ओसाका (जापान)। अंग्रेजी नयाँ वर्षको अवसरमा जापानस्थित नेपालीहरुले शुभकामना आदान प्रदान गरेका छन् । जापान नेपाली एकता समाजको आयोजनामा भएको कार्यक्रममा सहभागीहरुले नेपाली भूमिमाथि भारतले गरेको अतिक्रमणको विरोध गर्दै जाली नक्सा खारेजीको माग गरे ।
नया वर्षको पुर्व सन्ध्या अर्थात ३१ दिसेम्बर २०१९ को साँझ ओसाकामा आयोजित कार्यक्रममा जापान नेपाली एकता समाजका वरिष्ठ सल्लाहकार नन्दु शर्मा प्रमुख अतिथि रहनु भएको थियो । समाजका अध्यक्ष यमलाल सापकोटाको सभापतित्वमा अघि बढेको सो कार्यक्रममा स्वागत मन्तव्य महासचिव तेजेन्द्र क्षेत्रीले राख्नु भएको थियो भने सञ्चालन केन्द्रीय सदस्य मिलन शर्माले गर्नु भएको थियो ।
कार्यक्रममा जापान नेपाली एकता समाजका केन्द्रीय सदस्यहरु हेमलाल गौतम र कमल कार्की, रक्तिम सांस्कृतिक अभियान जापानका केन्द्रीय सदस्यहरु गोपाल खत्री र टीका केसीको पनि आतिथ्यता रहेको थियो । ओसाकामा कृयासिल प्रवासी नेपालीहरुका विभिन्न सङ्गठनहरुका प्रतिनिधिहरु, नेपालबाट जापान घुम्न आएका तथा श्रम गरिरहेका श्रमजीवी प्रवासी नेपालीका अभिभावक र विभिन्न राष्ट्रिय तथा स्थानीय कलाकारहरुको समेत आतिथ्यता रहेको थियो ।
प्रमुख अतिथी र अतिथिहरुले मन्तव्य द्वारा शुभकामना आदान प्रदान गरे पश्चात् सास्कृतिक कार्यक्रम सुरु भएको थियो ।
जापान नेपाली एकता समाजको नौमती बाजा टोलीको विशेष प्रस्तुती रहेको सो सांस्कृतिक कार्यक्रममा कलाकारहरु सृजना गौतम र भावना सापकोटाले विभिन्न नेपाली गितहरुमा सुन्दर र आकर्षक नृत्य प्रतुत गर्नु भएको थियो । लोक दोहरी क्षेत्रका चर्चित अन्य राष्ट्रिय तथा स्थानीय कलाकारहरुले समेत कार्यक्रममा विभिन्न गितहरु प्रतुत गरेका थिए ।