“खै हजुर ? आउन मानेन” नोकरले जवाफ दिए ।
नोकरले बोलाउँदा यस्तो गर्मीमा खेत जोतिरहेको छ तर पनि खान नआएको सुनेर जमिन्दार आफै बोलाउन गए । खेत जोतिरहेको किसानसामु पुगेर भने– “आज हाम्रो घरमा भतेर खुवाउने काम भएको छ । मिठो मिठो परिकार बनेको छ । हिँजो बेलुका नै सबै गाउँलेलाई खबर गरिएको थियो । सबै जना आए । तिमीले खबर थाहा नपाएर हो कि किन हो ? नोकरलाई बोलाउन पठाउँदा पनि आएनौ त ?”
किसानले भन्यो– “मालिक म आफं मिहिनेत गरेर खान रुचाउँछु । गरिब छु तर अरूको सित्तैमा पाएको चिज लिन्न । आफै कमाउँदासम्म आफ्नै कमाइ खानुमा बडो आनन्द लाग्छ । माफ गर्नुहोला, हजुरको भतेर खान आउन मनले मानेन ।”
किसानको कुरा सुनेर जमिन्दार दङ्ग परे । यस्तो गरिब, यो गर्मीमा सित्तैमा खान बोलाउँदा नआएको देखेर मनमनै अनेक सवाल खेलाउँदै घर पुगे । श्यामेसँग यी सब कुराविस्तारमा बताए :
“हेर् श्यामे, तैले र मैले राम्रो काम गरियो† पुण्य कमाइयो† अमर र महान् बनियो भन्नु झुटो रहेछ । वास्तविक महान् त त्यो किसान पो रहेछ । कति स्वाभिमानी ? आफैले मिहिनेत गरेर खान्छ । लोभलालच गर्दैन । त्यो किसानको अगाडि म आफूलाई अत्यन्तै सानो महसुस गरेको छु । मैले आजसम्म कहिल्यै मिहिनेत गरिनँ, जे जति धनसम्पत्ति छ, यो सब पुर्खाले आर्जन गरेको हो । वास्तविक गरिब त्यो किसान होइन, म पो रहेछु ।”
श्यामसुन्दरले भने– “हो साहु बा, हो । आफ्नो मिहिनेतको कमाइ पो कमाइ ¤ अरूको सित्तैमा मिलेको धनमा घमण्ड गर्नु मूर्खता हो ।”