बुटवल । राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेलले देशले संघीयता धान्न नसक्ने अवस्थामा पुगेको बताउनुभएको छ । सोमबार बुटवलमा मेची महाकाली अभियानको समापन गर्दै पौडेलले संघीयताका कारण देश आर्थिक रुपमा टाट पल्टिएको बताउनुभयो ।
‘नेपालको हकमा संघीयता सम्भव हुँदैन भनेर हामीले पहिल्यैदेखि भन्दै आएका थियौँ’ पौडेलले भन्नुभयो, ‘अहिले देश टाटा पल्टने अवस्थामा पुगेको छ, । प्रदेश खारेज गरेर नेपालका लागि प्रजातान्त्रिक विकेन्द्रिकरण सहितको एकात्मक शासन प्रणाली नै उपयुक्त हुन्छ ।’
पौडेलले पछिल्लो समय नेपालमा वैदेशिक हस्तक्षेप बढेको भन्दै अमेरिकाले नेपालमा प्रत्यक्ष हस्तक्षेप गरेको बताउनुभयो । उहाँले रवी लामिछानेको नेतृत्वमा नेपालमा पार्टी नै गठन गरेर राजनीतिक हस्तक्षेपमा उत्रिएको आरोप पनि लगाउनुभयो ।

भारतीय साम्राज्यवादको हस्तक्षेप व्यहोर्दै आएको नेपालले पछिल्लो समय अमेरिकाले विकासको नाममा एमसीसी परियोजना ल्याएर नेपालमा हस्तक्षेप बढाएको पौडेलको भनाई थियो ।
उहाँले विदेशी हस्तक्षेपसँगै राजनीतिक दलका नेताहरु भ्रष्ट भएका कारण गणतन्त्र धरापमा परेको बताउनुभयो ।
कार्यक्रममा नेकपा मसालका लुम्बिनी प्रवक्ता तिलक जिसीले गणतान्त्रिक व्यवस्था ठिक भएपनि ठूला दलका नेताहरु भ्रष्ट हुँदा व्यवस्था नै बदनाम भएको बताउनुभयो ।
अमेरिकी साम्राज्यवाद मानवजातिकै दुश्मन : केसी (भिडिओ)
राष्ट्रिय जनमोर्चा रुपन्देहीका सचिव टानबहादुर केसीको सञ्चालनमा अघि बढेको कार्यक्रमलाई अखिल (छैठौं)का केन्द्रीय अध्यक्ष देवेन्द्र कुँवरले पनि सम्बोधन गर्नुभएको थियो ।
महेन्द्रनगर र बागलुङबाट जेठ १ गतेदेखि सुरु भएको ‘अमेरिकी साम्राज्यवादविरुद्ध मेची–महाकाली अभियान’ सोमबार बुटवल र काठमाडौंमा समापन भएको हो ।
सुनवलमा कोणसभा

यसअघि टोलीले नवलपरासीको सुनवल चोकमा कोणसभा सम्पन्न गरेको थियो ।
कार्यक्रमलाई राजमो उपाध्यक्ष पौडेल, नेकपा (मसाल) लुम्बिनी प्रदेश प्रवक्ता तिलक जिसी, अखिल (छैठौं) का अध्यक्ष देवेन्द्र कुँवरले सम्बोधन गर्नुभएको थियो।
रेम रानाले सञ्चालन गर्नुभएको कार्यक्रममा राजमो नवलपरासी जिल्ला अध्यक्ष किसन बहादुर अधिकारीले स्वागत गर्नु भएको थियो ।