काठमाडौं । नेपाली चलचित्रकी नायिका महिमा सिलवाल र उनकी बहिनीको बसको ठक्करबाट मृत्यु भएको छ । नायिका सिलवाल र उनकी बहिनी सर्मिला सवार स्कुटरलाई बुधबार साँझ धादिङको गजुरी–२, चम्बासमा बसले ठक्कर दिँदा दुवैजनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
ठक्करबाट गम्भीर घाइते भएकी २२ वर्षीया महिमाको उपचारका क्रममा गजुरी स्वास्थ्य केन्द्रमा मृत्यु भएको हो भने उनकी बहिनी २० वर्षीया सरु भनिने सर्मिलाको उपचारकै क्रममा काठमाडौंस्थित ट्रमा सेन्टरमा मृत्यु भएको हो ।
सिलवाल दिदीबहिनी बा ९८ प ७०५८ नम्बरको स्कुटरमा काठमाडौंबाट आफ्नो घर भरतपुर महानगरपालिका–१२ शिवनगर जाँदै थिए । यसै क्रममा भैरहवाबाट काठमाडौंतर्फ आउँदै गरेको लु २ ख १३५ नम्बरको बसले उनीहरू सवार स्कुटरलाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।
ठक्कर दिने बससहित चालक प्रहरी नियन्त्रणमा छन् ।
दर्जन भन्दा बढी म्युजिक भिडियोमा अभिनय गरेकी नायिका महिमाले ‘कारबाही’ चलचित्रबाट डेब्यु गरेकी थिइन् । त्यसयता उनले अप्रिल फुल, चियर्स, दानव, जिग्लोलगायत चलचित्रमा काम गरेकी थिइन् ।