काठमाडौं । बाजुरामा एमाले कार्यकर्ता चेतन अयडीको हत्या आरोपमा वडाध्यक्षसहित तीन जना पक्राउ परेका छन् । प्रहरीले त्रिवेणी नगरपालिका–७ का वडाध्यक्ष जुद्धबहादुर अयडीलाई पक्राउ गरेको हो ।
बाजुरामा मंसिर ४ गभएको निर्वाचनमा धाँधली भएको भन्दै विभिन्न मतदान केन्द्रमा तनाव उत्पन्न भएको थियो ।
त्यसक्रममा प्रहरीको गोली लागेर तीन व्यक्तिसमेत घाइते भएका थिए । निर्वाचन सम्पन्न भइसकेपछि घरमा सुतिरहेका एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुका केन्द्रीय सदस्य तथा सुदूरपश्चिम विश्वविद्यालय अध्यक्ष अयडीलाई घरबाट झिकेर हत्या गरिएको थियो। मृतकका आफन्तले हत्यामा संलग्न भएको भन्दै वडा अध्यक्षसहित २२ जना विरुद्ध किटानी जाहेरी दिएका हुन् ।
प्रहरीले ती मध्ये वडाध्यक्ष सहित तीन जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । प्रहरीले किटानी जाहेरीको आधारमा घटनामा संलग्न अन्यलाई पनि खोजी गरिरहेको जनाएको छ ।
पक्राउ परेका वडाध्यक्ष अएडीले करिब एक महिनाअघि नाटेश्वरी मन्दिरमा दलित पसेको भन्दै कुटपिट गरेर विवादमा मुछिएका थिए । सो अभियोगमा उनी जिल्ला अदालत बाजुराबाट एक लाख रुपैयाँ धरौटीमा रिहा भएका थिए ।
यता, बाजुरमा विवादका कारण स्थगित मतगणना आज (बिहीबार) सुरु भएको छ ।