काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले आफैँलाई भोट हाल्न नपाउने हुुनुभएको छ ।
बागलुङ क्षेत्र नं १ का प्रतिनिधि सभा सदस्य उम्मेदवार केसीको बागलुङमा मतदाता नामावलीमा नाम छैन ।
केसीले गएको स्थानीइ निर्वाचनमा रुपन्देहीको तिलोत्तमा नगरपालिका–८ मा रहेको ज्योति आधारभूत स्कुलको मतदान केन्द्रबाट मतदान गर्नुभएको थियो । केसीको गृहजिल्ला बागलुङ भएपनि उहाँ केही वर्ष यता रुपन्देही बस्दै आउनुभएको छ । उहाँको मतदाता नामावली पनि रुपन्देहीमै छ ।
देशका जुनसुकै निर्वाचन क्षेत्रबाट चुनावमा उठ्न पाउने तर, भोट हाल्न नपाउने अवस्था निर्वाचन कानुनको त्रुटिका कारण भएको केसीको भनाई छ । कानुन बनाउँदा आफूँहरुले त्यतातिर ध्यान नदिएको केसी स्वीकार गर्नुहुन्छ ।
‘हामी आफैँलाई भोट हाल्न नपाउने उम्मेदवारहरु ८२ जना छौँ । जहाँबाट पनि उठ्न पाउने तर, आफैँलाई भोट हाल्न नपाउने अवस्था आउनुमा निर्वाचन कानुनमा रहेको त्रुटि हो’ केसीले भन्नुभयो, ‘हाम्रो पनि ध्यान त्यतातिर गएन । निर्वाचन आयोगले पनि त्यो सुझाव दिएन ।’
केसीले अब कानुनमा संशोधन गरेर जहाँबाट उम्मेदवार हुन्छ, त्यहीँबाट मतदान गर्ने व्यवस्थाका लागि पहल गर्ने प्रतिवद्धता जनाउनुभयो ।